बागमती प्रदेशका मुख्यमन्त्री लामाद्वारा राजीनामा
हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आएतबार राजीनामा दिएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार सञ्चालन गर्ने सहमति भएपश्चात २०८१ साउन ९ गते मुख्यमन्त्रीमा सपथ लिएका लामो एकवर्ष ९ दिन सरकारको नेतृत्व गरेर आइतबार पत्रकार सम्मेलन मार्फत् राजीनामा दिएका हुन् । प्रदेशप्रमुख दीपकप्रसाद देवकोटालाई भने सोमबार राजीनामा पत्र बुझाइने लामाले बताए ।
राजीनामा दिएलगत्तै मुख्यमन्त्री लामा काठमाडौं गएका छन् । उनी प्रमुख स्वकीय सचिव छत्रबहादुर लामालाई राजीनामापत्र बुझाउने जिम्मा छाडेर काठमाडौं गएका हुन् । प्रदेश
प्रमुख देवकोटा स्वास्थ्यउपचारपछि आइतबार मात्रै अस्पतालबाट डिस्चार्ज भएका छन् ।पत्रकार सम्मेलनमा लामाले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार आफूले
राजीनामा दिएको बताए । उनले आफ्नो कार्यकालमा भएका प्रगतिविवरण प्रस्तुत गरेका थिए । उनले आफू इमान्दरीपूर्वक काम गरेको बताउँदै आफ्नै दलभित्रको प्रपञ्चबाट सरकार छोड्नु परेको बताए । यो घटनाक्रमबाट नभाग्ने लामाको भनाई थियो ।
यस घटनाक्रमले लोकतन्त्र र गणतन्त्रमाथि खतराको संकेत गरेको मुख्यमन्त्री लामाको आरोप छ । उनले बागमती प्रदेश सरकार परिवर्तन गर्नुको कारण खोजी गर्नुपर्ने बताए । ५ वर्षको लागि निर्वाचित संसदीय दलको नेता बीचमै परिवर्तन गर्दा स्थिरताको प्रतिबद्धता माथि नै प्रश्न उठेको उनको भनाई छ ।उनले आफू नेतृत्वको सरकारले विकास र सुशासनप्रति गम्भीर प्रतिबद्धता देखाएको दाबी गरे ।
‘राजनीतिक स्थिरता र जनतामा आशा र विश्वास जगाउनु नै गठबन्धनको मुख्य उद्देश्य थियो,’ उनले भने, ‘तर, त्यही गठबन्धनलाई भत्काउने काम भयो ।’ बागमती प्रदेशका मुख्यमन्त्री लामाद्वारा राजीनामा घोषणा उनले दलभित्रको आन्तरिक प्रतिस्पर्धाले संविधानको मर्म बिर्सन नदिएको उनको भनाई छ । उनले आफूले इमानदारीपूर्वक काम गरेको र कुनै भ्रष्टाचार वा स्वार्थको ईशारामा नचलिएको स्पष्ट पारे ।
लामाले आफ्नो नेतृत्वको सरकारले विपद् व्यवस्थापन, भौतिक पूर्वाधार विकास, पुँजीगत खर्च, राजश्व संकलनको क्षेत्रमा उल्लेख सुधार गरेको दाबी गरेका छन् । प्रदेश किताबखानालाई थप स्वायत्त बनाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत प्रदेश किताबखानाको छुट्टै कार्यालय कोड स्थापना गरेको उनले दाबी गरे । मुख्यमन्त्री लामाका अनुसार कर्मचारीको वैयक्तिक विवरणलाई व्यवस्थित गर्न मुख्यमन्त्री कार्यालयको आधुनिकीकरण मार्गचित्र तयार गरिएको छ ।
यस अवधिमा प्रदेश सरकारलाई संस्थागतरुपमा सुदुढ बनाउन ६ वटा ऐनहरु जारी भएको लामाले बताए । उनका अनुसार सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको दीर्घकालीन सोचसहित प्रदेश सरकारको दोस्रो आवधिक योजना कार्यान्वयनमा ल्याइएको छ । त्यसैगरी मन्त्रालयहरुको कार्यसम्पादनमा प्रभावकारिता ल्याउन मुख्यमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन करार सम्झौता गरी प्रगतिको समीक्षा गरिएको लामाले बताएका छन् ।
भौतिक पूर्वाधारको कार्यलाई प्रभावकारी बनाइएको लामाले दाबी गरेका छन् । प्राकृतिक विपतको समयमा क्षतिग्रस्त भौतिक पूर्वाधारको मर्मतसम्भारको लागि दु्रतप्रतिकार्य टोली गठन गरिएको उनले बताए । विपद्को कारण क्षतिग्रस्त हेटौंडादेखि उपत्यका जोड्ने प्रादेशिक सडकहरु सवारी आवागमन सुचारु गरिएको लामाले दाबी गरेका छन् । आफ्नो कार्यकालमा २१ वटा रुग्ण आयोजनाको निर्माण सम्पन्न गरेको उनले बताए ।
३ सय ६३ किलोमिटर पक्की सडक निर्माण, १ सय ४९ किलोमिटर ग्राभेल सडक निर्माण, ९१ किलोमिटर नयाँ ट्रयाक र १८ किलोमिटर पदमार्ग निर्माण सम्पन्न भएको मुख्यमन्त्री लामाले दाबी गरेका छन् । उनका अनुसार यस अवधिमा ३७ वटा सडक पुल निर्माण गरी ५ सय १० किलोमिटर सडकको नियमित मर्मतसम्भार गरिएको छ ।लामाले आफ्नो नेतृत्वको सरकारले राजश्व संकलनमा पनि वृद्धि गरेको दाबी गरेको छ ।
विगतको तुलनामा ४ दशमलब २० प्रतिशतले आफ्नै स्रोतबाट संकलित राजश्वमा वृद्धि भएको लामाले दाबी गरेका छन् । उनका अनुसार प्रदेशको खर्च गर्ने क्षमतामा वृद्धि भएको छ । यसैगरी आफ्नो एकवर्षे कार्यकालमा सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउन डिजिटलाईजेसन गर्ने प्रक्रियालाई सुरु गरिएको उनले बताए । सुशासन प्रवद्र्धनका निम्ति भ्रष्टाचार विरुद्धको प्रादेशिक कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउने कार्यक्रमहरुलाई प्राथमिकता दिएको उनले बताए ।
लामाले प्रदेशमा मात्र नभई स्थानीय तहसम्म पनि शासकीय सवलीकरण गर्ने दिशामा प्रदेशसरकार अगाडि बढेको दाबी गरेका छन् । आयोजना बैंकमार्फत् प्रदेश सरकारले कार्यान्वयन गर्ने योजनालाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रक्रियालाई सुरुवात गरेको उनले दाबी गरे । लामाले नेपाल र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्न ऐन जारी भइसकेको र सो सम्बन्धी नियमावली पनि जारी हुने चरणमा रहेको जानकारी दिएका छन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि विभिन्न कार्यक्रम गरिएको उनले बताएका छन् ।
लामाले राजीनामा दिएसँगै बागमतीको मुख्यमन्त्री दलको नेताको रुपमा ईन्द्र बानियाँ हुनेछन् । सत्तासाझेदार दल नेकपा एमालेसँग एकवर्षअघि भएको सरकारको नेतृत्व गर्ने समयावधिको सहमतिअनुसार अब हुने भनिएका मुख्यमन्त्री बानियाँले ८ महिना सरकार सञ्चालन गर्नेछन् ।







