प्रादेशिक कृषि थोकबजार उपमहानगरपालिकालाई हस्तान्तरण

साझाकुरा
२०८२ श्रावण २०, सोमबार ११:२३

हेटौंडा- हेटौंडा–११, थानाभ¥याङमा निर्माण भएको प्रादेशिक कृषि थोकबजार हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।बागमती प्रदेश सरकारको ७० प्रतिशत र उपमहानगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा निर्माण भएको थोकबजार आइतबार आयोजित एक कार्यक्रमकाबीच उद्घाटन एवम् हस्तान्तरण गरिएको हो । कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठ र नगरप्रमुख मीनाकुमारी लामाले संयुक्तरुपमा थोकबजार भवनको उद्घाटन गरेका हुन् । कुल ३२ करोड १० लाख रुपैयाँ लागतमा निर्माण गरिएको थोकबजारभित्रको पक्की सडक निर्माणका लागि कृषि विकास निर्देशनालयबाट थप ७७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

कुल २ बिगाहा ४ धुर क्षेत्रफलमा फैलिएको बजारमा थोकबिक्रीका लागि दुईतलाको भवनमा ४० वटा सटर, तरकारी ओसारपसारका लागि ४ वटा कार्गो लिफ्ट र २ वटा यात्रु लिफ्टको व्यवस्था छ भने खुद्रा बिक्री भवनमा २३ वटा सटर र २ वटा यात्रु लिफ्ट छन् । प्रादेशिक थोकबजारको निर्माणकार्यका लागि संघीय कृषि मन्त्रालयले सबै प्रदेशका प्रमुखसहरमा जस्तै हेटौंडामा पनि किसानका लागि प्रादेशिक कृषि थोकबजारको आवश्यकता पहिचान गरी यसको डिपिआर तयार गरेको हो ।

२०७६ पुसमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा बसेको बैठकले तयार गरेको मोडालिटीअनुसार निर्माण कार्यको कुल लागतमध्ये भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बागमती प्रदेश ७० प्रतिशत र हेटौंडा उपमहानगरपालिकाले ३० प्रतिशत लागत साझेदारी गर्ने निर्णय भए बमोजिम २०७७ भदो महिनामा कृषि विकास निर्देशनालय र हेटौंडा उपमहानगरपालिकाबीच सम्झौता भएको थियो । २०७८ जेठमा निर्माणकार्यका लागि अनक÷माउण्टेन जेभिसँग निर्माण सम्झौता भएको थियो ।

उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले थोकबजारलाई प्रदेश सरकारले नमूना कार्यक्रमको रुपमा अघि बढाएको बताएका छन् । थोकबजार किसान, व्यवसायी र उपभोक्ता सबैलाई लक्षित गरी सञ्चालन हुने उनको भनाई छ । किसान महासंघ, कृषक महासंघ लगायत कृषिक्षेत्रका सरोकारवालाको समन्वयमा उपभोक्तालाई स्वस्थ्य तरकारी उपलब्ध गराउन यो बजारले महत्वपूर्ण भूमिका खेल्ने मन्त्री श्रेष्ठको विश्वास रहेको छ । प्रादेशिक थोकबजार सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मा मन्त्रालयले उपमहा नगरपालिकालाई हस्तान्तरण गरेको उनले बताए ।

यस्ता बजार हरेक पालिकामा विस्तार गर्ने योजना अनुरुप प्रविधिमैत्री थोकबजार निर्माणका लागि यस आर्थिक वर्षमा ९ वटा पालिकालाई बजेट विनियोजनगरिएको मन्त्री श्रेष्ठले जानकारी दिएका छन् । मन्त्री श्रेष्ठले बागमती प्रदेशभित्र ८० प्रतिशत भन्दा बढी जमिन बाँझो रहेकोमा चिन्ता व्यक्त गरे । उनले बाँझो रहेका जग्गालाई उपयोगमा ल्याउन तीनै तहका सरकारबीच समन्वय आवश्यकरहेकोमा जोड दिए । कृषि उपजको आयात घटाउँदै निर्यात बढाउन सबै जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो । मूल्यश्रृंखलामा आधारित रहेर किसानका कृषिउपज सीधै उपभोक्तासम्म पु¥याउने अभियान थालिने पनि उनले बताए ।

त्यसैगरी नगरप्रमुख लामाले कृषि थोकबजार किसानप्रतिको सम्मान भएको बताइन् । किसान लक्षित भवनमा मन्त्रालय राखेको प्रति असन्तुष्टि जनाउँदै उनले किसानले सुविधासम्पन्न भवन प्रयोग गर्न पाउनुपर्ने धारणा राखिन् । नगर प्रमुख लामाले किसानलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यकरहेकोमा जोड दिइन् । कार्यविधि स्वीकृत भएर आएलगत्तै दशैँअघि नै बजार सञ्चालनमा ल्याउने बताउँदै नगरप्रमुख लामाले थोकबजार सञ्चालनको जिम्मा किसानलाई दिने उपमहानगरपालिकाको तयारी रहेको उल्लेख गरिन् ।

बागमती प्रदेशभित्र उत्पादित कृषिउपजको सहज र समुचित बजार व्यवस्थापनद्वारा कृषक र उपभोक्ता दुवैपक्षलाई उचित लाभ प्रदान गर्न तथा हालको कृषि प्रणालीलाई व्यावसायिक कृषिमा रुपान्तरण र सकारात्मक योगदानका लागि थोकबजारले सहयोग पु¥याउने अपेक्षा गरिएको छ । कृषि थोकबजारभित्र प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय पनिराखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*