कांग्रेसको २ जना र एमालेको ६ सांसद् मन्त्री नियुक्त
हेटौंडा- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।बानियाँलाई प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले शपथ ग्रहण गराएका हुन् । नेपाली कांग्रेस र नेकपा एमालेका समर्थन रहेको बानियाँलाई प्रदेशप्रमुख देवकोटाले मंगलबार नियुक्त गरेका हुन् । उनलाई नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसद् गरी ६४ सांसद्को समर्थन रहेको छ । बानियाँले कांग्रेस संसदीय दलको नेताको हैसियतले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशप्रमुखसमक्ष मुख्यमन्त्री दाबी पेश गरेको थियो । निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामालाई विस्थापित गर्दै बानियाँ प्रदेशको छैटौं मुख्यमन्त्री बनेका हुन् । संसदीय दलको नेतामा लामालाई पराजित गर्दै बानियाँ संसदीय दलको नेता बनेका हुन् ।
यसैगरी मंगलबार नै बानियाँले नेपाली कांग्रेसको २ जना र नेकपा एमालेको ६ जना सांसद्लाई मन्त्री नियुक्त गर्दै मन्त्रीपरिषद् विस्तार गरेका छन् । कांग्रेसका शिवराज अधिकारी र कृष्णकुमार तामाङ मन्त्री नियुक्त भएका छन् । अधिकारीको मन्त्रालय पछि तोकिने भएको छ भने तामाङलाई खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी एमाले मधुसुदन पौडेलको नेतृत्वमा सरकार समावेश भएको छ । एमालेले स्वास्थ्य मन्त्रीमा किरण थापामगर, श्रम, रोजगार तथा यातायात मन्त्रीमा काठमाडौंका
जयराम थापा, वन तथा वातावरण मन्त्रीमा दोलखाका भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा ललितपुरका मधुसुधन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौंका डा. दिनेशचन्द्र देवकोटा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा काठमाडौंकै विन्दु श्रेष्ठको नाम टुंग्याइएको हो । थापा यसअघि लामा नेतृत्वको सरकारमा पनि स्वास्थ्य मन्त्री रहेका थिए ।
नवनियुक्त मन्त्रीहरुलाई प्रदेशप्रमुख देवकोटाले पद तथा गोपनीयताको शपगग्रहण गराएका छन् । बानियाँ नेतृत्वको सरकारको स्थायित्व अझैपनि राजनीतिक समझदारी र कार्यसम्पादनमा निर्भर रहनेछ । खासगरी आगामी आठ महिनामा उनले काँग्रेस र एमाले बीचको सत्ता बाँडफाँड, बजेट कार्यान्वयन र प्रदेश सरकारको विश्वसनीयता कायम राख्नुपर्ने चुनौती छ । बानियाँको अगुवाईमा बनेको यो गठबन्धन सरकारले प्रदेशमा स्थायित्व कायम गर्नसक्छ कि सक्दैन ? त्यसले आगामी संघीय राजनीतिलाई समेत प्रभाव पार्नेछ ।
को हुन् मुख्यमन्त्री बानिया“ ?
ईन्द्रबहादुर बानियाँ नेपाली राजनीतिमा लामो समयदेखि सक्रिय, खरो स्वभावका र स्पष्ट धारणा राख्ने नेताका रुपमा परिचित नाम हो । स्व. क्षेमबहादुर बानियाँ र माता प्रेमकुमारी बानियाँको कोखबाट २०२७ साल भदौं १५ गते मकवानपुरको हर्नामाडी–४, दियावतीमा जन्मिएका बानियाँ हाल हेटौंडा–५ सानोपोखरा र ललितपुरको धापाखेल–१ मा बसोबास गर्दै आएका छन् । बानियाँले राजनीतिक यात्रा २०४४ सालमा सुरु गरेका हुन् । त्यसपछि २०५१ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिकारुपमा सहभागी भए ।
२०५२ सालमा नेपाल विद्यार्थी संघ मकवानपुर जिल्ला सहसचिव, २०५५ सालमा नेपाल तरुण दल मकवानपुरका सचिव र २०५६ सालमा तरुण दल जिल्ला अध्यक्ष बनेका थिए । सोही वर्षदेखि बानियाँ नेपाली कांग्रेसको महासमिति सदस्यको जिम्मेवारीमा रहँदै आएका छन् । २०५८ सालमा पार्टीको जिल्ला सदस्य बनेका बानियाँ २०६४ सालमा पहिलो संविधानसभा सदस्य निर्वाचनमा भने पराजित भएका थिए । कम्युनिष्टको लालकिल्ला भनेर चिनिने मकवानपुरमा कम्युनिष्टको किल्ला भत्काएर २०७० को संविधान सभा निर्वाचनमा संविधानसभा सदस्य विजयी भएदेखि बानियाँ निरन्तर सांसद रहँदै आएका छन् ।
बानियाँले २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री र गृह राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । २०७४ मंसिर २१ गते सम्पन्न निर्वाचनमा बानियाँ मकवानपुर क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भए । त्यसपछि बानियाँ २०७४ पौष ३ गते काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा सर्वसम्मतरुपमा चयन भए । उनी २०७८ मंसिर २० गतेदेखि हालसम्म नेपाली काँग्रेस बागमती प्रदेश सभापति छन् ।
२०७९ मंसिरमा सम्पन्न निर्वाचनमा मकवानपुर क्षेत्र नं. २ (ख) बाट पुनः प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका बानियाँ साउन १४ गते नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भए । राजनीतिक जीवनसँगै उनी सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील रहेकाछन् । मकवानपुर उद्योग वाणिज्य संघ, नरायणी यातायात ब्यवसायी संघ र निर्माण व्यवसायी संघ मकवानपुरका सल्लाहकार, त्रिखण्डेश्वर महादेव संरक्षण तथा पर्यटन विकास समितिको अध्यक्ष, मकवानपुर बहुमुखी क्याम्पसको कार्यसमिति सदस्य र छात्रवृत्ति समितिको संयोजकको जिम्मेवारी समेत बानियाँले सम्हालिसकेका छन् ।







