बागमती सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री तामाङलाई
हेटौंडा- बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी खानेपानी, उर्जा तथा सिंचाई मन्त्री कृष्णकुमार तामाङलाई दिइएको छ ।नवगठिन सरकारको मंगलबार बसेको पहिलो मन्त्रीपरिषद् बैठकले मन्त्री तामाङलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । त्यसैगरी बैठकले प्राकृतिक विपत्तीको कारण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारी निकायलगायत अन्य संघ संस्थालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत् समन्वयकारी ढंगले परिचालन गरिने निर्णय गरेको छ । प्रदेशभित्र उद्दार, राहत र प्रतिकार्यको लागि उच्चस्तरीय एकीकृत संयन्त्र बनाउने निर्णय गरिएको छ । प्रवक्ता तामाङका अनुसार संयन्त्रमा आन्तरिक मामिला तथा कानुन मन्त्री संयोजक एवम् सम्बन्धित प्रशासनिक निकायका प्रमुखहरु सदस्यको रुपमा रहेनछन् ।
संयन्त्रलाई तयारी अवस्थामा राखी आवश्यक सामग्री तत्काल उपलब्ध गराउने निर्णय भएको उनले जानकारी दिए । त्यसैगरी प्रदेशभित्र बाढीपहिरो जस्ता प्राकृतिक विपत्तीको कारण बासस्थान गुमेकाहरुलाई अस्थायी बसोबासको प्रबन्ध मिलाउने निर्णय भएको मन्त्री तामाङले बताए । विपत्तीबाट क्षतिग्रस्त भएका सडकको संघीयसरकारको भौतिक पूर्वाधार मन्त्रालय तथा सम्बन्धित स्थानीय तहसँगको सहकार्यमा तत्काल मर्मत गरी सवारी आवागमनको प्रबन्ध मिलाउने निर्णय बैठकले गरेको छ ।
त्यसैगरी बैठकले प्रदेशसभाबाट पारित गरेको संकल्प प्रस्तावलाई कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । प्रदेशभित्र रहेको अति विपन्न सीमान्तकृत समुदाय, वनकरियाको उचित बासस्थानलाई उच्चप्राथमिकता दिने निर्णय भएको मन्त्री तामाङले बताए । मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफ्नो मासिक पारिश्रमिकबाट आफ्नो निर्वाचन क्षेत्रभित्र रहेको एउटा अति सीमान्तकृत परिवारलाई घर निर्माण गरी हस्तान्तरण गर्ने घोषणा गरेको उनले बताए ।
वनकरिया मकवानपुरको मनहरी गाउँपालिकामा मात्र बसोबास गर्ने सीमान्तकृत तथा लोपोन्मुख जाति हो । आफ्नै नाममा जग्गा नभएका कारण सरकारी आवासको सुबिधाबाट यो समुदाय बञ्चित भएको छ । आर्थिक अवस्थाको कारण स्वास्थ्य क्षेत्रमा उच्चशिक्षा अध्ययन गर्न चाहने जेहेन्दार विद्यार्थीलाई निश्चित मापदण्डको आधारमा छात्रवृत्ति उपलब्ध गराउने निर्णय बैठकले गरेको प्रवक्ता तामाङले जानकारी दिए ।







