व्यवस्थाभित्र छिरेर चुनाव लड्नेले नै व्यवस्थालाई चुनौती दिए : मुख्यमन्त्री बानियाँ

मुख्यमन्त्री बानियाँको स्वागत
साझाकुरा
२०८२ श्रावण २३, बिहीबार ११:२०

हेटौंडा-बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अहिलेको व्यवस्थाभित्र छिरेर चुनाव लड्नेहरुले नै व्यवस्थालाई चुनौती दिन थालेको बताएका छन् ।नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेपछि जनताको अवस्थामा परिवर्तन आएपनि केही तत्वहरुले गलत भ्रम फैलाइरहेको उनले बताए । ‘जनताले सेवासुविधा पाएको, गाउँगाउँमा स्वास्थ्यचौकी पुगेको मन नपराउनेलाई व्यवस्था मनपरेको छैन’ उनले भने, ‘राजालाई मन पराउने पार्टी राप्रपा र रास्वपाले यही व्यवस्थाभित्र छिरेर चुनाव लडेतर, अहिले व्यवस्थालाई चुनौती दिन थाले ।’ नेपाली कांग्रेस मकवानपुरको आयोजनामा बुधबार पार्टी कार्यालयमा भएको बधाई, स्वागत तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री बानियाँले राप्रपा र रास्वपा जस्ता दलहरुले संघीयता र गणतन्त्रको विरोध गरिरहेको आरोप लगाएकाछन् ।

ठूलो संघर्ष र बलिदान बाट प्राप्त व्यवस्थाभित्र रहेर तलबभत्ता खाने तर, व्यवस्थालाई बदनाम गराउन खोज्नेहरुसँग जनता सर्तक रहनुपर्ने उनको भनाई छ । मुख्यमन्त्री बानियाँले व्यवस्थालाई नमान्ने हो भने तलबभत्ता नलिन राप्रपा र रास्वपालाई चुनौती दिएका छन् । ‘यही व्यवस्थाको तलब र भत्ता लिदिँन भन्ने तागत राप्रपा र रास्वपालाई छ ?’ उनले प्रश्न गरे । मुख्यमन्त्री बानियाँले जनताको भरोसालाई टुट्न नदिने गरी काम गर्ने बताएका छन् । आफू मुख्यमन्त्री हुनको लागि मात्र नभई जनतालाई सेवा दिनको लागि आएको उनले जिकिर गरे ।

समग्र बागमती प्रदेशबासी र पार्टी पंक्तिको शीर नझुकाउने मुख्यमन्त्री बानियाँले प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आपूm जतिदिन मुख्यमन्त्री भएपनि जनताको सेवामा सधँै तत्पर रहने बताए । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका विनाविभागीय मन्त्री शिवराज अधिकारी, खानेपानी, उर्जा तथा सिंचाई मन्त्री कृष्णकुमार तामाङलगायतको आतिथ्यता रहेको थियो । यसैगरी बुधबार नेपाली कांग्रेस बागमती प्रदेश समितिले स्वागत तथा बधाई ज्ञापन गरेको थियो । कार्यक्रममा मुख्यमन्त्री बानियाँले उत्तरदायी, जिम्मेवार र पारदर्शी भई निष्पक्षताका साथ जनताको सेवागर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले जनतालाई न्याय, शान्ति र विकास दिन आफू र आफ्नो मन्त्रीमण्डल प्रतिवद्ध रहेको बताए ।

‘राजनीति सेवा र धर्म हो । राजनीति व्यापार हैन । व्यापारमा नाफा नोक्सान हुन्छ तर, राजनीतिमा न्याय हुन्छ । हामीले जनतालाई न्याय दिन, शान्ति दिन, विकास दिनको लागि राजनीति गरेको हो’ बानियाँले भने ‘त्यो बाटोमा हामी एकदिन पनि नअल्मल्लिइकन ठीक, सत्य, न्याय र इन्साफ गरिबनिमुखाको सर्वसाधारणको पक्षमा उत्तरदायी, जिम्मेवार, पारदर्शी र जवाफदेही भएर निष्पक्ष सक्रियरुपमा काम गर्ने प्रतिवद्धता जनाउँदछु ।’ आफूले मुख्यमन्त्री हुँदा प्राप्त गर्ने तलबभत्ताबाट आफ्नो निर्वाचन क्षेत्रका गरिब र विपन्न परिवारको घर निर्माण गरिदिने पनि बानियाँले घोषणा गरेका छन् । मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित बानियाँले विपन्न र असहाय नागरिकको पहिचान गरी आफ्नो तलबभत्ताको रकमले घर बनाउने प्रतिवद्धता व्यक्त गरे ।

नेपाली काँग्रेस बागमती प्रदेशले प्रदेशका नवनियुक्त मुख्यमन्त्री बानियाँसहित पार्टीबाट मन्त्री बनेकाहरुलाई स्वागत गरेको हो । मुख्यमन्त्री बानियाँसहित खानेपानी, उर्जा तथा सिंचाई मन्त्री कृष्णकुमार तामाङ र विनाविभागीय मन्त्री शिवराज अधिकारीलाई स्वागत, सम्मान तथा शुभकामना आयोजना गरिएको हो ।हेटौंडाको सानोपोखरामा रहेको नेपाली कांग्रेस बागमती प्रदेश पार्टी कार्यालयमा बुधबार पार्टी प्रदेश उपसभापति चन्द्र महर्जनलगायतले पार्टी सभापति रहेका मुख्यमन्त्री बानियाँलगायत मन्त्रीहरुलाई स्वागत गरेका हुन् । कार्यक्रममा पार्टी महामन्त्री कञ्चनचन्द्र बादेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*