रिक्त ६ मन्त्रालयको जिम्मा पनि मुख्यमन्त्री बानियाँलाई
हेटौंडा-बागमती प्रदेशमा रिक्त ६ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सम्हालेका छन् ।नेपाली कांग्रेस र एमालेको समर्थनमा सरकारको नेतृत्वमा पुगेका मुख्यमन्त्री बानियाँले पहिलोचरणमा ८ मन्त्री नियुक्त गरेका छन् । तर, काँग्रेसबाट भागमा परेको ७ मन्त्रालयमध्ये हालसम्म एकमात्र मन्त्रालयमा मन्त्रीले जिम्मेवारी पाएका छन् । सरकार गठनको विषयमा कांग्रेसभित्र सहमति नजुट्दा नियुक्त भएका २ जना मन्त्रीमध्ये एकजनाले मात्र जिम्मेवारी पाएका हुन् । हालसम्म काँग्रेसबाट कृष्णकुमार तामाङले मात्र मन्त्रालयको जिम्मेवारी पाएका छन् भने अर्का मन्त्री शिवराज अधिकारी विनाविभागीय अवस्थामा रहेका छन् ।
बाँकी मन्त्रालयका लागि पार्टी सभापति शेरबहादुर देउवा र शीर्ष नेताहरुसँग छलफल गरेर निर्णय गरिने र एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने मुख्यमन्त्री बानियाँले जनाएका छन् । प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (९) अनुसार मुख्यमन्त्री बानियाँको सिफारिसमा मन्त्रिपरिषद् गठन र कार्यविभाजन गरेका हुन् । हाल बागमती प्रदेशमा मुख्यमन्त्री कार्यालयसहित १४ वटा मन्त्रालय छन्, जसमध्ये ६ मन्त्रालयमा मन्त्रीको नियुक्ति नभएको अवस्थामा ती सबै जिम्मेवारी मुख्यमन्त्री बानियाँले आफैँ सम्हाल्ने भएका हुन् ।
उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँगै आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, सामाजिक विकास, संस्कृति तथा पर्यटन, युवा तथा खेलकुद र सहकारी तथा गरिबी निवारण मन्त्रालयको कार्यभार सम्हालिरहेका छन् । यसबीच एमालेको भागमा परेका ६ मन्त्रालयमा भने मन्त्रीहरुले जिम्मेवारी सम्हालिसकेका छन् । एमालेबाट डा. दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकास मन्त्रालयमा, मधुसुदन पौडेल कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा, जयराम थापा श्रम, रोजगार तथा यातायात मन्त्रालयमा, किरण थापा स्वास्थ्य मन्त्रालयमा, भरतबहादुर केसी वन तथा वातावरण मन्त्रालयमा र विन्दु श्रेष्ठ उद्योग, वाणिज्य,भूमि तथा प्रशासन मन्त्रालय सम्हालेका छन् ।







