बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले विश्वासको मत पाए

सरकारले जात्रा देखाउँदैन, यात्रा गर्छ : मुख्यमन्त्री बानियाँ
साझाकुरा
२०८२ श्रावण २९, बुधबार ०८:२१

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । मुख्यमन्त्री पदमा रहिरहन बानियाँलाई ५६ सांसदको समर्थन आवश्यक पर्नेमा बानियाँको पक्षमा ६३ मत परेको छ । १ सय १० सदस्य रहेको प्रदेशसभामा मुख्यमन्त्री बानियाँलाई नेपाली काग्रेसका ३६ र नेकपा एमालेका २७ गरी ६३ सांसदले मत दिएका हुन् । मंगलबारको बैठकमा उपस्थित ९२ प्रदेशसभा सदस्यमध्ये २२ जनाले विपक्षमा मत दिए भने ७ जना तटस्थ रहेका थिए ।

प्रदेशसभामा मुख्यमन्त्री बानियाँले अब इन्द्रयात्रा सुरु भएको बताए । आफ्नो नेतृत्वको सरकारले जात्रा देखाउने नभई यात्रा गर्ने उनले बताए । मुख्यमन्त्री बानियाँले ठगीखाने र मागीखानेको पक्षमा सरकार नरहने जिकिर गरे । उनले नेपालमा गणतन्त्र नेपाली कांग्रेसबिना सम्भव नरहेको बताए । आफ्नै दलभित्र पनि फरक मत र विचार राख्न पाउने पार्टी कांग्रेस मात्र भएको उनले बताए । मुख्यमन्त्री बानियाँले बाहिर आएजस्तो नेपाली कांग्रेसमा कुनै वादविवाद नरहेको स्पष्ट पारे । कांग्रेस एकढिक्का भएको उनले दाबी गरे ।
मुख्यमन्त्री बानियाँले सरकारमा बस्ने निर्णयकर्ता मात्रै नभएर जनताको आवाज सुन्ने र जनताको प्राथमिकता दिने नीति रहने बताए ।

समृद्ध बागमती प्रदेशको आधार बलियो आर्थिक स्वावलम्बन बनाउनु सरकारको जिम्मेवारी रहेको उनले बताए । ‘कृषि, पर्यटन, उद्योगबाट स्थानीय आय बढाउनेछौँ । सीपमूलक तालिम र रोजगार कार्यक्रम विस्तार गर्नेछौँ । प्रदेशको स्रोतसाधनको उच्चतम सदुपयोग गरेर राजश्व वृद्धि गर्नेछौँ । वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमशीलतामार्फत् प्रदेशमा नै अवसर दिनेछौँ’ उनले भने, ‘सरकार जनतामाथि हैन, जनताभित्र हुनेछ । सरकार कागजको फाइलमा मात्रै हैन, किसानको खेतमा, मजदुरको पसिनामा, विद्यार्थीको कलममा सेवा पुग्नेछ । हामी जनताको ढोका ढक्ढक्याएर सेवा दिने सरकार बनाउनेछौँ ।’

मुख्यमन्त्री बानियाँले सरकार न्यायमुखी भएर प्रदेशमा कुनै नागरिकको अधिकार कुण्ठित हुने अवस्थाको अन्त्य गर्ने उल्लेख गरे । धनी, गरिब, सहर गाउँ, जातजाति, भाषा संस्कृति सबैको हक समान हुने र न्याय ढिलो हैन समयमै दिने प्रणाली हामीले सुनिश्चित गर्नेमा प्रतिबद्ध रहेको उनको भनाई छ । सरकार विकास केवल सडक र भवन मात्रै नभई रोजगारी सिर्जना, सीप, स्वच्छ वातावरण, आधुनिक कृषि, गुणस्तरीय शिक्षा र गरिब नागरिकलाई निःशुल्क स्वास्थ्यमा सरकारको ध्यान पुग्ने उनले बताए । विकासको फाइदा सहरमा मात्रै हैन दुर्गम गाउँको आँगनसम्म महसुस गर्ने गरी पु¥याइने उनले बताए ।

मुख्यमन्त्री बानियाँले विपद्का कारण प्रदेशमा जनधनको क्षति भएका विगतका संरचनालाई पुनर्निर्माण द्रुतगतिमा गर्ने, वर्षाको समय भएकोले थप विपत् जोखिम हुनसक्ने सम्भावनालाई नियन्त्रण गर्ने सरकारको चुनौतीकारुपमा रहेको बताए । स्थानीय तह र संघीय तहको सम्बन्ध सोचे जस्तो बलियो हुन नसकेको अवस्थामा सरकारले नियमितरुपमा संविधानको दायराभित्र रहेर संघ र स्थानीय तहसँग आआफ्ना एकल अधिकार र साझा अधिकारका विषयमा गहन छलफल गर्ने कार्य अगाडि बढाउने उनको भनाई छ ।

मुख्यमन्त्री बानियाँले प्रदेशको एकल अधिकार र साझा अधिकारको विषयमा संघीय सरकारसँग बहस र छलफल गर्नुपर्ने धारणा राखे । भ्रष्टाचारमुक्त, सुशासनयुक्त, पारदर्शी र जवाफदेही नमुना बागमती सरकार चलाउन प्रदेशसभाको समर्थन आवश्यक रहेको मुख्यमन्त्री बानियाँले बताए । प्रदेशको समग्र विकास, सुशासन र स्थायित्वका लागि आफूले प्रदेश सरकारको नेतृत्व गरेको उनले दाबी गरेका छन् । बानियाँ गत साउन २० गते बागमती प्रदेशको छैटौं मुख्यमन्त्री नियुक्त भएका थिए ।

बानियाँ आफ्नै पार्टीका संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव पास गरेर संसदीय दलको नेतामा निर्वाचित भएका थिए । गठबन्धनबाट मुख्यमन्त्री बनेका बानियाँले अझै सरकारलाई पूर्णता दिन बाँकी छ । १४ मन्त्रालय रहेको बागमती प्रदेशमा हालसम्म मुख्यमन्त्रीसहित ८ जना मन्त्री नियुक्त भएका छन् । नेपाली कांग्रेसको भागमा परेका ६ वटा मन्त्रालयमा अझै जिम्मेवारी तोक्न बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*