बागमतीका नवनियुक्त ५ मन्त्रीले शपथ लिए
हेटौंडा-५ जना मन्त्री नियुक्त भएसँगै बागमती प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले कांग्रेसका ५ जना मन्त्री नियुक्त गरेसँगै मन्त्रीपरिषद्ले पूर्णता पाएको हो । नवनियुक्त ५ जना मन्त्रीले शुक्रबार नै पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेशप्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाबाट नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । नेपालको संविधानको धारा १७२ तथा मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम प्रदेशप्रमुख देवकोटाले प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई सपथ गराएका हुन् ।
मुख्यमन्त्री बानियाँको सिफारिमा सामाजिक विकास मन्त्रालयमा काभ्रेका बादे, आर्थिक मामिला तथा योजना मन्त्रालयमा रसुवाका तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी रायमाझीले जिम्मेवारी पाएका छन् । यसअघि विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका शिवराज अधिकारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
साउन २० गते नेकपा एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका बानियाँले सरकार गठनको १० दिनपछि दोस्रोचरणमा आफ्नै दलका पाँच जनालाई मन्त्री बनाउँदै १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिए । यसअघि कांग्रेसबाट खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयमा सिन्धुपाल्चोकका कृष्ण तामाङ र जिम्मेवारी पछि तोकिने गरी धादिङका शिवराज अधिकारी विनाविभागीय मन्त्री नियुक्त भएका थिए ।
साउन २० गते नै नेकपा एमालेबाट सरकारमा नेतृत्व गर्दै ललितपुरका मधुसुदन पौडेललाई कृषि तथा पशुपन्छी विकास, काठमाडौंका डा.दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास, रसुवाका भरत केसीलाई वन तथा वातावरण, काठमाडौंकै जयराम थापालाई श्रम, रोजगार तथा यातायात, बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
मन्त्रीपरिषद् समावेशी बनाएको छुः मुख्यमन्त्री बानिया“बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मन्त्रीपरिषद्लाई समावेशी बनाएको बताएका छन् । सबै किसिमको समुदायको प्रतिनिधित्व हुनेगरी मन्त्रीपरिषद् बनाएको उनले दाबी गरे । ३७ संदस्यीय संसदील दलको अभिभावककै हैसियतले आपूmले सबै सांसद्को भावनालाई कदर गरेको मुख्यमन्त्री बानियाँले बताए ।
उनले नेपाली कांग्रेस एकढिक्का र कुनै पक्ष–विपक्ष नरहेको जिकिर गरे । मुख्यमन्त्री बानियाँले कांग्रेसभित्र असन्तुष्टि नहुने बताए । उनले कांग्रेसभित्र वार्ता हुने र आफ्नो विचार, एजेण्डालाई स्थापित गर्न प्रतिस्पर्धा हुने उल्लेख गरे । मुख्यमन्त्री बानियाँले लोकतन्त्रमा सत्ता उलटफेर भइरहने बताए । विगतमा संसदीय दलको नेताको हैसियतमा बहादुरसिंह अर्थमन्त्री, मुख्यमन्त्री हुँदा आपूmले कुनैपनि किसिमको असहयोग नगरेको उनले स्पष्ट पारे ।
बहादुरसिंह लामा पक्ष असन्तुष्टपूर्वमुख्उमन्त्री बहादुरसिंह पक्षले भने पार्टी सभापति शेरबहादुर देउवाबाटै धोका भएको टिप्पणीगरेको छ । संसदीय दलको नेतामा विश्वासको मत गुमाएपछि लामाले नियुक्त गरेका तीन मन्त्रीलाई सपथ गराउने पूर्वसहमति कार्यान्वयन हुन नसकेको असन्तुष्ट पक्षले जनाएको छ ।लामा पक्षका नेताहरुका अनुसार उनले मन्त्रीमा नियुक्त गरेका तर, सपथ गराउन नपाएका तीन जनालाई मन्त्रिपरिषद् विस्तार गर्दा समेट्ने सहमति बनेको थियो । साउन १४ गते तत्कालीन मुख्यमन्त्री लामाले गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएकाथिए । माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेपनि जिम्मेवारी भने तोकिएको थिएन ।
संसदीय दलको नेता हुँदै मुख्यमन्त्रीबाट बाहिरिएका लामासँग मुख्यमन्त्री बानियाँको यही विषयले विवाद देखिएको थियो । उनले नियुक्त गरेका तीनजनालाई नवगठित मन्त्रिपरिषद्मा सहभागी नगराउने भए विश्वासको मत नदिने अडानमा लामा पक्ष थियो । दुईपक्षको विवाद केन्दद्रसम्म आइपुगेको थियो । दुईपक्षका नेताहरुको संवाद सभापति देउवा सहित शीर्ष तहसँग भएको थियो । विश्वासको मत प्रदान गर्ने दिनसम्म लामा पक्षले आफ्नो माग राख्दै काठमाडौंमा बैठक बसिरहेको थियो । लामा पक्ष विश्वासको मत दिन तयार भएपछि मुख्यमन्त्री बानियाँको पक्षमा ६३ मत परेको थियो । प्रस्तावको विपक्षमा २२ र तटस्थमा ७ मत प¥यो ।
बागमती प्रदेश सभामा ११० सदस्य छन् । असन्तुष्ट पक्षले मन्त्रिपरिषद विस्तार गर्दा आआफ्नो समूहसँग कुनै सरसल्लाह नभएको जनाएको छ । मन्त्रिपरिषद् विस्तारमा एक पक्षलाई पेलिएको भन्दै लामा समूहले मुख्यमन्त्री बानियाँको क्रियाकलापप्रति संशय व्यक्त गरेको छ । लामाको पक्षमा सांसद कुन्दनराज काफ्ले, उत्तम जोशी, लक्ष्मी श्रेष्ठ, रमेशकुमार महत, हरिप्रभा खड्गी, रामकुमार पहाडी, क्षत्रबहादुर बम्जन, गीता गुरुङ, मसिना खड्का, तीर्थ लामा, रामकृष्ण चित्रकार, माया श्रेष्ठ, गोविन्द लम्साल र समिता खड्गी छन् ।







