भगवान श्रीकृष्णको सन्देश आज पनि उत्तिकै सान्दर्भिक : मुख्यमन्त्री बानियाँ
हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले भगवान श्रीकृष्ण समाजवादी विचारधाराका रहेको बताएका छन् ।हेटौंडा उपमहानगरपालिका–६ गौरीटारमा श्रीकृष्णप्रणामी युवा परिषद् नेपाल, श्रीकृष्णप्रणामी मूलमिलावा धामद्वारा आयोजित कृष्णजन्माष्टमी विशेष कार्यक्रममा उनले असत्यको विरुद्धमा आफ्नैसँग पनि लड्नुपर्ने सन्देश कृष्णले दिएको बताए । मुख्यमन्त्री बानियाँले कृष्णको जीवनदर्शनमा समाजवाद र गणतन्त्रको भावना रहेको उल्लेख गर्दै महाभारतकालमा कृष्णले दिएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । कृष्णले जन्मको आधारमा नभई कर्मको आधारमा मानिस ठूलो हुन्छ भन्ने पाठ सिकाएको उनको भनाई छ ।
कृष्णप्रणामी धर्मलाई सर्वश्रेष्ठ धर्मको रुपमा व्याख्या गर्दै मुख्यमन्त्री बानियाँले यस धर्ममा जात, लि·लगायत कुनै पनि आधारमा विभेद नगरिने भएकाले यो वैज्ञानिक र व्यावहारिक रहेको दाबी गरे । मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकार हुँदा खाने वर्गको पक्षमा रहेको बताए । कसैलाई पनि अन्याय हुन नदिई न्याय प्रदान गर्नु नै धर्म भएको उनको धारणा थियो । आफू मुख्यमन्त्रीको रुपमा रहँदा सदैव सत्य र न्यायको पक्षमा रहने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री बानियाँले संघर्ष गर्दै जाँदा सफलता प्राप्त हुन्छ भन्ने पाठ भगवान श्रीकृष्णबाट सिक्नुपर्ने बताए । मुख्यमन्त्री बानियाँले सबै संस्कृति र परम्पराको जगेर्ना गर्नु सबैको दायित्व रहेकोमा जोड दिए ।
कार्यक्रममा नेकपा एमाले बागमती प्रदेशका प्रमुखसचेतक एकालाल श्रेष्ठले धार्मिक मठमन्दिरको संरक्षण गर्नु तीनै तहको सरकारको साझा दायित्व भएको बताए । उनले नेपालमा निर्माण हुने धार्मिक पूर्वाधारले स्वदेशीका साथै भारतीय पर्यटकलाई समेत आकर्षित गर्ने खालको हुनुपर्नेमा जोड दिए । धार्मिक पर्यटनको विकासले देशको आर्थिक समृद्धिमा टेवा पुग्ने उनको विश्वास थियो । कार्यक्रमा श्रीकृष्ण अनन्त प्रेम रथयात्रा निकालिएको थियो ।
६ नम्बर वडाको विभिन्न क्षेत्र परिक्रमा गरिएको रथयात्रमा बाजागाजा, धार्मिक झाँकी र विभिन्न सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो । श्रीकृष्णप्रणामी मूलमिलावा धामका अध्यक्ष राजु नेपालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, बागमती प्रदेश प्रहरीप्रमुख अरुण पौडेल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विश्वराज खड्का, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, ६ नम्बर वडाअध्यक्ष विष्णुबहादुर दाहाल, १६ नम्बर वडाअध्यक्ष
रामकृष्ण कोइरालालगायतको आतिथ्यता रहेको थियो ।
देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी मनाइयो
‘श्रीकृष्ण जन्माष्टमी’ पर्व शनिबार देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी मनाइएको छ । प्रत्येक वर्ष भाद्रकृष्णअष्टमीका दिनमा मनाइने ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा देशभरमा कृष्णमन्दिरमा बिहानदेखि भक्तजनको भिड लागेको थियो । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रुपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानवसमुदायलाई प्रेरित गर्नुभएको थियो ।
कुरुक्षेत्रमा कौरवहरुसँगको लडाइँमा सङ्लग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।
कृष्णजन्माष्टमी दिवसको अवसरमा मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले शुभकामना सन्देश जारी गरेका छन् । मुख्यमन्त्री बानियाँले भगवान श्रीकृष्णबाट सत्य, प्रेम र सद्भावनाको प्रेरणा लिनुपर्ने बताएका छन् । उनले महाभारतको युद्धको मैदानमा अर्जुनलाई गीतामार्फत सत्य, धर्म, ज्ञान र कर्मयोगको उपदेश गर्ने भगवान श्रीकृष्णको शिक्षाले सबैलाई प्रेरित गर्ने उल्लेख गरेका छन् ।उनले प्रेम, भक्ति र समर्पणको पर्यायका रुपमा मानिने भगवान श्रीकृष्णको जन्मदिनको अवसरमा सबैमा मंगलमय शुभकामना व्यक्त गरेका छन् । सन्देशमा उनले श्रीकृष्णजन्माष्टमी पर्वले समाजमा सत्य, प्रेम र सद्भावना बढाउँदै धार्मिक सहिष्णुता र एकतामा जोड पु¥याओस् भन्ने कामना गरेका छन् ।







