सभ्यता जगेर्ना प्रदेश सरकारको प्रमुख दायित्वः मुख्यमन्त्री बानियाँ
हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सभ्यताको स्रोत बागमती नदीलाई पुरानै निर्मल र कञ्चन स्वरुपमा फर्काउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले बागमती प्रदेश सरकारले सभ्यता जगेर्ना, नदी सफाइ र सौन्दर्यीकरणलाई प्रमुख दायित्वको रुपमा लिएको बताए । शनिबार काठमाडौंमा आयोजित बागमती करिडोरकुपन्डोलमा २५ औं बागमती रिभर फेष्टिभल समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले नदी प्रणाली मानव सभ्यताको आधार भएको र बागमती नदीको किनारमा नै मानवसभ्यताको विकास भएको स्मरण गराए । प्रदेशको नाम नदीको नामबाट राख्नुले यसको संरक्षण र संवद्र्धनमा सरकारको थप जिम्मेवारी बढेको उनको भनाइ थियो ।
उनले संघीयता र गणतन्त्रको मर्मअनुसार बागमती नदीको सभ्यतालाई पुनर्जीवन दिनु आवश्यक रहेकोमा जोड दिए । बागमती नदी नेपालको सांस्कृतिक र ऐतिहासिक पहिचानसँग मात्र नभई बागमती प्रदेशको नामसँग समेत जोडिएकोले यसको संरक्षण गर्नु सरकार र नागरिक सबैको साझा जिम्मेवारी भएको उनले बताए । सुन्दरीघाटलाई सुन्दर बनाउने अभियानमा स्थानीयको सहभागिता, विशेषगरी महिलाको भूमिकाको प्रशंसनीय रहेको उनले बताए । प्रदेश सरकारले बागमतीलाई सफा गर्न द्रुतगतिमा काम गर्ने र यसका लागि प्रदेशसभा सदस्यलगायत सबै पक्षसँग सहकार्य भइरहेको उनको भनाइ छ ।
‘मान्छेको सभ्यताको विकास नदीप्रणालीबाटै भएको हो । यही सभ्यता र साझा पहिचानलाई सम्मान गर्दै कुनै जात, धर्म वा समुदायसँग नजोडी सबैको साझा सम्पत्तिको रुपमा प्रदेशको नाम बागमती राखिएको हो’ उनले थपे, ‘हिजोको जस्तै निर्मल र कञ्चन बागमतीलाई फेरि त्यही रुपमा फर्काउन सरकारले कुनै कसर बाँकी राख्ने छैन । यो हाम्रो दायित्व हो र हामी यसलाई पूरा गरेरै छाड्छौँ ।’







