मन्त्री थापाले मानवसेवा आश्रममा जन्मदिन मनाए
हेटौंडा- बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले आफ्ना कोही नभएका नागरिकको लागि प्रदेश सरकार भएको बताएका छन् ।शनिबार आफ्नो जन्मदिनको अवसरमा हेटौंडाको मानवसेवा आश्रममा रहेका अनाथ, असहाय र परिवार विहीनको सेवा गर्न पुगेका मन्त्री थापाले राज्य सबैको संरक्षक भएको बताए । ‘जसको कोही छैन, त्यसको लागि हामी छौँ, प्रदेश सरकार छ, वागमती प्रदेश सरकारले त्यसको लागि व्यवस्थापन गर्दै छ’, उनले भने । स्वास्थ्य मन्त्रालयले यसवर्ष बजेट बनाउँदा आश्रममा आश्रित रहेकाको स्वास्थ्य बीमाको रकम सरकाले नै तिरिदिने व्यवस्था गरेको उनले जानकारी गराए ।
उनले धर्म गर्न मन्दिरमा गइरहनु नपर्ने बताउँदै सबैभन्दा ठुलो धर्म मानवसेवा भएको बताए । ‘भगवानको मन्दिरमा गएर दर्शन गर्दैमा हामीलाई धर्म हुने होइन, मानवको सेवा गर्न सक्यो भने सबैभन्दा ठुलो र पुण्य काम यही हो’, उनले बताए । मानवसेवा आश्रमले मानवीय काम गरेको भन्दै मन्त्री थापाले प्रशंसा गरे । आश्रितहरुको खानपान, आवास, स्वास्थ्य, सरसफाइ जस्ता काम गरेर मानवसेवा आश्रमले ईश्वरीय काम गरेको उनले बताए । मन्त्री थापाले आश्रमलाई व्यवस्थित गर्नको लागि कम्तिमा सरकारको तर्फबाट खानाको व्यवस्थापनका लागि सेवादिने प्रतिबद्धता पनि व्यक्त गरे । मानवसेवा आश्रमका बिरामीलाई वागमती प्रदेशको हेटौंडा अस्पतालले निःशुल्क उपचार गराउने थापाले जानकारी गराए ।
उनले हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालन भएपछि स्वास्थ्य सेवामा व्यापक सुधार आएको पनि बताए । हेटौंडा अस्पतालको नामाकरण कहिल्यै पनि परिवर्तन नहुने बताउँदै मन्त्री थापाले प्रदेश सरकारले कुनै पनि इतिहास मर्न नदिने स्पष्ट पारे । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अघि बढाएको बताउँदै त्यसको प्राक्टिकल गर्नको लागि प्रतिष्ठान मार्फत् हेटौंडा अस्पताल सञ्चालन गरिएको मन्त्री थापाले जानकारी दिए ।
उनले प्रतिष्ठानमार्फत् हेटौंडामा एमडीको पढाइ सुरु भएको जानकारी दिए । ‘८ वटा कोटा प्राप्त भएर एमडी पढाइ सुरु भएको छ, एमबिबिएसको ५० वटा कोटा प्राप्त भएर पढाइ सुरु हुँदैछ, केही महिना पछाडि हेटौंडा अस्पतालमा अब एमबिबिएसको पनि पढाइ सुरु हुँदैछ, त्यसैगरी अहिले ब्याचलर लेबलमा विभिन्न विषयमा ३ सय ५८ जनाको पढाइ सुरु भइरहेको छ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पताल नजोडिएको भए यो अवस्था हुने थिएन’, उनले बताए । मन्त्री थापाले जन्मदिनको अवसरमा आश्रमका आश्रितलाई बिहानको खाना खुवाए ।







