बागमती प्रदेशसभा शुन्य समय : प्रदेशसभा हल राम्रो भएपनि सिट व्यवस्थापन भएन
हेटौंडा- बागमती प्रदेश सांसद्हरुले मंगलबार पनि आफ्नो निर्वाचन क्षेत्रका समस्यालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रदेशसभा बैठकको शुन्य समयमा १० जना सांस्दले बागझोरामा पुल हाल्नदेखि प्रदेशसभा भवनभित्रको सिट व्यवस्थापन गर्नसम्मको लागि सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद् ओमकुमारी श्रेष्ठले संघीय राजधानी र प्रदेश राजधानी जोड्ने बाटो धेरै भएपनि एउटा पनि बाटो सहज नभएको बताइन् । बागझोरामा प्रदेश सरकारले संघीय सरकारको मात्र मुखताकेर बस्न नहुने उनले बताइन् । ‘संघीय सरकारको मात्र भर परेर भएन, बागझोरा पुल राखेर भएपनि प्रदेश सरकारले सहज आवाजजावतको व्यवस्था गर्नुपर्छ’ उनले भनिन् । सांसद् श्रेष्ठले प्रदेश सरकारले आफ्नै पहलमा पुल राखेर भएपनि यात्रा सहज बनाउनुपर्ने माग गरिन् ।
सांसद् ईश्वर सापकोटाले किसानलाई तुरुन्त मलको आपूर्ति गर्नुपर्ने बताए । चाडपर्व नजिकिँदै गर्दा उपभोग्य बस्तुहरुको मूल्यवृद्धिले जनता मारमा परेको उनले बताए । ‘चाडपर्व नजिकिँदै गरेको समयमा उपभोग्य वस्तुको मूल्यवृद्धिले चरम सीमा नाघेको छ’ उनले भने । सांसद् सापकोटाले कालोबजारी अन्त्य गरी जनतालाई सुविधा हुने गरी सुपथ मूल्यका पसल सञ्चालन गर्नुपर्ने माग गरे । चाडपर्वको समयमा यातायातको व्यवस्था सहज बनाउन पनि उनले सरकारको ध्यानाकर्षण गराए ।
अर्का सांसद् प्रेमभक्त महर्जनले १० लाख भन्दा माथिका योजना टेण्डरमा लैजाने निर्णयप्रति असन्तुष्टि जनाए । उपभोक्त समितिबाट पनि धेरै राम्रा कामहरु हुने गरेको उनले बताए । सांसद् महर्जनले सांस्कृतिक सम्पदाहरुको काम टेण्डरबाट हुँदा मौलिकता गुम्न सक्ने जिकिर गरे । सांस्कृतिक सम्पदा भएको स्थानमा टेण्डरबाट नभई उपभोक्त समितिबाट काम हुनुपर्ने उनले जोड दिए । सांसद् मदुकुमार श्रेष्ठले प्रदेशसभा हल राम्रो भएपनि सिट व्यवस्थापन असहज भएको बताए । सिट बस्न अप्ठ्यारो हुँदा ढाडमा समस्या हुने गरेको भन्दै उनले सचिवालयको ध्यानाकर्षण गराए । सांसद् श्रेष्ठले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतले विगतदेखि विभिन्न संरचना बनाउने प्रयास भएको बताए ।सांसद् यमुनादेवी श्रेष्ठले विपद् व्यवस्थापनमा सरकारले काम गर्न नसकेको बताइन् ।
२०८१ असोज ११ र १२ को बाढीले चन्द्रागिरी नगरपालिकाको वडा नं. २ पहिरोको जोखिममा रहेको विषय उठाउँदा पनि सरकारले ध्यान नदिएको उनले बताइन् । सांसद् बसन्त मानन्धरले प्रदेश सरकारले सबै प्रकारको जमिनको उपयोग गर्दैै श्रम र उत्पादनमार्फत् रोजगारीको सिर्जना गर्नुपर्ने बताए । वर्षात्को समयमा काठमाडौँको वनस्थली क्षेत्रमा हुने डुबानको समस्यालाई यथाशीघ्र समाधान गर्न विपद् व्यवस्थापन कोषबाट बजेटको व्यवस्थापन गर्नुपर्ने उनले बताए ।
सांसद् मानन्धरले भाषा ऐनको प्रभावकारी कार्यान्वयन गर्न आधारभूत तहसम्मको शिक्षा मातृभाषामा अध्ययन गराउने व्यवस्था गर्नुपर्ने बताए । माध्यमिक तहको शिक्षालाई व्यवसायिक र उत्पादनमूलक बनाउन प्रयोगात्मक पद्धतियुक्त पाठ्यक्रम तयारीको लागि सम्बिन्धित निकायलाई निर्देशन दिनुपर्ने उनले बताए । सांसद् कृष्ण सिलवालले प्रदेश सरकारको अहिलेको प्रशासनिक भवन उपयुक्त स्थानमा नै रहेको बताए । हेटौंडाको ऐतिहासिकतालाई नष्ट गर्ने गरी अन्यत्र प्रशासनिक भवन स्थानान्तरण गर्ने कार्य उपयुक्त नरहेको उनको धारणा छ ।
सांसद् शान्ता ढकालले राजनीतिक अस्थिरता र नेतृत्व संकट बागमती प्रदेश सरकारको प्रमुख समस्याको रुपमा रहेको बताए । नेतृत्वको संकट समाधान नगरी प्रदेशको समृद्धि नहुने उनले बताए । सरकारमा नीतिगत विचलन र प्रशासनिक अराजकता देखिएको उनले उल्लेख गरे । मन्त्रालयबीच तालमेलको अभाव, राजनीतिक हस्तक्षेप, विपद् व्यवस्थापनमा ढिलाई हुँदा प्रदेशको अनुभूति गर्न नसकिएको उनले बताए ।
प्रदेशसभा सदस्य धनेश्वरी प्रजापतिले र नुुरज बज्रचार्यले मध्यपुर ठिमी नगरपालिका वडा नं.९ स्थित नीलबराही मन्दिर परिसरमा केही समयदेखि पहिरो जाँदा सास्ती भएको बताएका छन् । पहिरो नियन्त्रणको लागि स्थानीय श्रमदानबाट भएको काम सरकारको टाउकोदुखाई विषय भइरहेको उनीहरुले बताए । सांस्कृतिक सम्पदाको मुल मान्यता अनुसार काम नभएको स्थानीयको गुनासो भएकोले सो अनुसार गर्न सरकारको ध्यानाकर्षण गराए । समिति सदस्य हेरफेर र मनोनयन प्रस्ताव अनुमोदनबागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले विभिन्न समितिमा सदस्य हेरफेर तथा नयाँ मनोनयनको प्रस्ताव प्रस्तुत गर्दै सभाले अनुमोदन गरेको घोषणा गरेका छन् ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख पाठकले कार्यव्यवस्था परामर्श समितिमा रहेका गोविन्द लम्साल, गीता गुरुङ, रामकृष्ण चित्रकार र सविता खड्कीको स्थानमा छिरिङ्दोर्जे लामा, पुकार महर्जन, मिनकृष्ण महर्जन र शान्ता ढकाललाई राख्ने प्रस्ताव गरेका थिए । सभाले प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । त्यस्तै, प्रदेशसभा नियमावली २०७४ को नियम (१५०) बमोजिम प्रदेश मामिला समितिमा बहादुरसिंह लामा, सुरचन्द्र लामिछाने, कुन्दनराज काफ्ले र मदुकुमार श्रेष्ठलाई मनोनयन गरिएको छ ।
सार्वजनिक लेखा समितिमा मिनकृष्ण महर्जन र श्यामकुमार खड्का, शिक्षा स्वास्थ्य तथा कृषि समितिमा हरिप्रभा खड्कीलाई मनोनयन गरिएको छ । यस्तै उद्योग, पर्यटन तथा वातावरण समितिमा बिमलचन्द्र ठकुरीलाई मनोनयन गरिएको छ । यी सबै प्रस्तावलाई प्रदेशसभा बैठकले अनुमोदन गरेको हो । बागमती प्रदेशसभाको अर्काे बैठक सूचना जारी नभएसम्म्को लागि स्थगित भएको छ ।







