हेटौंडामा जनजीवन सामान्य बन्दै

साझाकुरा
२०८२ भाद्र २७, शुक्रबार १२:०२

हेटौंडा–मकवानपुरमा दिउँसो निषेधाज्ञा र राति कफ्र्यू लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म कफ्र्यू जारी हुने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको हस्ताक्षरमा जारी विज्ञप्तिअनुसार बिहान र बेलुकी केही खुकुलो व्यवस्था गरिएको छ । आवश्यक कार्यका लागि बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्र घरबाहिर निस्कन अनुमति दिइने छ । पाँच जनाभन्दा बढी व्यक्ति भेलाहुन निषेध गरिएको छ । अत्यावश्यक सेवा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खानेपानी, बिजुली, दूध, तरकारी तथा अन्य आपूर्ति सेवामा संलग्न सवारीसाधनलाई आवतजावत गर्न दिइनेछ । त्यस्तै, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायत संस्थागत कार्यमा संलग्न कर्मचारीले परिचयपत्र देखाएर कार्यालय आउजाउ गर्न सक्ने व्यवस्था गरिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानका यात्रुले टिकट तथा सम्बन्धित कागजात देखाई आवतजावत गर्न पाउनेछन् । जिल्ला प्रशासन कार्यालयले आदेशको पालना गर्न सबैलाई अनुरोध गर्दै शान्ति, सुरक्षा र जनधनको सुरक्षाका लागि सहकार्य गर्न आह्वान गरेको छ । आदेश उल्लंघन गर्ने गतिविधिलाई कानूनबमोजिम कडाइकासाथ कारबाही गरिने चेतावनी दिइएको छ ।

जनजीवन सामान्य अवस्थामा फर्कदै
हेटौंडामा पछिल्ला दिनमा देखिएको अस्थिर अवस्था क्रमशः सुधार हुँदै गएको छ । आन्दोलनका कारण सृजित तनावपछि नेपाली सेनाले सुरक्षा व्यवस्थाको नेतृत्व लिएसँगै जनजीवन सामान्य अवस्थामा फर्कन थालेको हो । नेपाली सेनाले कफ्र्यूमा केही खुकुलोपन ल्याएको छ । बिहान ६ बजेदेखि १० बजेसम्म अत्यावश्यक कामका लागि नागरिकलाई बाहिर निस्कने अनुमति दिइएको छ । यो अवधिमा बजारमा केही चहलपहल देखिएको छ भने मानिसहरु आवश्यक सामग्री खरिद र अन्य कामका लागि बाहिर निस्किएको देखिन्छ । त्यसपछि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पुनः निषेधाज्ञा जारी गरिएको छ ।

जसअन्तर्गत सुरक्षाको लागि कडा निगरानी अपनाइएको छ । बेलुका ५ देखि ७ बजेसम्म भने निषेधाज्ञा केही खुकुलो पारिने जानकारी दिइएको छ । नेपाली सेनाले सुरक्षाकर्मी, सञ्चारकर्मी, पानी आपूर्ति तथा सरकारी कर्मचारीलाई परिचयपत्रका आधारमा आवतजावतको अनुमति दिएको छ । समग्रमा सेनाको नेतृत्वमा शान्तिसुरक्षा मजबुत बन्दै गएकाले हेटौंडाको जनजीवन पुनः सामान्यतातर्फ उन्मुख भएको देखिन्छ ।

सरकारीदेखि निजीसम्म क्षति
गत साउनमा उद्घाटन गरिएको बागमती प्रदेशसभाको नवनिर्मित भवन सञ्चालनमा आएको एक महिना नबित्दै खरानी भएको छ । १२ करोड रुपैयाँको लागतमा निर्मित संरचना गत भदौ २४ गते जेनजी समूहको आन्दोलनका क्रममा मात्र १२ मिनेटको पूर्णरुपमा ध्वस्त भएको छ । प्रदेशसभाको पुरानो भवनसमेत पूर्णरुपमा जलेको छ । जेनजी समूहको आन्दोलनका क्रममा मकवानपुरका ३० भन्दा बढी सरकारी कार्यालयमा तोडफोड, लुटपाट तथा आगजनी भएको छ । यीमध्ये ४ वटा भवन निर्माण सम्पन्न भएको एकवर्ष समेत पुगेको थिएन । प्रदेशसभा भवन, सहकारी तथा गरिबी निवारण मन्त्रालय रहेको प्रादेशिक थोक बजार, जिल्ला अदालत मकवानपुरको भवन र सञ्चयकोष भवन भर्खरै निर्माण सम्पन्न भएर सञ्चालनमा आएका थिए ।

यस्तै, बागमती प्रदेशका १० वटा मन्त्रालयसमेत पूर्णरुपमा जलाइएको छ । कार्यालयभित्रका महत्वपूर्ण कागजपत्र, फर्निचर र अन्य सामग्री काम लाग्ने अवस्थामा छैनन् । हेटौंडा उपमहानगरपालिकामा फैलिएको आगोको बिहीबारसम्म निस्किरहेको देखिन्थ्यो । उपमहानगरपालिका पूर्णरुपमा जलेर नष्ट भएका छ । यस्तै, आन्दोलनका क्रममा हेटौंडा–१ चौकीटोलस्थित भाटघटेनी सुपरमार्केट, नेकपा एमाले, नेपाली काँग्रेसका पार्टी कार्यालय, एमाले प्रमुखसचेतक महेश वर्तौला, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, संविधानसभा सदस्य अनन्त पौडेललगायतका नेताका निजी निवासमा आगजनी भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*