एमालेबाट मकवानपुर–१ मा राना र २ मा बर्तौला

साझाकुरा
२०८२ माघ ६, सोमबार ११:३८

हेटौंडा-नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । एमाले सचिवालय बैठकले मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्य रामेश्वर राना र क्षेत्र नम्बर२ बाट निवर्तमान सांसद महेशकुमार बर्तौलालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । मकवानपुर–२ बाट उम्मेदवार बनेका बर्तौला यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । पहिलोपटक प्रतिनिधिसभा चुनाव लडेका बर्तौलाले गठबन्धनका साझा उम्मेदवार विरोध खतिवडालाई चार हजार मतान्तरले पराजित गरेका थिए । यसपटक पनि सोही लयलाई निरन्तरता दिने लक्ष्यसहित एमालेले उनलाई पुनः उम्मेदवार बनाएको हो ।

नेकपा एमालेले बागमती प्रदेशका ३३ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये २७ स्थानका उम्मेदवार टुंग्याउँदा ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम तय गर्न सकेको छैन । ती क्षेत्रका उम्मेदवार पार्टी अध्यक्ष केपी ओलीले स्वयं टुंग्याउने भन्दै हाललाई ‘होल्ड’ गरिएको बताइएको छ । एमालेका अनुसार काभ्रे २, काठमाडौं ४, ५, ७, ९ र ललितपुर ३ नम्बर निर्वाचन क्षेत्रका उम्मेदवारको नाम टुंगो लगाउन बाँकी छ । यी क्षेत्रलाई राजनीतिक र रणनीतिकरुपमा संवेदनशील मानिँदै आएको छ ।

काभ्रे २ बाट प्रतिनिधि सभा उम्मेदवारका लागि गोकुल बाँस्कोटाको नाम एकल सिफारिस भएर केन्द्रमा पुगेको छ । पुस २१ गते बसेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय समन्वय कमिटी बैठकले बाँस्कोटालाई एकल उम्मेदवारका रुपमा सिफारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार जिल्ला कमिटीले पनि उनको नाम एकल सिफारिस गरेको एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले बताए । काभ्रे एमालेका प्रभावशाली नेता मानिने बाँस्कोटाले हालै सम्पन्न एमाले महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका थिए ।

तर, उनी पराजित भए । काभ्रे २ को उम्मेदवारीमा उनको नाम एकल सिफारिस भएपनि अन्तिम निर्णय अध्यक्ष ओलीले गर्ने भन्दै हाललाई होल्डमा राखिएको हो । यसैबीच काभ्रे १ बाट भने १० जनाको नाम सिफारिस भएकामा अमित लामालाई टिकट दिइएको छ । यता काठमाडौं ४ मा पनि एमालेले उम्मेदवार टुंग्याउन सकेको छैन । यो क्षेत्रबाट एमाले नेता राजन भट्टराईदेखि उषाकिरण भण्डारीसम्म १३ जनाको नाम सिफारिस गरेको थियो । जिल्ला र क्षेत्रीय कमिटीको सुझावसहित भट्टराईको नाम पहिलो प्राथमिकतामा सिफारिस गरिएको एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलाले बताए ।

भट्टराई ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेदवार बनेका थिए । तर, उनी कांग्रेसका उम्मेदवार गगन थापासँग पराजित भएका थिए । थापाले २१ हजार ३०२ मत ल्याउँदा भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरेका थिए । ०७४ सालको निर्वाचनमा पनि उनी थापासँगै प्रतिस्पर्धा गर्दै पराजित भएका थिए । तेस्रोपटक पनि भट्टराईकै नाम पहिलो नम्बरमा सिफारिस भएपनि अन्तिम निर्णय अझै भएको छैन । काठमाडौं ५ मा एमाले वरिष्ठ नेता ईश्वर पोखरेलको नाम पहिलो नम्बरमा सिफारिस गरिएको छ ।

पोखरेलसहित आठजनाको नाम सिफारिस भएपनि उनी इच्छुक नभए मात्रै अन्य आकांक्षीलाई अवसर दिने सर्तसहित नाम पठाइएको जिल्ला अध्यक्ष निरौलाले बताए । यद्यपि, पोखरेलको नाम पनि अध्यक्ष ओलीले होल्ड गरेका छन् । २०७९ को निर्वाचनमा यही क्षेत्रबाट पोखरेलले कांग्रेसका प्रकाशशरण महतलाई १० हजारभन्दा बढी मतान्तरले पराजित गर्दै जित निकालेका थिए । पोखरेलले २३ हजार २९ मत प्राप्त गर्दा महतले १३ हजार ६९ मत पाएका थिए ।काठमाडौं ७ मा पनि टिकट होल्ड भएको छ ।

यस क्षेत्रबाट बागमती प्रदेशसभा सांसद प्रकाश श्रेष्ठ, रघुजी पन्तलगायत ११ जनाको नाम सिफारिस गरिएको छ । प्रदेश सांसद श्रेष्ठको नाम पहिलो नम्बरमा सिफारिस भएपनि अन्तिम निर्णय हुन सकेको छैन । ०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी भएका थिए । त्यतिवेला एमाले उम्मेदवार श्यामकुमार घिमिरे एक हजार ९४३ मतान्तरलेपराजित भएका थिए । घिमिरेको नाम यसपटक दोस्रो नम्बरमा सिफारिस गरिएको एमाले काठमाडौं अध्यक्ष निरौलाले जानकारी दिए ।

काठमाडौं ९ मा पनि उम्मेदवार टुंगो लागेको छैन । यहाँ एमाले नेता अजयक्रान्ति शाक्य, कृष्णगोपाल श्रेष्ठदेखि बागमती प्रदेशसभा सांसद केशवप्रसाद पोखरेलसम्म सातजनाको नाम सिफारिस गरिएको छ । २०७९ को निर्वाचनमा यस क्षेत्रबाट कृष्णगोपाल श्रेष्ठ विजयी भएका थिए । उनले रास्वपाका टेकबहादुर पोखरेललाई ९९५ मतान्तरले पराजित गरेका थिए । यद्यपि, यसपटक श्रेष्ठको नाम दोस्रो नम्बरमा सिफारिस गरिएको छ । ललितपुर ३ मा पनि एमालेले उम्मेदवार होल्ड गरेको छ ।

जिल्ला अध्यक्ष पुरुषोत्तम ढुंगाना, केन्द्रीय सदस्य डा. टीका ढकाललगायत सातजनाको नाम सिफारिस गरिएको भएपनि अन्तिम निर्णय भएको छैन । २०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट रास्वपाकी तोसिमा कार्की विजयी भएकी थिइन् । एमालेबाट उम्मेदवार बनेका अमृत खड्काले १२ हजार ९६३ मत प्राप्त गर्दै पराजित भएका थिए । यसपटक भने खड्काको नाम सिफारिसमा परेको छैन । एमाले स्रोतका अनुसार यी ६ निर्वाचन क्षेत्रको उम्मेदवारी पार्टी अध्यक्ष ओलीले राजनीतिक समीकरण, जितको सम्भावना र समग्र रणनीतिका आधारमा अन्तिम टुंगो लगाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*