‘शिक्षक नैतिकवान नहुँदा विद्यार्थीमा नैतिकता आउँदैन’

वर्तमान समयमा नैतिक शिक्षाको महत्व बढ्दै : मुख्यमन्त्री बानियाँ
साझाकुरा
२०८२ माघ ६, सोमबार ११:५१

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले वर्तमान समयमा नैतिकशिक्षाको महत्व बढ्दै गएको बताएका छन् ।विगतमा नैतिकशिक्षा अध्यापन हुने गरेको भएपनि अहिले नैतिकशिक्षाको अध्यापन नहुँदा समाज गलत दिशामा गइरहेको उनको धारणा छ । आइतबार हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको स्वर्ण महोत्सव
समारोहमा मुख्यमन्त्री बानियाँले नैतिकशिक्षालाई प्रदेश सरकारले प्राथमिकता दिने बताए । जेनजी आन्दोलनको क्रममा शिक्षकनै भाटभटेनीमा मादकपदार्थ चोर्न गएको देखिएको बताउँदै उनले शिक्षक नैतिकवान नहुँदा विद्यार्थीमा नैतिकता आउन नसक्ने जिकिर गरे ।

राजनीतिज्ञ र शिक्षकप्रति वितृष्णा बढिरहेको वर्तमान सन्र्दभमा नैतिकशिक्षाको महत्व झन बलियो बन्दै गएको उनको भनाई छ । जेनजी आन्दोलनप्रति लक्षित गर्दै मुख्यमन्त्री बानियाँले राजनीतिक परिवर्तनमा भ्रमको खेती हुनेहुँदा शिक्षक र अभिभावकले विद्यार्थीलाई सम्हाल्नुपर्ने बताए । मुख्यमन्त्री बानियाँले हिजोको शिक्षाप्रणालीले नयाँपुस्ताको आवश्यकता पुरा नहुने बताए ।सिद्धार्थ मावि पञ्चायत कालदेखि जेनजी आन्दोलनसम्म भएका राजनीतिक परिवर्तनको साक्षी भएकोले अबको पुस्ताले रोजेको र खोजेको कुरा पुरा गर्ने शैक्षिकप्रणाली विकास गर्नुपर्नेमा उनको जोड छ । मुख्यमन्त्री बानियाँले बेरोजगार उत्पादन गर्ने शिक्षा प्रणालीलाई अन्त्य गर्नुपर्ने बताए । कृषिसँग जोडेर विद्यार्थीलाई गरिखाने बनाउनुपर्ने उनको धारणा छ ।

मुख्यमन्त्री बानियाँले सिद्धार्थ माविले प्राविधिक शिक्षालाई जोड दिनुपर्ने बताए । एआईले समाजमा पैmलाउने भ्रमबारे नयाँपुस्ताले बुझ्नुपर्ने उनले बताए । मुख्यमन्त्री बानियाँले आउँदै गरेको निर्वाचनमा एआईले भ्रम फैलाउन सक्ने भएकोले त्यसतर्फ पनि सचेत रहनुपर्ने उल्लेख गरेका छन् ।मुख्यमन्त्री बानियाँले गणतन्त्र गरिबको व्यवस्था भएकोले पैसाको अभावमा पढ्न नपाउने स्थिति बागमती प्रदेशमा नरहेको दाबी गरे । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको अभिभावकत्वको जिम्मा प्रदेश सरकारले लिने उनले बताए । स्वर्ण महोत्सवको अवसरमा विद्यालय परिसरमा विद्यार्थीले शैक्षिक प्रदर्शनी तथा खाना महोत्सव आयोजना गरेका थिए ।

स्वर्ण महोत्सवको अवसरमा पूर्वशिक्षक, पूर्वकर्मचारी, विशिष्ट स्थानमा पुगेका पूर्वविद्यार्थीलाई सम्मान गरिएको थियो भने पूर्वविद्यार्थीले आर्थिक सहयोग गरेका छन् ।वडाध्यक्ष तथा मूलसमारोह समिति संयोजक विष्णुगोपाल महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्री कन्चनचन्द्र वादे, बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, भारती पाठक, हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँलगायतको आतिथ्यता रहेको थियो । स्वर्ण महोत्सव समारोहको उद्घाटन कार्यक्रम अघि प्रभातफेरीको आयोजना गरिएको थियो ।

वि.सं. २०२७ सालमा ‘सिद्धार्थ प्राइमरी बोर्डिङ स्कुल’ का रुपमा स्थापना भएको यस विद्यालय वि.सं. २०३२ सालदेखि सिद्धार्थ प्राथमिक विद्यालयका रुपमा सञ्चालनमा आएको हो । वि.सं. २०६४ सालमा खुला विद्यालय अन्तर्गत कक्षा १० सञ्चालनको अनुमति पाएको विद्यालयले वि.सं. २०६५ सालमा उच्चमाध्यमिक शिक्षा परिषद्बाट कक्षा ११ र १२ सञ्चालनको स्वीकृति प्राप्त गरेको थियो ।

हाल विद्यालयमा कानून, व्यवस्थापन र शिक्षा समूहमा विहानी सत्रमा पठनपाठन भइरहेको छ । वि.सं. २०७८ सालमा बागमती प्रदेश सरकारबाट ‘बिग स्कुल’ का रुपमा छनोट भएको यस विद्यालयमा इमिस अभिलेखअनुसार हाल २ हजार ३ सय ७१ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयले स्वर्ण जयन्तीपछिको दशकलाई प्रविधिमैत्री शिक्षाको दशककारुपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ । विद्यालयमा हाल सरकारी अनुदानतर्फ ४२ र निजीश्रोतबाट ३५ जना गरी कुल ७७ जना जनशक्ति छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*