दुई खेलाडी र एकजना प्रशिक्षक सम्मानित
 हेटौंडा-हेटौंडामा खेलकुद क्षेत्रका २ खेलाडी र १ प्रशिक्षकलाई सम्मान गरिएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समिति र मकवानपुर फुटबल संघ (एन्फा) को संयुक्त आयोजनामा गरिएको कार्यक्रममा खेलकुद क्षेत्रका प्रतिभाशाली व्यक्तित्वलाई सम्मानपत्र, दोसल्ला र खादा ओढाएर सम्मान गरिएको हो ।अजरबैजानको बाकु शहरमा सम्पन्न अन्तर्राष्ट्रिय बुडो मार्शल आर्ट च्याम्पियनसीप २०२५ मा उत्कृष्ट प्रदर्शन गरी स्वर्णपदक प्राप्त गर्न सफल खेलाडी सुदर्शन खतिवडालाई सम्मान गरिएको हो ।
मनहरी गाउँपालिका–३ घरभई स्पेनमा रहेर अन्तर्राष्ट्रिय कराते प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका अशोक लामा र स्पेनकै सिडी अन्तर्राष्ट्रिय क्लबमा आवद्ध रही फुटबल खेल्दै आएका अशोकका छोरा आमेथ लामारुम्बालाई सम्मान गरिएको छ । तीनै जनालाई दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको हो ।मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानको सभाध्यक्षतामा भएको सम्मान कार्यक्रममा पूर्वसामाजिक विकास मन्त्री तथा नेकपा माओवादी केन्द्रको पेल्टिव्यूरो सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष तथा एन्फा केन्द्रीय समिति सदस्य टीकाराम लामाको पनि उपस्थिति रहेको थियो ।







