फुटबल खेल्न पाउनुपर्ने माग राख्दै खेलाडीले एन्फामा पदक छाडे

साझाकुरा
२०८२ कार्तिक २२, शुक्रबार १५:४३

हेटौंडा- फुटबल खेल्न पाउनुपर्ने माग राख्दै आन्दोलनरत नेपाली फुटबलरले अखिल नेपाल फुटबल संघ (एन्फा) मा आफ्ना पदक छाडेका छन् । खेलाडीलाई फुटबल खेल्नबाट वञ्चित गर्न नहुने माग सहित बिहीवार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा पुगेका थिए । तर, एन्फा कम्प्लेक्समा प्रवेश गर्न नपाए पछि उनीहरुले विरोधस्वरुप आफूले पाएका पदक गेटमा झुन्डाएर धर्ना गरेका थिए । धर्ना कार्यक्रम घोषणा भएपछि बिहानैदेखि एन्फा परिषरमा सुरक्षा वेवस्था कडा पारिएको थियो । खेलाडीको आन्दोलनमा विभिन्नसरोकारपक्षले पनि साथ दिइरहेको छ । एन्फा र १४ वटा शीर्ष डिभिजनका क्लबबीच यसै हप्ता भएको छलफलबाट यसवर्ष ए डिभिजन लिग नगर्ने सहमति भएको थियो ।

नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य विक्रम लामाले साढे दुई वर्षदेखि नेपालमा शिर्ष डिभिजनको फुटबल हुन नसकेको र यसले खेलाडी वञ्चित हुनुपरेको बताएका छन् । यसको विरोधस्वरुप गरिएको शान्तिपूर्ण धर्नामा एन्फाले गेटभित्र छिर्नबाट रोक लगाएको उनले बताए । एन्फाले आफूहरुलाई मैदान नै छिर्न नदिएको अवस्थामा अहिले गेटभित्र प्रवेशमा पनि रोक लगाएको पूर्वफुटबलर लामाले आरोप लगाएका छन् । फुटबल गतिविध नै नहुनु भनेको ठूलो बेथिति बनिरहेको खेलाडीको भनाइ छ ।

नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य लामाले २०÷२२ वर्ष घरेलु फुटबलमा बिताउँदा ९ वटा मात्र शीर्ष डिभिजन लिग खेल्न पाएको बताएका छन् । यसबीच उनले आफूले राम्रो गर्न सक्ने समयमा १०÷११ वटा सिजनका लिग गुमाउनु परेको उल्लेख गरेका छन् । अहिले २÷३ वर्षयता पनि लिग नहुँदा धेरै खेलाडीले यही अवस्था भोग्नु परेको उनले बताएका छन् । एन्फाले आफूहरुको माग नसुने आन्दोलनको रुप बढ्दै जाने र त्यसमा शान्तिपूर्ण नै हुने प्रतिबद्धता खेलाडीले व्यक्त गरेका छन् ।

आगामी पुस्ताले फुटबल खेल्ने राम्रो वातावरण पाउने आशासहित यो आन्दोलन गरेको फुटबलर लामाले स्पष्ट पारे । अहिले राष्ट्रिय लिग गर्ने र ‘ए’ डिभजिन लिग अर्को वर्ष मात्रै हुने भएपछि फुटबलर विरोधमा उत्रिएका हुन् । एन्फा लिगबाट भाग्न खोजेको र लिग हुनैपर्ने उनीहरुको माग छ । आन्दोलनमा जेनजी युवा, तथा पूर्वखेलाडी र प्रशिक्षकले पनि ऐक्यवद्धता जनाएका छन् । नेपाली राष्ट्रिय टोलीका सदस्य अञ्जन विष्टले लिग नहुँदा आफ्नै दाइ लगायत धेरै खेलाडी पलायन हुनुपरेको बताएका छन् ।

बिहीबारदेखि राष्ट्रिय टोलीको क्याम्प रहेको र आफूले पनि लिग नहुँदा पछिल्लो दुईवर्ष धेरै दुःख भोगेको उल्लेख गरे । यद्यपि बंगलादेशमा लिग खेलिरहेकाले आफूलाई गाह्रो नभए पनि अन्य साथीको पीडा आफूले बुझेको उनको भनाइ छ । मुख्य लिग नै नहुनु धेरै पीडादायी स्थिति रहेको र यसलाई एन्फाले पनि बुझ्नेछ भन्ने आशामा आफू रहेको अञ्जनले धारणा राखेका छन् । राष्ट्रिय टोलीका सदस्य रोहित चन्द र गोलकिपर विशाल श्रेष्ठले फुटबल गतिविधि राम्रोसँग अगाडि बढाउँदै आगामी पुस्ताका लागि सहज वातावरण सिर्जना गर्नुपर्ने धारणा राखेका छन् । विशालले आफ्नो लागि आपैmँ बोल्नुपर्छ भनेर एन्फाको गेटसम्म आएको बताए । १६ वर्षसम्म आफूले घरेलु फुटबलमा बिताउँदा ७÷८ वटा मात्र शीर्ष डिभिजन लिग खेल्न पाएको भन्दै गोलकिपर श्रेष्ठले पीडा पोखे ।

खेलाडी आन्दोल गर्न पुग्दा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई फुटबलको प्रतियोगिताका लागि काठमाडौं बाहिर गएका छन् । सोमबार बसेको एन्फा र क्लबबीचको बैठकबाट यो वर्ष शीर्ष डिभिजको सट्टा राष्ट्रिय लिग गर्ने सहमती जुटेको थियो । यससँगै खेलाडी विरोध गर्दै सडकमा उत्रिएका हुन् । पछिल्लो पटक २०७९ सालमा शिर्ष डिभिजन लिग भएको थियो । एन्फाभित्र आन्तरिक राजनीतिका कारण त्यसयता लिग हुन सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*