लोकदोहोरी गीत प्रतिष्ठान मकवानपुरमा बजगाईको नेतृत्व
हेटौंडा-राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति मकवानपुरको अध्यक्षमा चन्द्र बर्जगाई निर्विरोध चयन भएका छन् ।प्रतिष्ठानको २२ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले बजगाईको नेतृत्वमा २५ सदस्यी नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा निरु खड्का, द्वितीय उपाध्यक्षमा बेलबहादुर लो, महिला उपाध्यक्षमा निशा लामा, सचिवमा राजेश मग्राती, सहसचिवमा कुमार महत, कोषाध्यक्षमा उमेश न्यौपाने र सहकोषाध्यक्ष प्रमिला आलेमगर र प्रवक्तामा शरु कार्की रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा रमा गुरुङ, श्रीराम थापामगर, जनकबहादुर राइ, तिलक बगाले, नरेन्द्र मोक्तान, मानबहादुर लो, अमृत बर्तौला, दुर्गाबहादुर स्याङ्तान, राममाया नेपाली, प्रतीक्षा लामिछाने, प्रतीक्षा ढकाल, उमा घिमिरे, बिना श्रेष्ठ, अम्बिका चौलागाईं, प्रलाद दर्जी, दीपक तितुङ रहेका छन् । कार्यक्रममा केन्द्रीय प्रशासनिक उपाध्यक्ष तथा बागमती प्रदेश÷ मकवानपुर जिल्ला अधिवेशन संयोजक दीपक खड्काले नयाँ कार्यसमिति सदस्यलाई सपथग्रहण गराउँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे ।
हेटौंडा उपमहानगरप्रमुख मीना लामाको प्रमुखआतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाको भवन निर्माणमा नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले भनिन्, ‘लोकसंस्कृति हाम्रो गौरव हो, यसलाई जोगाउन र विस्तार गर्न सबैको एकजुट प्रयास आवश्यक छ । नगरपालिकाको साथ सधैं रहनेछ ।’ निवर्तमान अध्यक्ष रबिन्द्र थिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वकेन्द्रीय उपाध्यक्ष तथा सल्लाहकार ऋषिलाल श्रेष्ठ, संस्थापक अध्यक्ष दिनेश काफ्ले, केन्द्रीय सदस्य क्षेत्रबहादुर थिङ, प्रदेश कोषाध्यक्ष रामशरण लामिछाने लगायत विशिष्ट व्यक्तित्वको आतिथ्यता रहेको थियो ।
अधिवेशनमा मकवानपुरका विभिन्न लोक तथा दोहोरीगीतप्रेमी, संगीतक्षेत्रका अगुवा र प्रतिनिधिको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमले लोकपरम्परा, संस्कृतिको संरक्षण र युवापुस्तामा मौलिक संगीतप्रतिको रुचि बढाउने सन्देश दिएको सहभागीले बताएका छन् ।







