राष्ट्रियस्तरको एघारौं स्क्रायबल प्रतियोगिता हेटौंडामा
हेटौंडा- हेटौंडामा राष्ट्रियस्तरको स्क्रायबल प्रतियोगिता हुने भएको छ । हेटौंडा–२ स्थित बालजागृति इङ्लिस बोर्डिङ स्कुलको आयोजना तथा स्क्रायबल क्लब अफ नेपालको संयोजनमा आगामी मंसिर १९ र २० गते प्रतियोगिता आयोजना गर्न लागिएको विहिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।एघारौं संस्करणका रुपमा शुक्रबार र शनिबार दुईदिनसम्म चल्ने प्रतियोगितामा मकवानपुर, चितवन, काठमाडौं, भक्तपुर, गोरखा, स्याङ्जा, रुपन्देही, गुल्मी, सुर्खेत, सुनसरी, बारा, अर्घाखाँची, कैलालीलगायतका ३३ जिल्लाबाट १ सय विद्यार्थीले सहभागिता जनाउने भएका छन् । बालजागृतिका प्रिन्सिपल विनोद सुवेदीले विद्यार्थीमा शाब्दिक ज्ञानको अलावा समस्या समाधान, सीप जोखिम वहन तथा व्यवस्थापन गर्ने र कण्ठ गर्ने जस्ता सीपको विकास गराउने उद्देश्यले यो प्रतियोगिताको आयोजना गर्न लागेको बताए ।
यसअघि बिभिन्न जिल्लामा भएका जिल्लास्तरीय स्क्राबल प्रतियोगितामा उत्कृष्ट स्थान हाँसिल गरेका विद्यार्थीले राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुन लागेका हुन् । स्क्राबल खेलमा सहभागी हुने विद्यार्थीले व्यवहारिक जीवन र शैक्षिक नतिजामा उत्कृष्ट स्थान ओगट्न सफल भएको सुबेदीले बताए । विद्यालयले यस खेललाई प्राथमिकतामा राखी विद्यार्थीलाई जीवनका व्यवहारिक शिक्षा सिक्न उत्तेजित बनाउन र बौद्धिक क्षमताको अभिवृद्धि गर्न तत्पर रहने उनले बताए । स्क्राबल क्लबका अध्यक्ष केशवप्रसाद पराजुलीले सिकाइले मात्र सर्वा·ीण विकास सम्भव नहुने भएकाले स्वयंसेवी भावनाका साथ स्क्रायबल खेललाई अगाडि बढाइएको बताए । हरेक अभिभावकले यस खेलको महत्वलाई आत्मसात्गरी विद्यार्थीलाई यस खेलमा सहभागी हुन उत्प्रेरित गर्नुपर्ने उनको भनाई छ ।
नेपालको ५० भन्दा बढी जिल्लामा यो खेलसँग परिचित भइसकेको र २९ जिल्लामा खेलको संयोजक रहेको उनले बताए । प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १३ हजार र तृतीय हुनेलाई ११ हजार पुरस्कार राशीको व्यवस्था रहेको छ । चौथो, पाचौं, छैटौं र सातौंलाई क्रमशः ९ हजार, ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कारको व्यवस्था रहेको छ । आठौं, नवौं, दशौ हुनेलाइ ३ हजार नगद पुरस्कारको व्यवस्था रहेको छ भने, एघारौंदेखि पच्चीसौं हुनेलाइ २ हजार नगद पुरस्कार प्रदान गरिने जनाइएको छ ।
खेलबाट छनोट हुने उत्कृष्ट २५ जनाले अन्तर्राष्ट्रियस्तरको खेलमा सहभागिता जनाउने पाउने भएको छ । खेल सम्पन्न गर्न १३ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको आयोजक विद्यालय बालजागृतिले जनाएको छ । विद्यालय संचालक समितिका अध्यक्ष दिनेश भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तिमल्सिना, विद्यालयका संचालक प्रेम हमाल, मोशन न्यौपाने, भानुभक्त आचार्य, विद्यालयका सहायक प्रिन्सिपल अमुल श्रेष्ठ, स्क्राबल क्लब मकवानपुरका संयोजक बिवशजंग थापालगायतको सहभागिता रहेको थियो ।







