माघ २८ गतेदेखि हेटौंडामा दोस्रो वृहत् खेलकुद महोत्सव हुने

साझाकुरा
२०८२ माघ ४, शनिबार १३:०३

हेटौंडा-जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजनामा दोस्रो वृहत् खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सव आयोजना हुने भएको छ । महोत्सव आगामी माघ २८ गतेदेखि फागुन १२ गतेसम्म सञ्चालन हुने जानकारी शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत गराइएको हो । हेटौंडा–१० स्थित टीसीएनचौरमा आयोजना हुने महोत्सवमा ६ विधाका खेलकुद प्रतियोगिता समावेश गरिने आयोजकले जनाएको छ । प्रतियोगिताअन्तर्गत राष्ट्रिय महिला भलिबल, जिल्लास्तरीय पुरुष भलिबल, तेक्वान्दो, जिल्लास्तरीय ब्याडमिन्टन, जिल्लास्तरीय कराँते तथा २२ किलोमिटर दौड प्रतियोगिता सञ्चालन हुने खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिएका छन् ।

राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजेताले ४ लाख रुपैयाँ, उपविजेताले २ लाख रुपैयाँ तथा सान्त्वना टिमले जनही ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले १ लाख रुपैयाँ, दोस्रो हुनेले ५० हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्नेले १०÷१० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सान्त्वना स्थान हासिल गर्नेले ५÷५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

जिल्लास्तरीय कराँते तथा २२ किलोमिटर दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । महोत्सवको अवसरमा खेलकुद क्षेत्रमा उत्कृष्ट योगदान दिएका १० जना खेलाडीलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिने अध्यक्ष मोक्तानले जानकारी दिए । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति, साथै जनजातीय समुदायको सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ । साथै कृषि, पर्यटन, हस्तकला प्रदर्शनी तथा बालउद्यान समेत महोत्सवमा समावेश गरिने आयोजकले जनाएको छ ।

हेटौंडाको २५ गज सडक विस्तारबाट प्रभावित व्यवसायीलाई ५० प्रतिशत छुटमा स्टल उपलब्ध गराइने बताइएको छ । महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्ने कार्यक्रम रहेको छ भने समापन समारोह हेटौंडा उपमहानगरपालिका प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा हुने जनाइएको छ । कार्यक्रममा खेलकुद विकास समितिका पूर्वअध्यक्षहरु माधव तिमल्सिना, भेष खड्गी, सानु लामा, तेक्वान्दो सघंका अध्यक्ष लालकाजीरत्न बज्राचार्य, समितिका पूर्वसदस्यसचिव माधव कोइराला लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*