१८ जनामा मोतिबिन्दु देखियो
हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिकास्थित हाँडीखोलामा बुधबार निःशुल्क आँखा शिविर भएको छ । २१० जनाको आँखाजाँच गर्दा १८ जनामा मोतिबिन्दु फेला परेको छ । रोटरी क्लव अफ काठमाडौं मिडटाउन र हेटौंडा सामुदायिक आँखा अस्पतालको आयोजनामा भएको कार्यक्रममा स्थानीय आयोजकको रुपमा मनहरी गाउँपालिका ३ नम्बर वडा कार्यालय र चैनपुर जेसीज मनहरी रहेको थियो । मनहरी गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा स्थानीयको सक्रिय सहभागिता रहेको थियो । मोतिबिन्दुका बिरामीलाई यही शुक्रबार हेटौंडास्थित सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने आयोजकले जानकारी दिएको छ ।
शिविरमा मोतिबिन्दुसँगै चस्मा लगाउनुपर्ने, दृष्टिदोष लगायत समस्या बेसी देखापरेको चिकित्सकहरुले जानकारी दिएका छन् । शिविरमा हेटौंडा सामुदायिक आँखा अस्पतालका ४ जना चिकित्सकको टोलीले आँखाजाँच गरेका थिए । स्थानीय आयोजक मनहरी–३ का वडाअध्यक्ष अनन्तप्रकाश अर्यालले रोटरी र जेसीजसँगको समन्वयमा आफ्नो वडामा आँखा शिविर सन्चालन गर्न पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा चैनपुर जेसीज मनहरीका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, निवर्तमान अध्यक्ष रविन ढकाल, २०२५ का अध्यक्ष कृष्णप्रसाद ढकाल, २०२६ का अध्यक्ष सुरेश गौतम लगायतको उपस्थिति थियो ।







