४ हजार ४ सय ३ जना किशोरीलाई एचपीभी खोप लगाइने
हेटौंडा-यही माघ २५ गतेदेखि फागुन २२ गतेसम्म पाठेघरको मुखको क्यान्सरबिरुद्धको एचपीभी (सिकोलिन) खोप सेवा सुरुहुने भएको छ ।सोमबार हेटौंडामा सञ्चारकर्मी तथा सरोकारवालासँग अन्तरक्रिया गर्दै जनस्वास्थ्य कार्यालय मकवानपुरले खोप कार्यक्रमबारे जानकारी दिएको हो । नेपाल सरकारको पाठेघरको मुखको क्यान्सरबिरुद्ध किशोरीलाई एचपीभी खोपसेवा दिने कार्यक्रम अनुसार कार्यक्रम गर्न लागिएको जनाइएको छ । माघ २५ देखि फागुन २२ सम्म सञ्चालन हुने खोप कार्यक्रममा जिल्लाका ४ हजार ४ सय ३ जना किशोरीलाई खोप लगाइने भएको छ ।
यसवर्षको लक्ष्यित समूहमा जिल्लाभरका विद्यालयमा कक्षा ६ मा अध्ययनरत ४ हजार २ सय ३० जना र विद्यालय नजाने १० वर्ष उमेरका १ सय ६ जना बालिका तथा अघिल्लो वर्षमा खोप लगाउन छुटेका ११ वर्षदेखि १४ वर्ष उमेर समूहका ५७ जना जनालाई एचपीभी खोप लगाइने निमित्त कार्यालय प्रमुख लक्ष्मण घिमिरेले जानकारी दिएका छन् ।
माघ २५ देखि २९ गतेसम्म जिल्लाका विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिकालाइ खोपसेवा दिने र त्यसपछि फागुन २२ गतेसम्म पालिकामार्फत विद्यालय नजाने १० वर्षका बालिकालाई खोप दिइने कार्यक्रम तोकिएको छ । यौनकार्यमा सक्रिय हुनुपूर्वकै उमेरमा यो खोप लगाइ महिलालाई पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउने उद्देश्यले यो खोप लगाइने गरेको यसअघि नै नेपाल सरकारले जनाएको छ । नेपालमा हरेकवर्ष २ हजार १ सय ६९ जनालाईपाठेघरको मुखको क्यान्सर हुने गरेकोमा तिमध्ये १ हजार ३ हजार १३ जनाको मृत्यु नै हुने अनुमान रहेको जानकारी दिदै क्यान्सरकै कारण मृत्यु हुनेमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो कारण रहेको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।
ह्युमन प्यापिलोमा भाइरस नामक यो भाइरस महिलाको पाठेघरमा करिब २० वर्षसम्म रहँदा यसले क्यान्सर हुने जनाइएको छ । तत्कालीनरुपमा खोप लगाउदा दुख्ने, छाला रातो देखिने, रिङगटा लाग्ने लगायत समस्या कसैकसैलाई देखिएपनि यसबाट केही पनि हानी नहुने स्वास्थ्यकर्मीको भनाइ छ । पछिल्लो समय बिश्वभर अत्याधिक समस्याको रुपमा रहेको पाठेघरको मुखको क्यान्सर नेपालमा बढ्दै गएपछि नेपाल सरकारले पहिलोपटक २०७६÷७७ मा खोप कार्यक्रम सञ्चालन सुरु गरेको थियो ।
त्यसपछि आर्थिक वर्ष २०७९÷८० र तेस्रोपटक आर्थिक वर्ष २०८१÷८२ मा अभियानको रुपमा एचपीभी खोप कार्यक्रम सञ्चालन भएकोमा यस बर्षबाट भने यो खोप कार्यक्रम प्रत्येक वर्ष नियमित रुपले सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । खोप कार्यक्रमसँगै प्रत्येक वर्ष पाठेघर परीक्षण (स्क्रिनिङ) कार्यक्रम पनि जिल्लाका प्रत्येक पालिकामा सञ्चालन गर्दै आएको कार्यक्रममा जनाइएको छ । अन्र्तक्रिया कार्यक्रममा डा. तारा बानियाँ, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रयि उपाध्यक्ष बासु खतिवडालगायत सञ्चारकर्मीको सहभागिता थियो ।







