सिमेन्ट उद्योग स्थानान्तरणको एजेण्डा ल्याउन दललाई स्थानीयको माग

साझाकुरा
२०८२ माघ २१, मंगलवार १०:५९

हेटौंडा- बागमती प्रदेशको राजधानी हेटौंडामा करिव सात किलोमिटरको दुरीमा तीनवटा सिमेन्ट उद्योग रहेका छन् । हेटौडा सिमेन्ट उद्योग, शिवम् सिमेन्ट र रिद्धिसिद्धि सिमेन्ट संचालनमा छन् । एउटै सहरमा तीनवटा ठूला सिमेन्ट उद्योगका कारण हेटौंडामा बाक्लो धुलोका कणले नसर्ने दीर्घरोगको प्रकोप फैलिने क्रम ह्वात्तै बढेको छ । तीनवटा सिमेन्ट उद्योगले गरेको प्रदुषणले उकुसमुकुस बनेका स्थानीयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा तीनवटा सिमेन्ट उद्योग अन्यत्र स्थानान्तरण गरेर सफा हेटौंडाको एजेण्डा लिएर आउन आग्रह गरिरहेका छन् ।

सबैभन्दा धेरै प्रदुषण दुई निजी सिमेन्ट उद्योगले गर्दै आएका छन् । शिवम् सिमेन्टले हेटौंडा चौघडादेखि पूर्व चुच्चेखोला, हटिया, हर्नामाडीसम्म धुलोको कण फैलाएर प्रदुषण गरिरहेको छ । त्यस्तै रिद्धिसिद्धि सिमेन्टले हेटौंडा बजार पुरै धुलोमा डुबाउँदै आएको छ । बाहिरबाट हेर्दा खासै नदेखिने धुलोको कण विहानको समयमा मर्निङ वाक गर्न समेत जोखिम थपेको छ । सडक भन्दा परका सबैजसो घरमा विहान उठ्दा एकदमै मसिनो धुलो फैलिएर समस्या आउने गरेको हेटौंडा–८ कमानेका मतदाताको भनाई छ । अझ शिवम् सिमेन्टले फैलाएको धुलोका कारण चुच्चेखेला, दियावादी, हटिया क्षेत्रका साग, लसुन र अन्य तरकारी खानै नहुने गरी धुलोले छोप्ने समस्या छ ।

आउँदो निर्वाचनमा हेटौंडाको प्रदुषण घटाउन तीनवटा सिमेन्ट उद्योग अन्यत्र स्थानान्तरण गर्ने एजेण्डा बनाउने विषयमा मकवानपुर क्षेत्र नं १ का उम्मेदवारहरु त्यति परिपक्व देखिएका छैनन् । जनताको स्वास्थ्य भन्दा पनि कम्पनीबाट आउने मासिक आम्दानी, चुनाव खर्चपानी कारण कांग्रेस, एमाले, माओवादी र राप्रपाका उम्मेदवार यस विषयमा मौन रहँदै आएको आरोप स्थानीयको छ । नयाँ राजनीतिक परिचय बनाएको भनिएको रास्वपाले समेत यो विषय गम्भिररुपमा बुझ्न नसक्दा जनताले भने सिमेन्ट उद्योगले पारेको असरबारे पनि बोल्न र चुनावी एजेण्डा बनाउन खवरदारी गरिरहेका छन् ।

नेपाली कांग्रेस र एमालेका नेतालाई पनि हटियाका जनताले शिवम् सिमेन्ट अन्यत्र स्थानान्तरण गर्ने विषयलाई चुनावी एजेण्डा बनाउन सचेत गराएका छन् । त्यस्तै, रास्वपालाई पनि शिवम् सिमेन्ट र रिद्धिसिद्धि सिमेन्टको प्रदुषणको एजेण्डा बनाउन हेटौंडाका प्रदुषण पीडितले माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*