मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सामाजिक परीक्षण सम्पन्न

साझाकुरा
२०८२ माघ १४, मंगलवार १२:४७

हेटौंडा-मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको आर्थिक वर्ष २०८१÷८२ को सामाजिक परीक्षण सम्पन्न भएको छ ।सुशासन, पारदर्शीता र जवाफदेहिता कायम गर्न अस्पतालको सामाजिक परीक्षण गरिएको हो । कार्यक्रममा उपस्थित सेवाग्राहीले अस्पतालमा विद्यमान समस्याबारे आफ्नो धारणा राखेका थिए । अस्पतालमा जनशक्ति थप गर्नुपर्ने, विरामी कुरुवाघर थप्नुपर्ने, फार्मेसीमा हुने भीडलाई व्यवस्थित गर्नुपर्ने विषयमा उनीहरुले अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका थिए । त्यसैगरी अस्पतालको क्यान्टिनलाई विस्तार गर्नुपर्ने, डायलाइसिस मेसिन थप गर्नुपर्ने, आइसीयुलाई व्यवस्थित गर्नुपर्ने सेवाग्राहीको माग छ ।

सेवाग्राहीबाट प्राप्त गुनासोलाई प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटा, रजिष्ट्रार भीमसागर गुरागाईले सम्बोधन गरेका थिए । आगामी दिन अस्पतालमा देखिएका समस्यालाई सुधार गरेर लैजाने उनीहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा हेटौंडा–५ स्थित बागमती रिसर्च इनोभेटिभ कन्सल्टेन्सीका सञ्चालक डा. लिलानाथ ढुंगेलले अस्पतालको अवलोकन निरीक्षण गरी सामाजिक परीक्षण प्रतिवेदन समेत सार्वजनिक गरेका थिए । कार्यक्रममा ६० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*