बालविवाह अन्त्यबारे स्थानीय तहबीच अन्तरक्रिया
हेटौंडा- दिगो विकासको लक्ष्यद्वारा निर्देशित सन् २०३० को अन्त्यसम्ममा नेपालबाट बालविवाह अन्त्य गर्ने उद्देश्यले मकवानपुरका स्थानीय तहले बालबिबाहको अवस्थाबारे अन्तरक्रिया गरेका छन् । भ्वाइस अफ चिल्ड्रेन ललितपुर र जस्ट राइट्स फर चिल्ड्रेनको सहयोग तथा जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा जिल्लास्तरीय अन्तरक्रिया भएको हो । नेपाल सरकारको सन् २०३० सम्म ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना २०८२’ कार्यान्वयनमा स्थानीय तहको भूमिका र आगामी कार्ययोजना विषयक मकवानपुर जिल्लास्तरीय अन्तरक्रियामा मकवानपुरका १० वटै स्थानीय तहले एकैस्थानमा छलफल गरेका छन् । उनीहरुले जिल्लामा बालविवाहको स्थिति र यसको समाधानका लागि भविष्यका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना, २०८२ र विद्यालयमा बालसंरक्षण मापदण्ड लगायत विषयमा सहजीकरणगरेका थिए । बालमैत्री स्थानीय तहको सुरुवात नेपालमै मकवानपुरको मनहरीबाट भएको भएपनि मनहरी गाँउपालिकामै पनि बालविवाहका घटना भइरहेकोले वास्तविक नतिजा आउन धेरै मेहनत गर्न बाँकीरहेको जनाइएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भ्वाइस अफ चिल्ड्रेनका उपनिर्देशक राजु घिमिरे, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता देवेन्द्रराज आचार्य, बालसुधारगृह हेटौंडाका प्रमुख प्रदीप अधिकारी, राष्ट्रिय बाल अधिकार परिषद्का सूचनाअधिकारी रामबहादुर चन्दलगायत स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीको सहभागिता थियो ।







