बानियाँमाथि गरिएको छानबिनप्रति ध्यानाकर्षण
हेटौंडा- नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको निवास र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको छानबीनप्रति कांग्रेसको प्रतिनिधिसभा क्षेत्र नं.२ ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।क्षेत्र नं. २ कार्यसमितिले प्रेस विज्ञप्ति जारी गर्दै यो घटनालाई संवेदनशील विषयकारुपमा लिँदै अनुसन्धान प्रक्रिया विधिसम्मत, पारदर्शी र निष्पक्षढंगबाट हुनुपर्नेमा जोड दिइएको छ । क्षेत्र नं. का सभापति लोकबहादुर मुक्तानद्वारा हस्ताक्षरित विज्ञप्तिमा कुनैपनि व्यक्तिमाथि गरिने अनुसन्धान लोकतान्त्रिक शासनप्रणालीको आधारभूत मूल्य र मान्यताअनुरुप हुनुपर्ने उल्लेख गरिएको छ ।
‘त्यसक्रममा सम्बन्धित पक्षलाई आवश्यक जानकारी उपलब्ध गराउनुका साथै उनीहरुको मौलिक अधिकारको पूर्णसम्मान गरिनुपर्ने छ’ विज्ञप्तिमा भनिएको छ, ‘अनुसन्धानका क्रममा अपनाइने प्रक्रिया र व्यवहारले न्यायिक विश्वसनीयता कायमराख्नुपर्ने’ धारणा पनि कांग्रेसले व्यक्त गरेको छ । लामो समयदेखि सुशासन, भ्रष्टाचारमुक्त समाज, पारदर्शिता तथा लोकतान्त्रिक मूल्यमान्यताप्रति प्रतिबद्ध रहँदै आएको उल्लेख गर्दै यस्ता गतिविधिले आमनागरिकमा अन्योल र चिन्ता सिर्जना गर्न सक्ने विज्ञप्तिमा औंल्याएको छ । सम्बन्धित निकायले घटनाबारे स्पष्ट र आधिकारिक जानकारी सार्वजनिक गर्दै जनविश्वास कायम राख्नुपर्नेमा जोड दिइएको छ । पार्टीले राज्यका निकायलाई विधिको शासन, पारदर्शिता र उत्तरदायित्वका सिद्दान्त आत्मसात गर्दै कार्यसम्पादन गर्न आग्रह गरेको छ ।
भविष्यमा यस्ता संवेदनशील विषयमा थप उच्चसतर्कता अपनाउन र जिम्मेवार ढंगले अघि बढ्न पनि सम्बन्धित पक्षलाई सचेत गराइएको छ । लोकतन्त्र, मानवअधिकार र विधिको शासनको संरक्षणमा सबै पक्ष सजग रहनुपर्ने आवश्यकता औंल्याउँदै अनुसन्धानका नाममा कुनैपनि प्रकारको पूर्वाग्रह वा दवाव सिर्जना हुन नहुने स्पष्ट धारणाराखेको छ ।







