सीमान्तकृतलक्षित शिक्षा विकास कार्यक्रमको सामाजिक परीक्षण

साझाकुरा
२०८३ बैशाख २५, शुक्रबार ११:३५

हेटौंडा- मकवानपुरको राक्सिराङ गाउँपालिकामा सीमान्तकृत तथा चेपाङ समुदाय लक्षित शिक्षा तथा नेतृत्व विकास कार्यक्रमअन्तर्गत सामाजिक लेखापरीक्षण सम्पन्न भएको छ । हिमराइट्समकवानपुरको आयोजना, गाउँपालिकाको समन्वय तथा कोर इन्टरनेशनलको सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रममा हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाइबाले संस्थाले शिक्षाबाट वञ्चित समुदायलाई लक्षित गरी विभिन्न सहयोग गर्दै आएको बताइन् । उनले विशेषगरी सीमान्तकृत बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्न कार्यक्रम प्रभावकारी बनेको उल्लेख गरिन् । प्रजाजागृति माध्यमिक विद्यालयकी प्रधानाध्यापक शर्मिला पौडेलले ५४ जना विद्यार्थी माथि गरिएको सहयोग महत्वपूर्णरहेको बताउँदै सहयोगी संस्थाप्रति आभार व्यक्त गरिन् ।

उनले सामाजिक लेखा परीक्षणबाट परियोजनामा ठूलो लगानी र प्रभाव रहेको स्पष्ट भएको भन्दै अभिभावक, शिक्षक तथा विद्यार्थीले यसको सही सदुपयोग गर्नुपर्नेमा जोड दिइन् । अभिभावक रबिनकुमार चेपाङले संस्थाबाट प्राप्त कुखुरापालन सहयोगले परिवारको जीविकोपार्जन सहज भएको र बालबालिकाको पढाइमा सहयोग पुगेको बताए । यस्तै कक्षा ९ मा अध्ययनरत एक विद्यार्थीले कक्षा ४ देखि प्राप्त सहयोगले आर्थिक बोझ कमभई अध्ययनलाई निरन्तरता दिन सहज भएको अनुभव सुनाए ।

हिमराइट्सका अनुसन्धानकर्ता सुशील श्रेष्ठले आर्थिक वर्ष २०८२÷८३ को सार्वजनिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै राक्सिराङ–३ र राक्सिराङ–५ का ५२ परिवारलाई आयआर्जन कार्यक्रम मार्फत सहयोग गरिएको जानकारी दिए । उनकाअनुसार ५२ परिवारलाई खाद्यान्न सहयोग, २५ बालबालिकालाई शैक्षिक सहयोग तथा ५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री र छात्रवृत्ति प्रदान गरिएको छ । कार्यक्रमअन्तर्गत छात्रवृत्ति, ट्युसन कक्षा सञ्चालन, शैक्षिक सामग्री वितरण, बाख्रा तथा कुखुरापालन, अदुवा र बेसारखेती, खाद्यान्न तथा मौसमी कपडा वितरणजस्ता गतिविधि सञ्चालन गरिएका छन् ।
परियोजनाको मुख्य उद्देश्य सीमान्तकृत तथा चेपाङ समुदायका बालबालिकाको शिक्षा, नेतृत्व विकास तथा अभिभावकको जीविकोपार्जन सुदृढ बनाउनु रहेको बताइएको छ । सामाजिक लेखापरीक्षणले संस्थाको पारदर्शिता, जवाफदेहिता तथा प्रभावकारिताको मूल्यांकन गर्नुका साथै सरोकारवालाबाट सुझाव संकलन गरी आगामी कार्यक्रमलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको जनाइएको छ । परियोजनाबाट ५२ बालबालिकाले छात्रवृत्तिमार्फत अध्ययनलाईनिरन्तरता दिएका छन् भने ५२ बालबालिकाका लागि अतिरिक्त ट्युसन कक्षा सञ्चालन गरिएको छ । स्थानीय सरकार, शिक्षक, अभिभावक तथा बालबालिकाबीच समन्वय सुदृढ भएको तथा बाल विवाह न्यूनीकरण, बालश्रम नियन्त्रण र विद्यालय छाड्ने दर घटाउन कार्यक्रम प्रभावकारी देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । आर्थिक सशक्तिकरणतर्फ बाख्रा तथा कुखुरापालन सहयोगले परिवारको आम्दानी वृद्धिभई बालबालिकाको शिक्षामा सकारात्मक प्रभाव परेको जनाइएको छ ।

कार्यक्रममा विद्यालयमा शिक्षक अभाव, गणित, अंग्रेजीर विज्ञान विषयमा विद्यार्थीको कमजोरी, ट्युसन कक्षामा स्तरअनुसार विभाजनको आवश्यकता तथा शिक्षक तालिम अभावजस्ता चुनौती औंल्याइएको थियो । सीपमूलक तालिम विस्तार, स्थानीय सरकारको सक्रिय सहभागिता र पशुपालनमा हुने क्षति न्यूनीकरणका लागि बीमा व्यवस्था गर्नुपर्ने सुझाव सहभागीले दिएका थिए । हिमराइट्सका केन्द्रीय वित्तीय लेखाअधिकृत विजयकुमार महर्जनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ५ का अध्यक्ष हरिबहादुर प्रजाको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा गाउँपालिका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा सीमान्तकृत परिवारको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*