व्यवसाय र मानवअधिकार विषयक प्रदेशस्तरीय अन्तरक्रिया

साझाकुरा
२०८३ बैशाख २५, शुक्रबार ११:२९

हेटौंडा- इन्सेकको आयोजनामा व्यवसाय र मानवअधिकार विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम हेटौंडामा भएको छ । कार्यक्रम इन्सेकका केन्द्रीय अध्यक्ष विजय गौतमको सभाअध्यक्षता तथा हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा चन्द्रकान्त चापागाईंले व्यवसाय र मानवअधिकारसम्बन्धी प्रस्तुतीकरण गर्दै यसको अवधारणा, व्यावसायिक क्षेत्रसँग जोडिएका मानवअधिकारका सवाल, उद्यमले पार्ने बहुआयामिक प्रभाव तथा संयुक्त राष्ट्रसंघका मार्गनिर्देशक सिद्दान्तबारे प्रकाश पारे । प्रमुखअतिथि नगरप्रमुख लामाले मानवअधिकार हनन हुने कुनै पनि कार्य अघि नबढाइने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले मानवअधिकारले सम्मानजनक जीवनयापनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यसको संरक्षणका लागि जनप्रतिनिधि सधैं सक्रिय रहने बताइन् । मानव अधिकारलाई ध्यानमा राख्दै सुकुम्बासी बस्ती व्यवस्थापनबारे नगरपालिकास्तरमा छलफल भइरहेको जानकारी दिइन् । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले दुर्गमक्षेत्रमा मानवअधिकारको अवस्था कमजोर रहेको उल्लेख गर्दै भौगोलिक विकटताका कारण आधारभूत सेवासुविधामा समेत पहुँच न्यून रहेको बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख श्यामबहादुर खत्रीले पछिल्लो समय मकवानपुरमा मानवअधिकार उल्लंघनका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले होटल, डान्सबार तथा उद्योगक्षेत्रमा श्रमिक शोषण, असुरक्षित कार्य वातावरण तथा महिला र बालबालिकामाथि हुने दुव्र्यवहारका घटना देखिँदै आएको बताए । कार्यक्रममा अध्यक्ष गौतमले नेपालमा सञ्चालित व्यवसायलाई मानवअधिकारमैत्री र जवाफदेही बनाउने, संयुक्त राष्ट्रसंघका मार्गनिर्देशक सिद्दान्त कार्यान्वयन गर्ने तथा सरकारको पाँचौँ राष्ट्रिय मानवअधिकार कार्ययोजनालाई प्रभावकारीरुपमा लागू गर्ने उद्देश्य सहित इन्सेकले काम गर्दै आएको जानकारी दिए ।

इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेलले मानव अधिकार संरक्षणका लागि संस्थानिरन्तर सक्रिय रहेको र हरेक नागरिकले सम्मानजनक जीवन बाँच्न पाउने अधिकार सुनिश्चित गर्न आवाज उठाउँदै आएको बताए । कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता अप्सरा बस्नेत, कानुन तथा संवैधानिक मामिला महाशाखा प्रमुख लोकहरि बस्याल, उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष कुमार पौडेल, बागमती प्रदेश उपाध्यक्ष अजय अधिकारी, कमलकुमार विश्वकर्मा तथा महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष आरती पाठकलगायतले मन्तव्यराखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*