खेलकुद विकास समितिलाई उद्देश्यअनुरुपको कार्य गर्न मुख्यमन्त्री बानियाँको आग्रह :‘खेलकुदलाई व्यापार–व्यवसायसँग नजोडौँ’
हेटौंडा, २९ फागुन÷ बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले खेलकुद विकास समितिलाई उद्देश्य अनुरुपको कार्य गर्न आग्रह गरेका छन् ।जिल्ला खेलकुद समिति मकवानपुरको आयोजनामा शुक्रबारदेखि हेटौँंडा–१० टिसिएनचौरमा सुरु भएको दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले खेलकुदलाई व्यापार–व्यवसायसँग जोड्न नहुने बताएका हुन् । जुन उद्देश्यले खेलकुद विकास समिति स्थापना गरिएको हो, सोहीअनुरुपको कार्य गर्नुपर्ने उनको धारणा छ । खेलकुदसँग सम्बन्धित कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । मुख्यमन्त्री बानियाँले प्रदेश गौरवको योजनाका रुपमा रहेको गौरीटार रंगशालामा थप खेलपूर्वाधार निर्माणको तयारी भइरहेको जानकारी दिएका छन् ।
करिब एक अर्ब रुपैयाँ लागतमा रंगशालामा अत्याधुनिक संरचना विस्तार गरी भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्ने लक्ष्य प्रदेश सरकारले लिएको उनले बताए । ‘यहाँ हाम्रो गौरीटार रंगशाला छ, त्यहाँ थोरै बजेट खर्च गरेर केही काम पनि भएको छ’, मुख्यमन्त्री बानियाँले भने, ‘अब त्यहाँ प्रदेश सरकारले एक अर्ब बढी बजेट लगानी गरेर अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता सञ्चालन गर्ने स्तरीय संरचना निर्माण गर्नेछ ।’ यो स्थानमा खेलकुद मैदान, स्वीमिङ पुल, ब्याडमिन्टन, क्रिकेट, बास्केटबल, फुटबललगायत सबै किसिमका खेलकुद प्रतियोगिता गर्न सकिने किसिमको संरचना निर्माण गरिने उनको भनाइ थियो ।
उनले खेलाडीहरु समाज र देशकै गौरव भएको उल्लेख गर्दै खेलकुद क्षेत्रको विकासमा सबैको सहकार्य आवश्यक रहेको बताए । मुख्यमन्त्री बानियाँले फागुन २१ गते सम्पन्न चुनावबाट देशले नयाँ जनादेश प्राप्त गरेको बताएका छन् । जनभावनालाई सम्बोधन गर्दै पर्यटन, कृषि र खेलकुद क्षेत्रको विकासमा अब बन्ने संघीय सरकारले विशेष ध्यान दिने अपेक्षा पनि उनले व्यक्त गरे । संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच सहअस्तित्व र समन्वय आवश्यक रहेको उनको भनाइ थियो । १५ दिनसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत विभिन्न ६ विधाका खेलकुद प्रतियोगिता आयोजना गरिनेछ ।
कार्यक्रमअनुसार फागुन २९ र ३० गते जिल्लास्तरीय ब्याड्मिन्टन प्रतियोगिता, चैत्र १ देखि ३ गतेसम्म जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता, चैत्र ४ देखि ८ गतेसम्म राष्ट्रिय महिला भलिबल प्रतियोगिता, चैत्र ९ र १० गते जिल्लास्तरीय कराँते प्रतियोगिता तथा चैत्र ११ देखि १३ गतेसम्म राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गरिनेछ । खेल, व्यापार, कृषि र पर्यटनलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तानले बताए । खेलकुदबाट खेलाडी विदेश पलायन भइरहेको अवस्थालाई मध्येनजर गरेर व्यावसायिक खेलकुदमा खेलाडीलाई जोड्ने लक्ष्य लिएको उनको भनाई छ ।
महोत्सवअवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति रहनेछ । महोत्सवबाट बचत हुने रकम जिल्ला खेलकुद विकास समिति मकवानपुरको भवन निर्माण तथा खेलसामग्री खरिदमा खर्च गर्ने लक्ष्य आयोजकले लिएको छ । खेलक्षेत्रमा योगदान पु¥याएका १० जना व्यक्तित्वलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गर्ने तयारी गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, ११ नं. वडा अध्यक्ष जुना दाहाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
खुलादौडः पुरुषमा हेम्जन र महिलामा लोप्चन प्रथम
हेटौंडामा सञ्चालित बृहत खेलकुद, कृषि तथा पर्यटन महोत्सवअन्तर्गत पहिलो दिन जिल्लास्तरीय महिला तथा पुरुष १० किलोमिटर खुलादौड प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार बिहान हेटौंडामा १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको हो ।प्रतियोगितामा पुरुषतर्फ राक्सिराङ १ का सुवास हेमजन प्रथम भएका छन् । अन्य २२ प्रतिस्पर्धीलाई उछिन्दै हेमजनले प्रथम स्थान हाँसिल गरेका हुन् । दौडमा मनहरी–८ का सन्दीप विक द्वितीय र बकैया–८ का राजकुमार गोले तृतीय भए । यस्तै महिलातर्फ हेटौंडा–१३ की साधना लोप्चन प्रथम भइन् । उनले अन्य ६ प्रतिस्पर्धीलाई पछिपार्दै महिला दौडको उपाधि जितेकी हुन् । महिलातर्फ हेटौंडा–१३ कै अमृता मोक्तान द्वितीय, हेटौंडा–४ की सुविना गोले तृतीय र राक्सिराङ–१ की निलिमा थिङ सान्त्वना भइन् । दुवैतर्फको प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः २० हजार, १० हजार, ५ हजार र एकहजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा खेलकुद महोत्सव भएको हो । महोत्सवअन्तर्गत विभिन्न ६ विधामा खेलकुद प्रतियोगिता हुनेछ । दौडमा इच्छा भएका खेलाडीको पहिचान सहित खेलक्षेत्रको विकासका निम्ति जिल्लास्तरीय महिला तथा पुरुष दौडको आयोजना गरिएको खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष मोक्तानले जानकारी दिए । शुक्रबारबाटै जिल्लास्तरीय डबल्स ब्याड्मिन्टन प्रतियोगिता सुरु भएको छ ।हेटौंडा–११थानाभ¥याङस्थित कभर्ड हलमा मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवम् खेलकुदप्रेमी अरुणराज सुमार्गीले ब्याड्मिन्टन प्रतियोगिताको उद्घाटन गरेका हुन् । ब्याड्मिन्टन प्रतियोगिताको विजेताले २० हजार, उपविजेताले १० हजार तथा सान्त्वनाले ५÷५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मकवानपुर खेलकुद विकास समितिका सदस्य मदन उप्रेतीले जानकारी दिए ।







