जिल्लास्तरीय पुरुष भलिबल : क्वाटरफाइनल समीकरण पूरा

साझाकुरा
२०८२ चैत्र २, सोमबार ११:५६

हेटौंडा-हेटौंडा–१०, स्थित टिसीएनचौरमा जारी दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा मकवानपुर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । आइतबारबाट टिसीएन चौरको महोत्सवमा सुरु भएको जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको लिगकम नकआउटको प्रतियोगिताबाट ४ वटा टिम समूहचरणको विजेता बन्दै र ४ वटा टिम उपविजेता क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताअन्तर्गत भोलि सोमबारबाट क्वाटरफाइनल चरणको खेल सुरुहुने मकवानपुर जिल्ला भलिबल संघका सदस्य नरेन्द्र मुक्तानले जानकारी दिए । पहिलो खेलमा थाहा नगरपालिकाको मंगलेश्वर युवा क्लबले हेटौंडा–१५, स्थित सफल केयर क्लबलाई २५–१४ र २५–१३ ले सहजै पराजित गरेको छ ।

दोस्रो खेलमा थाहा–६, स्थित नवप्रतिभा सांस्कृतिक युवा क्लब बज्रबाराहीले हेटौंडा–९, स्थित पशुपति युवा क्लबलाई २५–१२ र २५–२१ को सोझो सेटले सहजै पराजित गरेको छ । तेस्रो खेलमा मनहरी गाउँपालिकाले २५–१४ र २५–१८ को सोझो सेटले हेटौंडा–३, स्थित मिलन युवा क्लबलाई सहजै पराजित गरेको छ । अन्तिम खेलमा हेटौंडा–११, स्थित छहारी युवा समाजको टिमलाई २५–१७ र २५–१४ को सोझो सेटले पराजित गरेको छ । सोमबार बिहान ११ बजेबाट क्वाटरफाइनल चरणको खेल सुरु हुनेछ भने मंगलबार सेमीफाइनल र फाइनल चरणको खेल हुनेछ ।

सेमीफाइनल चरणबाट बेष्ट अफ ५ को खेल खेलाइने बताइएको छ । क्वाटरफाइनलको पहिलो खेलमा मंगलेश्वर युवा क्लब र मिलन युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा नवप्रतिभा युवा क्लब र बागमती गाउँपालिका बीच प्रतिस्पर्धा हुनेछ । तेस्रो खेलमा मनहरी गाउँपालिका र सफल केयर क्लबबीच प्रतिस्पर्धा हुनेछ भने चौथो खेलमा छहारी युवा समाज र पशुपति युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सेमीफाइनलमा पराजित हुने दुई टिमले १५÷१५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगितामा ७ वटा विधाका खेलाडीलाई नगदसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिने छ भने अन्य उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट प्रशिक्षक र उद्यान खेलाडीलाई २÷२ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिने छ । राष्ट्रिय महिला भलिबल प्रतियोगिता भने चैत ४ गतेबाट सुरु हुनेछ ।

जिल्ला खेलकुदका अध्यक्ष राजकुमार मोक्तानको सभाध्यक्षा तथा हेटौंडा मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष वसन्त सिटौलाको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन भएको हो । महोत्सवमा कराँते, तेक्वान्दो र महिला भलिबल लगायतका खेल सञ्चालन हुने अध्यक्ष मुक्तानले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*