बागमतीका मुख्यमन्त्रीसँग नाडा प्रतिनिधिमण्डलको भेट

साझाकुरा
२०८२ चैत्र १०, मंगलवार ११:३२

हेटौंडा-अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग भेटघाट गरी अटोमोवाइल क्षेत्रसँग सम्बन्धित विविध विषयमा विस्तृत छलफल गरेको छ ।भेटकाक्रममा मुख्यमन्त्री बानियाँले अध्यक्ष उप्रेतीको नेतृत्वमा नाडाको नयाँ केन्द्रीय कार्यसमिति गठन भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै कार्यकाल सफलताको कामना गरे । उनले नाडाले विगत ५० वर्षदेखि अटोमोवाइल क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै संस्थाको प्रशंसा गरे । छलफलका क्रममा बागमती प्रदेशमा देशका करिब ५० प्रतिशत सवारी साधन दर्ता हुने सन्दर्भ उल्लेख गर्दै राजधानीक्षेत्रमा ट्राफिक व्यवस्थापन र पार्किङजस्ता समस्या समाधान गर्न प्रदेश सरकार र नाडाबीच सहकार्य आवश्यक रहेको धारणा मुख्यमन्त्री बानियाँले राखे ।

आवश्यक जनशक्ति उत्पादन, रोजगारी सिर्जना तथा सवारीसाधनका लागि ट्रायल सेन्टर स्थापना गर्न पनि सहकार्य गर्न सकिने उनले बताए । नाडाका अध्यक्ष उप्रेतीले नाडामा ७ वटा प्रदेशसहित २ हजार ८ सय भन्दा बढी सदस्य कम्पनी आबद्ध रहेको जानकारी दिँदै नेपालको अटोमोवाइल क्षेत्रमा एक खर्ब रुपैयाँभन्दा बढी निजी क्षेत्रको लगानी रहेको बताए । उनले वार्षिक रुपमा करिब ५ हजार जनशक्तिको आवश्यकता पर्ने जानकारी गराए । उनले बागमती प्रदेश सरकारसँग सहकार्य गर्न सकिने विभिन्न क्षेत्र पहिचान गरी मोडालिटी तयार पारेर प्रस्ताव पेश गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले अटोमोवाइल क्षेत्रले देशको प्रतिभा पलायन रोक्न योगदान दिइरहेको उल्लेख गर्दै सीपमूलक तालिम कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । उनले प्रदेश सरकारसँग सहकार्य गर्दै यस क्षेत्रलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए ।

नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले अटोमोवाइल क्षेत्रमा तीव्ररुपमा भइरहेको प्रविधिगत परिवर्तनअनुसार दक्ष जनशक्ति उत्पादन चुनौतीपूर्ण बन्दै गएको बताए । उनले आवश्यक तालिम तथा स्रोतसाधन अभावका साथै प्रशिक्षकको कमी रहेको बताए । छलफलमा नाडाका पदाधिकारीहरु, केन्द्रीय कार्यसमिति सदस्य तथा अन्य सरोकारवाला व्यक्तिको उपस्थितिरहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*