बागमती प्रदेशको हिउँदे अधिवेशन चैत २४ गते बोलाउन सिफारिस

साझाकुरा
२०८२ चैत्र २३, सोमबार १०:२४

हेटौंडा- बागमती प्रदेश सरकारले सात महिनापछि प्रदेशसभा बैठक बोलाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन चैत २४ गते मंगलबार आह्वान गर्न प्रदेशप्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेशसभाको अधिवेशन आह्वान भएको जानकारी दिए । प्रदेश सरकारको सिफारिसमा प्रदेशप्रमुखले अधिवेशन आह्वान गर्ने व्यवस्था छ । बागमती प्रदेशसभाको पछिल्लो बैठक २०८२ भदौ १७ गते बसेको थियो । जेनजी आन्दोलनपछि बैठक राख्न नसकेको सरकारले मंसिर ३ गते प्रदेशसभाको १६ औं अधिवेशन अन्त्य गरेको हो । १६ औं अधिवेशनमा २४ वटा मात्रै बैठक बसेको प्रदेशसभा सचिवालयका प्रवक्ता कानुनअधिकृत प्रकाश चापागाईंले जानकारी दिए ।

प्रदेशसभाको सभाहल जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएपछि हेटौंडा उपमहानगरपालिका–२ स्थित उपमहानगर हाताभित्र निर्माण गरिएको मुख्यमन्त्री कार्यालयको सभाहलबाट बैठक सञ्चालन हुनेछ । प्रवक्ता चापागाईंकाअनुसार हाल अस्थायीरुपमा सभा सञ्चालनका लागि हेटौंडा उपमहानगरपालिका पछाडिको मुख्यमन्त्री सभाहललाई मर्मत गरेर तयार गरिएको छ । हटियाको ३१ हेक्टर जग्गामा प्रदेशको सबै संरचना बनाउने गुरुयोजनाका साथ प्रदेश सरकार अगाडि बढेको छ ।

‘प्रदेशसभाको बैठक र प्रदेशसभाको भवन हामीले अस्थायी रुपमा तयार गरेका छौँ । अहिले यो उपमहानगरपालिकाको हलमा बैठक चलाउने तयारी गरेका छौँ’ उनले भने, ‘योसँगै प्रदेशसभाको स्थायी भवन बनाउने प्रक्रिया पनि अघि बढाउने योजना बनाएका छौँ । बागमती प्रदेश सरकारलाई संरचना निर्माण गर्न हेटौंडा–१७ हटियामा ३१ हेक्टर जग्गा संघीय सरकारबाट प्राप्त भइसकेको छ । प्रदेशसभा भवनलगायतका प्रदेशका मन्त्रालयको भवनहरुको विषयमा यसै वर्षमा ठेक्का लाग्छ ।’

यो सभाहलमा पनि जेनजी प्रदर्शनका क्रममा क्षति पुगेको थियो । प्रदेशसभा बैठक सञ्चालनकै लागि करिब २ करोड रुपैयाँ लागतमा मर्मतसम्भार गरिएको हो । बागमती प्रदेशसभाको रिक्त सभामुख पदमा सत्तारुढ दलभित्र सहमति जुट्न नसक्दा प्रदेशसभा अनिश्चित बन्दै आएको थियो । प्रदेशसभा बैठक सुरु भएको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने भएकाले सरकार त्यसको तयारीमा जुटेको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको केही दनिअघि बसेको संसदीय दलको बैठकले सभामुखमा दाबी गर्ने निर्णय गरिसकेको छ ।

सत्ता साझेदार दल नेकपा एमालेले पनि सभामुख पदमा दाबी गरेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा पनि सभामुख पाउनुपर्ने अडानमा रहेको छ । जेनजी प्रदर्शन चर्किएकै समयमा भदौ २४ गते सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका सभामुख भुवनकुमार पाठकले १ असोजमा उपसभामुख अप्सरा चापागाईंलाई राजीनामापत्र बुझाएपछि पदरिक्त भएको छ । पाठक दलीय भागबण्डाका आधारमा राप्रपाबाट सभामुख बनेका थिए । उपसभामुख एमालेकी अप्सरा चापागाईं बनेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*