हेटौंडा–ढल्के–इनरुवा ४ सय केभी प्रसारणलाइनको काम पुन : सुरु

साझाकुरा
२०८३ बैशाख ९, बुधबार ११:३५

हेटौंडा- स्थानीय विवाद्का कारण लामो समयदेखि अवरुद्ध हुँदै आएको देशकै महत्वपूर्ण ऊर्जा आयोजनामध्ये एक हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माणकार्य पुनः सुरु गरिएको छ । मकवानपुर खण्डमा रोकिएको काम मंगलबारदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा टावरका लागि बेस निर्माण प्रक्रिया अगाडि बढाइएको हो । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५,१६ र १७ नम्बर वडामा स्थानीयको अवरोधका कारण प्रसारणलाइन विस्तारको काम ठप्प थियो । निर्माणकार्य अघि बढाउने क्रममा स्थानीय बासिन्दाले विरोध जनाउँदै अवरोध गर्ने प्रयास गरेपछि केहीबेर अवस्था तनावपूर्ण बनेको थियो । प्रभावितले बिनामुआब्जा निजी तथा नम्बरी जग्गामाथि प्रसारणलाइन विस्तार गर्न नदिने अडान लिएका थिए ।

यसैक्रममा प्रहरीले तीन महिलासहित चारजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । स्थानीय वासीले बस्तीबीचबाट प्रसारणलाइन लैजान नहुने, यदि लैजानै परे उचित मुआब्जा सुनिश्चित गर्नुपर्ने तथा स्वास्थ्य र दीर्घकालीन असरबारे स्पष्ट जानकारी दिनुपर्ने माग राख्दै आएका छन् । हेटौंडास्थित थानाभ¥याङ सबस्टेसनदेखि इनरुवा सबस्टेसनसम्म २८८ किलोमिटर प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो । हेटौंडा–ढल्केबर (१३४ किमि) र ढल्केबर–इनरुवा (१५४ किमि) मध्ये ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएर चार्जमा आइसकेको छ ।

हेटौंडा–ढल्केबर खण्ड विभिन्न अवरोधका कारण समयमै सम्पन्न हुन सकेको छैन । आयोजनाअन्तर्गत कुल ७ सय ९५ वटा टावरमध्ये ९८ वटा टावर मकवानपुर जिल्लामा पर्छन् । हालसम्म अधिकांश टावर निर्माण सम्पन्न भइसकेका छन् भने अब १४ वटा टावर निर्माण गर्न बाँकी रहेको छ । तीमध्ये वडा नम्बर १५ मा २ वटा, वडा नम्बरमा १६ मा १० वटा र वडा ननम्बर १७ मा २ वटा टावर निर्माण हुन बाँकी छन् । ढल्केबरदेखि हेटौंडा–१७ सम्म तार तान्ने काम पनि सकिएको छ । २०७५ सालमै टावर रहने जग्गा अधिकरण गरी मुआब्जा वितरण भैरहेको जनाइएको छ ।

तारमुनि पर्ने जग्गाका हकमा भने प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा क्षतिपूर्ति मूल्यांकन समिति गठन गरी कार्य अघि बढाइएको आयोजना निर्देशक श्याम कुमार यादवले जानकारी दिएका छन् । समयमै आयोजना सम्पन्न नहुँदाराज्यले वार्षिक ५ देखि ६ अर्ब रुपैयाँसम्मको क्षति व्यहोर्नुपरेको आयोजना प्रमुखले यादवले बताए । साढे दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित सन् २०१३ देखि निर्माण सुरु गरिएको यो आयोजना अझै पूर्णता पाउन सकेको छैन । हाल सञ्चालनमा रहेको १३२ केभी प्रसारण लाइनको क्षमता करिब २०० मेगावाट मात्र भएकाले हिउँदयाममा विद्युत् प्रवाहमा समस्या हुँदै आएको छ ।

हेटौंडा–ढल्केवर ४०० केभी प्रसारण लाइन सञ्चालनमा आएपछि पर्याप्त विद्युत् प्रवाह सम्भव हुने, भोल्टेज सुधार हुने तथा विशेषगरी मोरङ–सुनसरी औद्योगिक करिडोर र वीरगञ्ज करिडोरमा विद्युत् आपूर्ति उल्लेखनीयरुपमासुधार हुने आयोजना प्रमुख यादवले बताए । यो प्रसारण लाइनलाई देशको ऊर्जा पूर्वाधार सुदृढीकरणका लागि अत्यन्त महत्वपूर्ण आयोजना मानिएको छ । यसले पूर्वपश्चिम विद्युत् प्रसारण प्रणालीलाई मजबुत बनाउने, आन्तरिक विद्युत् आपूर्ति सहज बनाउने तथा भारतसँग ऊर्जा व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

ढल्केबर–इनरुवा खण्ड प्रसारण लाइनमा ४१७ वटा टावर निर्माण गरिएका छन् । प्रसारणलाइनलाई सप्तकोशी पार गराउन नदीमा ११ वटा टावर निर्माण गरिएको छ । कोशी नदीमा पर्ने ५ किलोमिटर प्रसारण लाइनका लागि २४–३२ मिटर गहिरो पाइल जग (फाउन्डेसन) हालिएको छ । एउटा टावरमा १६ वटा पाइल फाउन्डेसन गरिएको छ । दुई वर्षअघि कोशी नदीमा आएको बाढीले खडा गरिएको एउटा टावर नै बगाइदिएपछि प्रसारणलाइन निर्माण झनै जटिल बनेको थियो ।

कोरोना महामारी, कोशीको बाढी, प्रसारणलाइनको मार्गपरिवर्तनको माग गर्दै निर्माणमा स्थानीयको अवरोध, सर्वोच्च अदालतको अन्तरिम आदेश, वनक्षेत्रको जग्गा प्रयोग तथा रुखकटान स्वीकृतिको प्रक्रियागत उल्झनलगायत कारणले निर्माण प्रभावित भएको आयोजना निर्देशक यादवले बताए । निर्देशक यादवले सिराहाको लाइनक्षेत्रमा अदालतको अन्तरिम आदेशका कारण ४ वर्ष काम रोकिएको र आयोजनाको तीनपटक प्रारम्भिक वातावरणीय परीक्षण गर्नु परेको बताए । ढल्केबर–इनरुवा खण्डमा मार्गधिकारको क्षतिपूर्तिमा मात्र करिब ५ अर्ब रुपैयाँ खर्च भएको छ ।

१७ करोड अमेरिकी डलर अनुमानित लागत रहेको यो आयोजना नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार परियोजनाअन्तर्गत् सुरु गरिएको हो । विश्व बैंकको ऋणअवधि सकिएपछि बाँकी काम हाल नेपाल सरकार र प्राधिकरणको लगानीमा भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*