पथलैया–रातोमाटे खण्डको अतिक्रमित संरचना हटाउन डिभिजनको अल्टिमेटम
हेटौंडा-सडक डिभिजन कार्यालय हेटौंडाले बीरगञ्जको मुख्य सडक विस्तार सुरु गरेसँगै पथलैया–चुरियामाई खण्डको सडकक्षेत्रमा अतिक्रमित संरचना हटाउने तयारी गरेको छ ।आइतबार वैशाख ६ गते बिहानैबाट सडक डिभिजनले त्रिभुवन राजपथअन्तर्गत् पर्ने बीरगञ्जको गण्डक चोकदेखि मितेरीपुलसम्मको सडक २५–२५ मिटर दायाँ–बायाँ विस्तार थालेको हो । अब बाराको पथलैयादेखि मकवानपुरको सीमाक्षेत्र हेटौंडा उपमहा नगरपालिका–१५ रातोमाटेसम्म सडक विस्तारको तयारी गरेको हो ।
बीरगञ्जको गण्डकदेखि पथलैयासम्म यसअघि नै सडक विस्तार भइसकेको छ । सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले सोमबार पथलैया–चुरियामाई खण्डमा २५ मिटरभित्रका घरटहरा १० वैशाख भित्र हटाउन सूचना जारी गरिएको जानकारी दिए । पटकपटकको सूचनापछि पनि अतिक्रमण यथावत रहेपछि कार्यालयले तोकिएको मितिभित्र खाली नगरे सार्वजनिक सडक ऐन, २०३१ र प्रचलित नेपाल कानूनबमोजिम कारबाही अघि बढ्ने जनाइएको छ ।
सडक डिभिजनले यसअघि १८ पुस २०७३ र ९ असार २०८० मा पनि सूचना जारी गर्दै महेन्द्रराजमार्गको पथलैयादेखि चुरियामाई ३ नं. पुल र चुरियामाई मन्दिर बाराको क्षेत्रमा सडकको केन्द्रबाट दायाँबायाँ दुबैतिर २५÷२५ मिटरको सीमाभित्र रहेका घरटहराहरु नहटाएको जनाएको छ ।







