मनहरीमा शुक्रबार राहदानी र राष्ट्रिय परिचयपत्र वितरण गरिँदै
हेटौंडा- नेपाल सरकारको सरकारी सेवा सुधारसम्बन्धी कार्यक्रमअन्तर्गत घरदैलोसेवा अवधारणा लागू गर्दै मकवानपुरको मनहरी गाउँपालिकाबाट राहदानी र राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । परिचयपत्र वितरण गर्ने कार्यक्रम तय गरिएको हो । २०८० असार मसान्तसम्म जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई राष्ट्रिय परिचयपत्रको आवेदन दिने मनहरी स्थायीबासी र हालसम्म राहदानीका लागि आवेदन दिएकाहरुको राहदानी वितरण गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख प्रशासकीयअधिकृत रमेश सुवेदीले जानकारी दिएका छन् ।
सुवेदीका अनुसार गाउँपालिकाको लामिटार ब्लकबाट शुक्रबार बिहान ९ बजेदेखि जनप्रतिनिधिका साथै मकवानपुरका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा राष्ट्रिय परिचयपत्र र राहदानी वितरण गरिनेछ । सेवा वितरणलाई सहज, छिटो र प्रविधिमैत्री बनाउने उद्देश्यले सरकारले घरदैलो सेवाको अवधारणा ल्याएको थियो । यो अवधारणा कार्यान्वयन गर्दै राष्ट्रिय परिचयपत्र र राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न गाउँमै पुगी वितरण गर्न थालिएको प्रशासन कार्यालयले जनाएको छ ।
गाउँबाटै राष्ट्रिय परिचयपत्र र राहदानी वितरण गरिनेबारेको सूचना वडा कार्यालय मार्फत् टोलटोलमा पु¥याइएको गाउँपालिका सूचना प्रविधिअधिकृत आशिष मल्लले जानकारी दिए । उनकाअनुसार पछिल्लो पटक ८८ जना मनहरीबासीले राहदानीका लागि आवेदन दिएकोमा उनीहरु सबैको राहदानी वितरण गरिनेछ । प्रत्येक व्यक्तिलाई फोनमार्फत् गाउँपालिकामा राहदानी लिन आउन सूचित गरिसकिएको उनले बताए ।







