प्रदेश स्काउटद्वारा ‘शान्ति र सुरक्षा’ प्रतिवेदन हस्तान्तरण
हेटौंडा- ‘स्काउट शान्ति र सुरक्षा’ छलफल कार्यक्रमबाट प्राप्त सुझावसहितको विस्तृत प्रतिवेदन बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । बागमती प्रदेश स्काउट कार्यालयले सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादे र कानुन मन्त्रालय, विपद् व्यवस्थापन शाखाका पदम ओझालाई प्रतिवेदन हस्तान्तरण गरेको हो । फिनल्याण्ड स्काउट र नेपाल स्काउटको संयुक्त साझेदारीमा सञ्चालित ‘फिनल्याण्ड नेपाल साझेदारी परियोजना’ (एफएनपीपी) अन्तर्गत यो कार्यक्रम सञ्चालनगरिएको थियो । स्काउटका बागमती प्रदेशआयुक्त शिवकुमार तवाएनाको सभाध्यक्षतामा भएको कार्यक्रममा मन्त्री बादेको प्रमुख अतिथ्य रहेको थियो ।
स्काउट्स, शान्ति र सुरक्षा (एसपीएस) परियोजना नेपाल स्काउट र फिनल्याण्ड सरकारबीचको एउटा संयुक्त प्रयास हो, जसको मुख्य लक्ष्य संयुक्त राष्ट्रसंघको प्रस्ताव २२५० का सिद्धान्तहरुलाई नेपालका सातै प्रदेशका स्थानीय तह र समुदायमा व्यवहारिकरुपमा लागू गर्नु रहेको छ । मंगलबार हस्तान्तरण गरिएको प्रतिवेदनमा बागमती प्रदेशका ८ वटा जिल्लामा सञ्चालित ११ वटा छलफल कार्यक्रमको निष्कर्षलाई समेटिएको छ । ती कार्यक्रममा १७ देखि ३० वर्ष उमेर समूहका युवा, नगरप्रमुख, नगरपालिका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, वातावरणविद् र स्काउटका नेतृत्वलगायत करिब ६ सय जनाको सहभागिता रहेको थियो ।
छलफलमा विभिन्न सामाजिक तथा वातावरणीय मुद्दामा केन्द्रित भई कुराकानी गरिएको थियो । अधिकांश कार्यक्रम जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनमा केन्द्रित थिए । भक्तपुर, चितवन, मकवानपुर, रामेछाप र दोलखामा जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम भएका थिए । लै·िकहिंसा रोकथाम र रणनीतिबारे काठमाडौँको चन्द्रागिरि र सिन्धुपाल्चोकमा भएको थियो । सामाजिक समावेशीकरण र अपा·ता अधिकारबारे काठमाडौँको बालुवाटार र चितवनमा भएको थियो । मानसिक स्वास्थ्य र कल्याणबारे ललितपुरमा तथा संस्थागत स्काउट सुदृढीकरणबारे काठमाडौँमा छलफल भएको थियो ।
बागमती प्रदेशमा जलवायु परिवर्तनप्रति देखिएको उच्चचासोले यसक्षेत्रमा बढ्दो वातावरणीय चुनौतीलाई दर्शाएको प्रतिवेदनमा उल्लेख छ । छलफलका क्रममा प्लास्टिकको प्रयोग, दिगो जीवनशैली, नवीकरणीय ऊर्जाको प्रयोग र फोहोरमैला व्यवस्थापनजस्ता विषय उठाइएका थिए । सहभागी युवाले वायुप्रदूषण, बढ्दो सहरी तापक्रम र जलवायुजन्य स्वास्थ्य जोखिमलाई प्रमुख चुनौतीकारुपमा पहिचान गर्दै तिनको समाधानका लागि सरकार र समुदायको जिम्मेवारीका बारेमा चर्चा गरेका थिए । नीति निर्माता र युवाबीचको अन्तरक्रियालाई अझ अर्थपूर्ण बनाउनुपर्नेमा जोड दिइएको छ ।
प्रतिवेदनमा स्काउट संस्थालाई अझ सुदृढ, समावेशी र परिवर्तनशील समाजमा सान्दर्भिक बनाउनका लागि चालिनुपर्ने कदमकाबारेमा पनि सुझाव दिइएको छ । युवाले जलवायु परिवर्तन र लै·िकहिंसा जस्ता सामाजिक विषयका साथै संस्थागत सुधारका पक्षमा पनि खुलारुपमा धारणा राखेका छन् । यी छलफलले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को ‘युवा, शान्ति र सुरक्षा’ ढाँचाका मुख्य सिद्धान्तलाई आत्मसात गर्दै युवालाई निर्णयप्रक्रियामा सक्रिय सहभागी गराउनुपर्ने आवश्यकतालाई पुष्टि गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन बुझेपछि मन्त्री बादेले प्रतिवेदनको विस्तृत अध्ययन गरी यसका सुझावलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले अहिले बजेट निर्माणको समय भएको उल्लेख गर्दै आगामी बजेटमा स्काउटका विषयलाई समेट्ने बताए । सामुदायिक विद्यालयसँग स्काउटलाई जोड्नसके सक्षम र अनुशासित विद्यार्थी उत्पादन गर्न सकिने उनको भनाइ छ ।







