बागमती प्रदेशको अर्थतन्त्र २४ खर्ब नाघ्ने अनुमान

साझाकुरा
२०८३ जेष्ठ ७, बिहीबार १२:३८

हेटौंडा-चालू आर्थिक वर्ष २०८२÷८३ मा बागमती प्रदेशको कुल ग्राहस्थ्यउत्पादन (जीडीपी) उपभोक्ता मूल्यमा २४ खर्ब २३ अर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ ।गत आर्थिक वर्ष २०८१÷८२ मा प्रदेशको कुल ग्राहस्थ्यउत्पादन २२ खर्ब ५६ अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको थियो । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार हेटौंडामा सार्वजनिक गरेको प्रादेशिक लेखा तथ्यांकअनुसार राष्ट्रिय कुल ग्राहस्थ्य उत्पादनमा बागमती प्रदेशको योगदान ३६ दशमलव ७ प्रतिशत रहने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा यो योगदान ३६ दशमलव ४ प्रतिशत रहेको थियो । तथ्यांकले देशकै अर्थतन्त्रको करिब एकतिहाइ हिस्सा बागमती प्रदेशले ओगटेको देखाएको छ । चालू आर्थिक वर्षमा राष्ट्रिय कुल ग्राहस्थ्यउत्पादन ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

प्रदेशगत योगदानअनुसार कोशी प्रदेशले राष्ट्रिय अर्थतन्त्रमा १५ दशमलव ८ प्रतिशत अर्थात् करिब १० खर्ब रुपैयाँ योगदान गर्ने अनुमान गरिएको छ । लुम्बिनी प्रदेशको योगदान ९ खर्ब ३७ अर्ब अर्थात् १४ दशमलव २ प्रतिशत, मधेश प्रदेशको ८ खर्ब ४३ अर्ब अर्थात् १३ दशमलव १ प्रतिशत, गण्डकी प्रदेशको ५ खर्ब ९३ अर्ब तथा सुदूरपश्चिम प्रदेशको ४ खर्ब ६४ अर्ब रुपैयाँ रहने प्रक्षेपण गरिएको छ । सबैभन्दा कम योगदान कर्णाली प्रदेशको रहने अनुमान गरिएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ऋषिराम सिग्देलले जानकारी दिएका छन् । कर्णालीमा २ खर्ब ७७ अर्ब रुपैयाँ अर्थात् ४ दशमलव २ प्रतिशत योगदान रहने तथ्यांकमा उल्लेख छ । स्थिरमूल्यमा मापन गरिएको प्रदेशगत कुल ग्राहस्थ्यउत्पादन वृद्धिदरमध्ये सबैभन्दा उच्चवृद्धि बागमती प्रदेशमा देखिएको छ ।

बागमती र गण्डकी राष्ट्रिय औसतभन्दा माथि, मधेश कमजोर

चालु आर्थिक वर्ष २०८२÷८३ मा बागमती र गण्डकी प्रदेशको अर्थतन्त्र विस्तार राष्ट्रिय औसतभन्दा राम्रो हुने देखिएको छ । चालु आर्थिक वर्षमा बागमतीको आर्थिक वृद्धिदर सबैभन्दा धेरै ५ दशमलब ४० प्रतिशत बराबर हुनेछ । गत आर्थिक वर्षमा यो वृद्धिदर ५ दशमलव २९ प्रतिशत रहने संशोधित अनुमान गरिएको थियो । गण्डकीको ५ दशमलब ०१ प्रतिशत हाराहारी हुनेछ । चालु आर्थिक वर्षमा राष्ट्रिय कुल ग्राहस्थ उत्पादन वार्षिक वृद्धिदर ३ दशमलब ८५ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।

सोही आधारमा राष्ट्रिय औसतको तुलनामा बागमती र गण्डकीको आर्थिक वृद्धिदर राम्रो हुने देखिएको छ । अन्य प्रदेशमध्ये सबैभन्दा कमजोर आर्थिक वृद्धिदर मधेशको हुने निर्देशक सिग्देलले जानकारी दिए । मधेशको १ दशमलब ३१ प्रतिशतमात्र आर्थिक वृद्धि हुनेछ । यसबाहेक कोशीको ३ दशमलब १३, लुम्बिनीको २ दशमलब ८७, कर्णालीको २ दशमलब ९४ र सुदूरपश्चिम प्रदेशको ३ दशमलब २८ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान कार्यालयको छ । यसवर्ष कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमको आर्थिक वृद्धिदर अंक गत आवको तुलनामा सुधार भएको देखिन्छ । कोशीको गतवर्षको वृद्धिदर २.७२ प्रतिशत रहेकोमा अहिले ३.१३ प्रतिशत छ ।

मधेशको गतवर्ष ४.४३ प्रतिशत रहेकोमा अहिले १.३१ प्रतिशतमात्र भएको छ । बागमतीको गतवर्ष ५.२९ प्रतिशत वृद्धि भएकोमा अहिले ५.४० प्रतिशत हाराहारी वृद्धिदर देखिन्छ । यसवर्ष कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमको आर्थिक वृद्धिदर अंक गत आवको तुलनामा सुधार भएको देखिन्छ । कोशीको गतवर्षको वृद्धिदर २.७२ प्रतिशत रहेकोमा अहिले ३.१३ प्रतिशत छ । यसैगरी गण्डकीको गतवर्ष ४.९२ प्रतिशतको वृद्धि भएकोमा अहिले ५.०१ प्रतिशतले अर्थतन्त्र विस्तार भएको देखिन्छ ।

लुम्बिनीको भने गतवर्ष ४.२७ प्रतिशत रहेकोमा अहिले घटेर २.८७ प्रतिशतमात्र हुने अनुमान कार्यालयको छ । कर्णालीको गतवर्ष ५.२५ प्रतिशतको आर्थिक वृद्धिदर अहिले घटेर २.९४ प्रतिशत कायम भएको छ । सुदूरपश्चिमको गतवर्ष ३.२१ प्रतिशतको वृद्धि रहेकोमा अहिले सामान्य बढेर ३.२८ प्रतिशत भएको अनुमान कार्यालयको छ ।

बागमतीबाहेक सबै प्रदेशमा कृषि योगदान बढी

औद्योगिक वर्गीकरण अनुसार बागमती बाहेक अन्य सबै प्रदेशमा कृषिको योगदान सबैभन्दा बढी रहेको छ । तर, बागमती प्रदेशमा भने थोक तथा खुद्रा व्यापारक्षेत्रको योगदान सबैभन्दा उच्च देखिएको छ । चालू आर्थिक वर्षमा प्रदेशको कुल ग्राहस्थ्यउत्पादनमा व्यापारसेवाको हिस्सा २१ दशमलव ७१ प्रतिशत रहने अनुमान गरिएको छ । पानी आपूर्ति तथा फोहोर व्यवस्थापन क्षेत्रको योगदान सबैभन्दा कम, ० दशमलव २६ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष २०८२÷८३ मा प्रदेशका सबै आर्थिक क्रियाकलापको कुल मूल्य अभिवृद्धि धनात्मक रहने अनुमान गरिएको छ ।

तथ्यांकअनुसार सबैभन्दा धेरै वृद्धि विद्युत् तथा ग्यासक्षेत्रमा २२ दशमलव ८८ प्रतिशत रहने अनुमान गरिएको छ भने सार्वजनिक प्रशासन तथा रक्षाक्षेत्रमा सबैभन्दा कम, ० दशमलव ६१ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा खानी तथा उत्खनन क्षेत्रको वृद्धि सबैभन्दा न्यून रहेको संशोधित अनुमान छ । प्रदेशमा विद्युत् उत्पादन तथा उपभोग दुवै बढेको देखिएको छ । यातायात तथा भण्डारण, वित्तीय संस्थामा बचत तथा कर्जाप्रवाह, बीमा प्रिमियम र घरजग्गा कारोबारमा वृद्धि भएको तथ्यांकले देखाएको छ । सरकारी खर्च न्यून हुँदा सार्वजनिक सेवा तथा रक्षाक्षेत्रमा भने न्यून वृद्धि भएको अनुमान गरिएको छ ।

प्रतिव्यक्ति आय बागमतीमा २६४४ डलर
प्रतिव्यक्ति आयतर्फ

राष्ट्रिय औसत १ हजार ५ सय १३ अमेरिकी डलर हुने अनुमान छ । प्रदेशगत हेर्दा भने सबैभन्दा अगाडि बागमती छ । बागतमीको प्रतिव्यक्ति आय २ हजार ६ सय ४४ डलर हुने अनुमान कार्यालयको छ ।बागतमीको प्रतिव्यक्ति आय २ हजार ६ सय ४४ डलर हुने अनुमान कार्यालयको छ । गण्डकी १ हजार ६ सय ५१, कोशी १ हजार ४ सय १०, लुम्बिनी १ हजार २ सय ८, सुदूरपश्चिम १ हजार १ सय ७०, कर्णाली १ हजार १ सय ८ र मधेशको प्रतिव्यक्ति आय ९ सय ३४ डलर हुने अनुमान सार्वजनिक गरिएको छ ।

प्रादेशिक लेखा अनुमान आर्थिक वर्षको पहिलो ६ देखि ८ महिनासम्म उपलब्ध आँकडा तथा सूचनाको आधारमा बाँकी अवधिमा आर्थिक गतिविधि सामान्य रहने अपेक्षासहित तथ्यांकीय विधिबाट तयार गरिने राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । मकवानपुरस्थित तथ्यांक कार्यालयका प्रमुख देवेन्द्रलाल कारञ्जितको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव दीपेन्द्रकुमार झा प्रमुखअतिथि रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*