१० महिनामा २ हजार ७३७ केजी गाँजा बरामद

साझाकुरा
२०८३ जेष्ठ ७, बिहीबार १२:४४

हेटौंडा-जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्मको १० महिनाको प्रगतिविवरण सार्वजनिक गरेको छ ।बुधबार पत्रकार सम्मेलन मार्फत कार्यालयले यो अवधिमा गरेका गतिविधि तथा कामकारबाहीको विवरण सार्वजनिक गरिएको हो । प्रहरीप्रमुख प्रहरीउपरीक्षक श्याम बहादुर खत्रीले सार्वजनिक गरेको तथ्यांकअनुसार १० महिनाको अवधिमा प्रहरीले २ हजार ७ सय ३७ किलोग्राम लागूऔषध गाँजा बरामद गरेको हो । यसअवधिमा १ सय २१ किलो ४ सय ३० ग्राम चरेश, २८ किलो अफिम तथा २ सय ७ ग्राम खैरोहेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी प्रहरीले २७ हजार ६ सय ३१ क्याप्सुल ट्रामाडोल बरामद गरेको छ ।

लागूऔषध ओसारपसारमा संलग्न ३ सय ६ जनालाई पक्राउ गरिएको तथा प्रयोग भएका ३४ वटा सवारीसाधन नियन्त्रणमा लिइएको जानकारी दिइएको छ । घरेलुमदिरा नियन्त्रण अभियानअन्तर्गत कारबाही, जरिवाना तथा कैदमार्फत् प्रहरीले ४४ लाख ३९ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । यस्तै २२ लाख २६ हजार रुपैयाँ बराबरका भन्सारछलीका सामग्री बरामद गरिएको प्रहरीप्रमुख खत्रीले जानकारी दिएका छन् । साउनदेखि वैशाखसम्म मकवानपुरमा ९२ वटा मोटरसाइकल चोरी भएकोमा प्रहरीले १६ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रण अन्तर्गत प्रहरीले हालसम्म एउटा स्काभेटर, २० वटा टिपर र १ सय १ वटा ट्याक्टरमाथि कारबाही गरेको छ । ती सवारीसाधनबाट ९ लाख ७३ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।

मादकपदार्थ सेवन गरी सवारी चलाउने ४ सय जनामाथि कारबाही गर्दा २ लाख ५२ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ । लागूऔषध सेवन गरी सवारी चलाउने ३१ जनाविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । प्रविधिको विकाससँगै मकवानपुरमा साइबर अपराधका घटना पनि बढ्दै गएको तथ्यांकले देखाएको छ । साउनदेखि वैशाखसम्म २ सय ५५ वटा अनलाइन ठगी तथा स्क्यामसम्बन्धी घटनादर्ता भएका छन् । यसअवधिमा फेसबुक ह्याकका १६, फेक फेसबुक आइडीका १९ तथा टिकटक लगायत सामाजिक सञ्जालमार्फत् भएका १५ वटा अपराधका घटनादर्ता भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी हराएका तथा चोरी भएका ५ सय ८१ मोवाइलमध्ये १ सय ५ वटा मोवाइल फेला पारिएको छ । घरेलुहिंसाका ४ सय ७ वटा घटनादर्ता भएकोमा ३ सय २८ वटा मिलापत्र गरिएको प्रहरीले जनाएको छ । ३४ वटा घटनालाई सम्बन्धित निकायमा पठाइएको तथा १७ वटा घटनाको फस्र्योट हुन बाँकी रहेको जानकारी दिइएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीले ७ सय ९ वटा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*