भीमफेदीबाट सिस्नेरी पुग्ने वैकल्पिक सडक बिस्तार
हेटौंडा-बागमती प्रदेशको राजधानी हेटौंडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने मार्गअन्तर्गत् भीमफेदी–देउराली–सिस्नेरी सडकखण्डको विकल्पकारुपमा ‘भीमफेदी–कोगटे–इपा–सिस्नेरी’ खण्ड विस्तार गर्न प्रदेश सरकारले चासो देखाएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा.दिनेशचन्द्र देवकोटाले प्राविधिक टोलीसहित प्रस्तावित सडक खण्डको स्थलगत निरीक्षण गरेका छन् । भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाको निमन्त्रणामा मन्त्री डा. देवकोटा, यातायात पूर्वाधार निर्देशनालयका निर्देशक नवीनकुमार सिंह र पूर्वाधार विकास कार्यालय मकवानपुरका प्रमुख सुजन भण्डारीसहितको टोलीले वैकल्पिक सडकको सम्भाव्यता अध्ययन तथा अनुगमन गरेको हो । अनुगमनका क्रममा मन्त्री डा. देवकोटाले त्यहाँको भौगोलिक अवस्था, हरित उद्यमशीलता, पकेटक्षेत्र विस्तार र पर्यटकीय सम्भाव्यता बारे जानकारी लिएका थिए ।
यो सडक निर्माण हुँदा भीमफेदी गाउँपालिकाको कोगटे, इपालगायत क्षेत्रका स्थानीयको जीवनयापन सहज हुनुका साथै भीमफेदीबाट सिस्नेरी आवतजावत गर्न यो एक प्रभावकारी वैकल्पिक मार्ग बन्नसक्ने उनले बताए । यो सडक विस्तार गर्न प्रदेश सरकार सकारात्मक रहेको बताउँदै उनले यसलाई भौतिक पूर्वाधार विकासमा मात्र सीमित नराखी स्थानीयको आयआर्जन र हरित उद्यमशीलताका लागि पकेटक्षेत्र बनाएर काम गर्नुपर्नेमा जोड दिए । ‘सडक बनाएर सहरको सामान मात्र गाउँ ल्याउने परिपाटी अन्त्य गर्नुपर्छ । गाडीले बजारबाट जंक फुड मात्र ल्याउने होइन, गाउँबाट फर्किंदा ग्रामीण कृषि उत्पादनले भरिनु आवश्यक छ,’ मन्त्री देवकोटाले भने, ‘पालिकाले साझेदारी मोडलमा कृषि र पर्यटनमा आधारित उद्यमशीलताका कार्यक्रम सञ्चालन गर्न कृषि तथा पर्यटन मन्त्रालयसँग समन्वय गर्नुपर्छ ।’
उच्चपहाडी भेगमा अवस्थित कोगटेको पानीले तल्लोतटीय क्षेत्र इपा सिञ्चित छ । यहाँको उर्वर भूमिमा तरकारी खेतीको प्रचुर सम्भावना छ । प्राकृतिक छटाले भरिपूर्ण इपा खोलाका दह पौडी पारखीका लागि आकर्षणको केन्द्र बनेका छन् । त्यहाँ नुहाउन दैनिक ५०० देखि ७०० सय पौडीपारखी आउने गरेका छन् । हेटौंडामा उखरमाउलो गर्मी हुँदा कोगटेमा लाग्ने चिसो कुहिरोले पर्यटकलाई लोभ्याउँछ भने मौसम खुल्दा देखिने हिमशृंखला र तराईका फाँटले पर्यटकलाई मन्त्रमुग्ध बनाउँछन् । लालीगुराँस फूल्दा वन सजिन्छ अनि काफलले मुख मिठ्याउँछ ।
यसका अतिरिक्त, यहाँ पातमात्रै प्रतिकिलो ३ सयदेखि ४ सय रुपैयाँसम्ममा बिक्री हुने ‘सिल्भर डलर’को खेती हुनेगर्छ । विगत ३ वर्षदेखि सुरु भएको सिल्भर डलर खेतीले उत्पादन दिन थालिसकेको छ । स्थानीय कृषक बसुचुनी मगरले चालु आर्थिक वर्षमा सिल्भर डलरको पात प्रतिकिलो ३ सय रुपैयाँका दरले बिक्री गरेकी थिइन् ।
प्राविधिकरुपमा उपयुक्त र सुरक्षित विकल्प
विगतमा जिल्ला विकास समिति र साविकका गाविसले ट्रयाक खोलेको यो सडकमा पुनर्निर्माण प्राधिकरणले आवश्यक स्थानमा पक्की पुल निर्माण गरिसकेको छ । ‘यो सडक प्राविधिकरुपमा पनि अत्यन्तै सम्भाव्य रहेको प्राविधिक प्रतिवेदनले देखाएको छ,’ अध्यक्ष लामाले भने, ‘यसलाई प्रादेशिक सडककारुपमा प्रदेश सरकारले अपनत्व लिएर स्तरोन्नति गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’प्रस्तावित मार्गको लम्बाइ करिब ३० किलोमिटर रहेको छ । जसमध्ये ९ किलोमिटर खण्ड कालोपत्रे भइसकेको छ भने आवश्यक तीनमध्ये दुईवटा पुलको निर्माण सम्पन्न भइसकेको छ । अब डोढारे खोलाको पुल बन्न मात्र बाँकी छ । यो हालको सडकभन्दा करिब २ किलोमिटर लामो भएपनि बढी स्थिर र कम जोखिमपूर्ण रहेको दाबी गरिएको छ । देउरालीको घुम्ती र त्यहाँ हुने ट्राफिक जामको अन्त्यका लागि यो सडक कोसेढुंगा सावित हुने अध्यक्ष लामा बताउँछन् ।
करिब ५० करोड रुपैयाँ लगानी गरेमा यो सडक पूर्णरुपमा व्यवस्थित हुने अनुमान गाउँपालिकाको छ । यस सडकको निर्माणले भीमफेदीको माथिल्लो भेग तथा साविकका इपा र कोगटे गाविसका बासिन्दालाई प्रत्यक्ष फाइदा पुग्नेछ ।विशेषगरी यहाँ उत्पादित कृषिउपजलाई हेटौंडा र काठमाडौंका बजारसम्म पु¥याउन सहज पहुँच हुने अध्यक्ष लामाले बताए । ‘प्रदेश सरकारका मन्त्री र सम्बन्धित निकायका प्रमुखहरु यो सडकको विकासमा सकारात्मक हुनुहुन्छ,’ लामाले थपे, ‘आगामी आर्थिक वर्षको बजेटमा यसलाई बहुवर्षीय खरिद प्रक्रियामार्फत् निर्माणमा लैजानेमा हामी विश्वस्त छौँ ।’मन्त्री देवकोटाको स्थलगतनिरीक्षण र सकारात्मक प्रतिबद्धतापछि यो वैकल्पिक मार्ग निर्माणले आगामी आर्थिक वर्षदेखि नै गति लिनेमा स्थानीय बासिन्दा आशावादी छन् ।







