उद्योग मन्त्री यादवद्वारा हेटौंडा सिमेन्ट उद्योगको अनुगमन
हेटौंडा-उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री गौरी कुमारी यादवले हेटौंडा सिमेन्ट उद्योगको आइतबार स्थलगत अनुगमन गरेकी छिन् । हाल बन्द अवस्थामा रहेको उद्योग बन्द हुनुको कारणबारे मन्त्री यादवले उद्योगका कर्मचारी र ब्यवस्थापन टिमबाट जानकारी लिइन् । उद्योगका महाप्रबन्धक शिबनारायण साह र नायवमहा प्रबन्धक प्रशासन भक्तिराम श्रेष्ठले उद्योगको अवस्थाको बारेमा मन्त्री यादवलाई जानकारी गराए । कच्चा पदार्थ कोईलाको अभाव भएको र मर्मतकार्य समेत बाँकी रहेका कारण हाल हेटौंडा सिमेन्ट उद्योग बन्द अवस्थामा रहेको छ । उद्योगले कच्चापदार्थ कोइला आयात गर्दा भुक्तानी दिन बाँकी रहेको ३२ करोड रुपैयाँ हालसम्म भुक्तानी दिन सकेको छैन ।
उद्योगबिरुद्ध सप्लायर्स कम्पनीले अदालतमा मुद्दा दिएका कारण उद्योगको खाता अदालतको आदेशअनुसार रोक्का रहेको उद्योग ब्यवस्थापनले मन्त्री यादवलाई जानकारी गराएको थियो । हेटौंडा सिमेन्ट उद्योगका एकसय ३४ जना कर्मचारीले एक वर्षदेखि तलब पाएका छैनन् । सेवानिबृत्त ७७ जना कर्मचारीको उपदान औषधिउपचारलगायत रकमसमेत गरी ६५ करोड भुक्तानी गर्न अवकाशप्राप्त पीडित कर्मचारी संघर्ष समितिले मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । लगातार बन्द अबस्थामा रहेको उद्योगको आर्थिक दायित्व एक अर्ब नाघिसकेको छ ।
उद्योग निरीक्षणपश्चात् आयोजित छलफलमा मन्त्री यादवले सरकारको स्वामित्वको सिमेन्ट उद्योग बन्द हुनु अत्यन्तै दुःखद भएको बताउँदै सरकार बन्द रहेका सबै उद्योग सञ्चालन गर्ने तयारीमा रहेको दाबी गरिन् । ‘हेटौंडा सिमेन्ट उद्योग नियमितरुपमा कसरी सञ्चालन गर्न सकिन्छ, त्यस विषयमा हामीले अध्ययन गरिरहेका छौँ,’ मन्त्री यादवले भनिन्, ‘थुप्रै निजी सिमेन्ट उद्योग नियमित सञ्चालन हुने तर, सरकारी स्वामित्वको सिमेन्ट उद्योग चलाउन नसकेर बन्दहुने यो असाध्यै दुःखद कुरा हो ।’
सरकारले हेटौंडा सिमेन्ट उद्योगको समस्यालाई गम्भीरतापूर्वक लिएको छ, छिट्टै सबै समस्या समाधान गरेर नियमित सञ्चालनको वातावरण बनाउने मन्त्री यादवको भनाइ छ । ‘उद्योग बन्द हुँदा रोजगारीमात्र गुम्दैन, देशको आर्थिक अवस्थामा पनि असर पर्छ,’ मन्त्री यादवले भनिन्, ‘त्यसैले जसरी भएपनि सिमेन्ट उद्योगलाई सञ्चालन गर्न सरकार चाहिरहेको छ, यसमा सबैको सहयोग आवश्यक छ ।’ सरकार एक्लैले मात्र चाहेर उद्योग नियमित चल्न नसक्ने भएकाले यसमा व्यवस्थापन र कर्मचारीको पनि त्यत्तिकै सहयोग आवश्यक रहेको उल्लेख गर्दै मन्त्री यादवले बन्द अवस्थामा रहेको हेटौंडा सिमन्ट उद्योग नियमित सञ्चालनका लागि सरकार सहयोग गर्न प्रतिबद्ध रहेको बताइन् ।
कार्यक्रममा हेटौंडा सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक साहले मेसिन पुरानो र जीर्ण भएकाले समयसमयमा बिग्रिने र आर्थिक संकटका कारण कच्चापदार्थको आपूर्ति हुन नसक्दा उद्योग बन्द भएको जानकारी दिए । मेसिनको मर्मतसम्भार गरेर समयसमयमा थोरै भएपनि सिमेन्ट उत्पादन गर्दै आएकामा पछिल्लो समय कच्चापदार्थको आपूर्ति हुन नसक्दा उद्योग बन्द गर्नुपरेको जानकारी दिँदै निमित्त महाप्रबन्धक साहले आर्थिक समस्याका कारण कर्मचारीलाई ११ महिनादेखि तलबभत्ता उपलब्ध गराउन नसकिएको, कच्चापदार्थ आपूर्तिकर्ताको पुरानो बक्यौता तिर्न नसकेको, बिजुली महसुल भुक्तानी गर्नेलगायत समस्या अवगत गराए ।
तत्काल देखिएको आर्थिक समस्यालाई समाधान गर्न सकिए उद्योग नियमित सञ्चालन गर्न सकिने उनको भनाइ थियो । उद्योग घाटामा जानुका पछाडि प्लान्टमा जोडिएका पुराना मेसिन मुख्य कारण रहेको कर्मचारीहरु बताउँछन् । उद्योगको वार्षिक उत्पादन क्षमता ७ सय २२ मेट्रिकटन हो । तर, क्षमता भन्दा कम परिमाणमा सिमेन्ट उत्पादन गरेका कारण उद्योगले सञ्चालन खर्च पनि धान्न सकिरहेको छैन । उद्योगको किल विभागमा कार्यरत कर्मचारी रुबिन माझी धेरैपछि खुलेका निजी उद्योगले आधुनिक प्लान्ट जडान गरेका कारण झन्डै दोब्बरभन्दा बढी नियमित उत्पादन गरिरहेको तर, प्रसस्त पूर्वाधार हुँदा पनि हेटौंडा सिमेन्ट उद्योगले भने विविध समस्यासँगै पुरानो प्लान्टकै कारण उत्पादनमा गति लिन नसकेको बताउँछन् ।
‘धेरै पुरानो मोडलको मेसिन भएकाले कतिपय स्पयर्स पार्ट पाउँदैन । अहिले भएको मोडलका मेसिन पुराना भइसके । जसले एक महिनामा ३ करोड ७० लाखसम्म बिजुलीको बिल निकाल्छन्,’ उनले भने, ‘यिनै मोटरबाट काम हुन सक्दैन भनेर पनि हामी मन्त्रालयमा प्रस्तावमा पठाएका छौँ । हामीले एउटा १ अरब ६० करोडको प्रस्ताव मन्त्रालयमा पठाएका छौँ । २८ सयदेखि ३ हजार मेट्रिकटन उत्पादन क्षमता राख्छ ।’ २०३३ सालमा हेटौंडाको लामसुरेमा स्थापना भएको उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । अहिले उपकरण पुरानो भइसकेको र राम्ररी उत्पादन गर्न सक्ने अवस्थामा नरहेको प्राविधिकको भनाइ छ ।








