नेवारी सँस्कृति संरक्षण गर्न ‘नेवाः फुड फेस्टिबल’

साझा कुराकानी
२०८३ जेष्ठ ११, सोमबार १२:५१

हेटौंडा उपमहानगरपालिकामा पहिलो पटक ‘नेवाः फुड फेस्टिबल’ आयोजना हुने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. २ को आयोजनामा आगामी जेठ १५, १६ र १७ गते तीन दिनसम्म सञ्चालन हुने फेस्टिबलमा नेवारी समुदायको मौलिक खानपान, भेषभूषा, परम्परागत गीत, संगीत तथा नृत्य प्रस्तुत गरिने आयोजकले जनाएको छ । यही विषयमा केन्द्रित रहेर हामीले हेटौंडा उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष विष्णुगोपाल महर्जनसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, उहाँसँग गरिएको कुराकानीको सम्पादित अंशः

नेवाः फुड फेस्टिबल आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?

मुख्यगरी नेवाः फुड फेस्टिबल आयोजना गर्नुको उद्देश्य नेवारी कला, सँस्कृति र परम्परागत खानपानको संरक्षण गर्नु नै हो । पछिल्लो समय युवा पुस्तामा नेवारी सँस्कृति र परिकारप्रतिको चासो कम हुँदै गएको महशुस गरेका छौँ । त्यसैले नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचान, खानपान र भेषभुषासँग परिचित गराउने उद्देश्यले फेस्टिबल आयोजना गर्न लागेका हौँ ।

हेटौंडामा पहिलो पटक यस्तो फेस्टिबल आयोजना गर्दा कस्ता चुनौती सामना गर्नुपरेको छ ?

ठूलो चुनौती त खासै छैन । मौसमले केही असर गर्न सक्ने देखिन्छ । हामीले यो कार्यक्रम पुस महिनामै गर्ने योजना बनाएका थियौँ । तर, विविधकारणले सम्भव भएन । अहिले वर्षा र हावाहुरीको मौसम भएकाले केही कठिनाइ हुनसक्छ । अर्को कुरा, फेस्टिबल सञ्चालनका लागि वडा नं. २ बाट ३ लाख रुपैयाँ र उपमहानगरपालिकाबाट १ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । कूल अनुमानित लागत नौलाख ४० हजार रुपैयाँ रहेको छ । बाँकी रकम व्यवस्थापन गर्नु पनि हाम्रो लागि चुनौतीपूर्ण पक्ष हो ।

यस्तो फेस्टिबलले नेवार समुदायको संस्कृति संरक्षणमा कस्तो योगदान पु¥याउँछ भन्ने अपेक्षा गर्नुभएको छ ?

बागमती प्रदेश नेवार र तामाङ समुदायको बाहुल्य रहेको प्रदेश हो । प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने निर्णयसमेत गरिसकेको छ । यही सन्दर्भमा स्थानीय सरकारले पनि मौलिक सँस्कृति संरक्षणमा जोड दिएको हो । फेस्टिबलमा हामीले ‘टिपिकल सुकु भोज’ प्रस्तुत गर्दैछौँ । यो परिकार हेटौंडामा सहजै पाइँदैन । त्यसैले हेटौंडाबासीका लागि यो नयाँ स्वाद र अनुभव हुनेछ । यसबाट अन्य समुदायका मानिसले पनि नेवार समुदायको सँस्कृति, परम्परा र खानपानबारे जानकारी पाउने अपेक्षा गरेका छौँ ।

सुकु भोज’ मा कस्ता परिकार समावेश हुन्छन् ?

नेवार समुदायमा बच्चाको पास्नी, सूर्यदर्शन, व्रतबन्ध, विवाह, वार्षिकोत्सव, रथारोहण तथा गुठी भोजमा सुकु भोज गर्ने परम्परा छ । परिवारका सदस्यको मृत्यु संस्कारपछि पनि सुकु भोज गर्ने चलन रहेको छ । पहिले अधिकांश जात्रा र चाडपर्वमा सुकु भोज गरिने भएपनि अहिले यो परम्परा केही सीमित बन्दै गएको छ । आधुनिक जीवनशैलीसँगै पार्टी प्यालेसमा भोज गर्ने चलन बढेको छ ।
सुकु भोजमा चिउरा, लप्ते, अचार, हरियो लसुन, द्याकागु ला, केराउ, चना, सिमी, सिम्पु, काउली, आलु, छ्याला, तकोला, हरियो साग, अमिलो, भुटन र दहीजस्ता परिकार समावेश हुन्छन् । भोजको अन्त्यमा केराउ, मुला, गाँजर र फलफूल मिसाइएको सलादसमेत राख्ने परम्परा छ ।

महोत्सवमा कलाकार व्यवस्थापन कसरी गर्नुभएको छ ?

महोत्सवमा नेवारी समुदायको सँस्कृति झल्कने साँस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिनेछ । त्यसका लागि स्थानीय कलाकारहरूको व्यवस्थापन गरेका छौँ । साथै काठमाडौंका कलाकार निशा देसार, रत्न शोभा महर्जन तथा सरेन्द्र मानन्धरको टोलीसँग पनि छलफल भइरहेको छ ।

फेस्टिबलमा कति दर्शक सहभागी हुने अनुमान गर्नुभएको छ ?

जेठ १५, १६ र १७ गते सञ्चालन हुने फेस्टिबलमा १५ हजारभन्दा बढी दर्शक तथा अवलोकनकर्ता सहभागी हुने अनुमान गरेका छौँ । हामीले अनुमान गरेअनुसार मकवानपुर जिल्लाको अधिकांश क्षेत्रबाट अवलोकनकर्ताहरु आउँछन् भने छिमेकी जिल्लाहरुबाट पनि यो कार्यक्रमको बारेमा चासो दिइरहेको पाइएकोले उपस्थिति हुन्छ भन्ने आशामा छांै ।

आगामी वर्ष पनि यस्तो फेस्टिबल आयोजना गर्ने योजना छ कि ?

पक्कै पनि छ । यसवर्ष सीमित बजेटमा कार्यक्रम आयोजना गरेका छौँ । यस वर्षको कार्यक्रमको सफलतासंगै आगामी वर्षको योजना गर्छौैै । सुरुको वर्ष भएकोले यसवर्ष के कस्तो हुन्छ आयोजना गर्न र समिक्षा गर्न बाँकी नै छ । यसवर्ष जस्तो भएपनि सक्दोराम्रोसंग आयोजना गर्नेछौं । आगामी आर्थिक वर्षदेखि अझ व्यवस्थित र बृहत्रुपमा फेस्टिबल सञ्चालन गर्ने योजना छ । वडा र नगर दुबैबाट ५–५ लाख रुपैयाँ बजेट विनियोजन गरेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएका छौँ ।

यसमा तपाइको मत

Your email address will not be published.


*