‘मेरो योजनालाई कार्यान्वयन गर्ने मौका दिनुहोस्’

साझाकुरा
२०८१ पुष २४, बुधबार ०९:५३

मकवानपुर उद्योग वाणिज्य संघको यही पुस २७ गते हुन लागेको निर्वाचनलाई लक्षित गर्दै, संघको नेतृत्व लिने तयारीमा रहेका अध्यक्षका उमेद्वार प्रमोदसिंह रानाभाटसँग साझाकुरा दैनिकका लागि गरिएको कुराकानीको सम्पादित अंश ।

सम्बाददाता: संघको नेतृत्वको दौडमा तपाईंको उम्मेदवारी धेरैका लागि चासोको विषय भएको छ । तपाईंको दृष्टिकोण, योजना र अनुभवबारे कुरा गरौं । तपाईंको उम्मेदवारीको प्रमुख उद्देश्य के हो र संघलाई तपाईं कसरी बदल्न चाहनुहुन्छ ?

रानाभाटः मकवानपुर उद्योग वाणिज्य संघ केवल एउटा ब्यवसायिक संस्था मात्र नभएर यस क्षेत्रका समाज र व्यवसायीको आवाज हो । मेरो उमेद्वारीको प्रमुख उद्देश्य भनेको यस संघलाई एकीकृत बनाउँदै व्यवसायीको समस्याको समाधान गर्ने एउटा बलियो संस्थाको रुपमा स्थापित गर्नु हो । म संघलाई पारदर्शी, उत्तरदायी र व्यवसायीक सहजीकरणमा अगाडि ल्याउन चाहन्छु । यसलाई डिजिटलाइजेसन, समावेशी नीति र सहजीकरणमार्फत प्रभावकारी बनाउने मेरो योजना छ । बिगतका दिनमा संघले निजी क्षेत्रको प्रतिनिधित्व गरी सरकारसँग सहकार्य गर्दै आएको थियो । यसलाई अझै प्रभावकारी बनाउनु जरुरी छ ।

सम्बाददाताः यो डिजिटाइजेसन र सहजीकरणको कुरा निकै प्रभावकारी लाग्यो । तपाईंको नेतृत्वमा संघलाई कसरी डिजिटल प्रणालीमा लैजाने योजना छ ?
रानाभाटः बर्तमान समयमा प्रबिधिमैत्री जीवनपद्धतिको विकास हुनु जरुरी भइसकेको छ । आजको युगमा डिजिटल प्रणाली अनिवार्य बनिसकेको अवस्थामा संघका सबै सेवाप्रणालीलाई अनलाइन मार्फत् संचालनमा ल्याउने ब्यवस्था गराउनेछु । सदस्यता नवीकरणदेखि समस्या दर्ता र समाधान प्रक्रियासम्म सबै कुरा डिजिटल हुनेछ । यसले व्यवसायीले समय र स्रोत बचत गर्न सक्नेछन् । यस्तै, संघको आधिकारिक मोवाइल एप्लिकेशन पनि विकास गर्ने योजना छ, जसले सूचना, तालिमका अवसर र सरकारी नीति परिवर्तनसम्बन्धी खबर तुरुन्तै सदस्यसम्म पु¥याउनेछ ।

सम्बाददाताः मोवाइल एप्लिकेशन र डिजिटल प्रणालीको योजना राम्रो छ । तर, ग्रामीणक्षेत्रमा पहुँच नभएका व्यवसायीलाई यो प्रणालीले कसरी फाइदा पु¥याउँछ ?
रानाभाटः यो विषयमा पनि प्रबिधिलाई अधिकतम उपयोग नीति लिन सकिनेछ । ग्रामीण क्षेत्रमा पनि मोवाइल डाटा चलाएर हाम्रो एपमार्फत काम गर्ने वातावरण बनाउन सकिन्छ । हामी डिजिटल प्रणालीसँगै ग्रामीण पहुँचका लागि ‘मोवाइल सहजीकरण टोली’ खडा गर्नेछौं । यी टोलीले ग्रामीण व्यवसायीको समस्या सुन्ने, उनीहरुको तर्फबाट दर्ता गर्ने र समस्या समाधान गर्ने काम गर्नेछन् । यस्तो समन्वयले ग्रामीण व्यवसायीलाई थप सशक्त बनाउनेछ । प्रबिधिले ग्रामीण क्षेत्र र सहरी क्षेत्र भनेर छुट्याउँदैन ।

सम्बाददाताः मकवानपुरका व्यवसायीले यतिबेला भोगिरहेका प्रमुख चुनौती के छन् र तपाईंको दृष्टिकोणमा तिनलाई कसरी सम्बोधन गर्न सकिन्छ ?
रानाभाटः व्यवसायीले अहिले दुई ठूला समस्या सामना गरिरहेका छन् । पहिलो, कर प्रणालीको अनियमितता र दोहोरो करको समस्या । दोस्रो, बैंकिङ प्रणालीमा कडाइ र उच्च ब्याजदर । यी दुवै समस्या समाधानका लागि संघले सरकार र बैंकसँग प्रत्यक्ष समन्वय गर्नेछ । करका सम्बन्धमा संघको एउटा ‘सल्लाहकार मञ्च’ बनाउनेछौं, जसले व्यवसायीलाई कानुनी विषयमा सहजीकरण प्रदान गर्नेछ । बैंकिङ समस्याको समाधानका लागि सहुलियतपूर्ण कर्जा र ऋण पुनर्संरचनाको बहस गरी निष्कर्षमा पुग्न सकिन्छ । निजी क्षेत्र र सरकार हातेमालो गर्नुको बिकल्प पनि त छैन ।

सम्बाददाताः तपाईंले सरकारसँग समन्वयको कुरा गर्नुभयो । तर, के तपाईंको अनुभवले संघलाई यस्तो सरकारी समन्वयमा सक्षम बनाउनेछ ?
रानाभाटः म लामो समयदेखि संघ र विभिन्न वस्तुगत संघका सदस्यको रुपमा सक्रिय छु । सरकार र स्थानीय प्रशासनसँग मेरो अनुभव र समन्वय क्षमताले संघलाईप्रभावकारीरुपमा नेतृत्व गर्न सक्षम बनाउँछ । यसअघि, मैले करसम्बन्धी धेरै समस्या समाधान गर्न पहल गरेको छु । त्यही अनुभवलाई म अध्यक्षको भूमिकामा उपयोग गर्न चाहन्छु । निजी क्षेत्रका उद्योगी ब्यवसायीले पनि त सरकारलाई कुनैपनि रुपमा सहयोग गरिरहेका छन् । निजी क्षेत्रबिना सरकार कसरी संचालन गर्न सकिन्छ र ?

सम्बाददाताः तपाईंको अनुभवबारे चर्चा गर्दा, तपाईंको योग्यता र पृष्ठभूमि व्यवसायिक नेतृत्वका लागि कस्तो रहेको छ ?
रानाभाटः मैले व्यवसायिक नेतृत्वको क्षेत्रमा १५ वर्षभन्दा बढी समय बिताएको छु । ब्यवसायीको पक्षमा काम गर्न पनि त नेतृत्व पक्षको क्षमताको कुरा होलान । मेरो व्यवसायिक करिअरमा मैले साना व्यवसायबाट सुरु गर्दै औद्योगिक क्षेत्रमा पनि काम गरेको छु । यसबाहेक, म संघका विभिन्न समितिको सदस्य भएर नीतिनिर्माण प्रक्रियामा सहभागी भएको छु । यी सबै अनुभवले संघलाई अग्रगामी बनाउन मेरो नेतृत्वले मजबुत बनाउँछ ।

सम्बाददाताः तपाईंको नेतृत्वले संघको भाबि कार्यदिशामा के कस्ता परिवर्तन ल्याउन सक्छ ?

रानाभाटः मेरो नेतृत्व समावेशी र नतिजा–केन्द्रित हुनेछ । म केवल समस्याको पहिचानमात्र होइन, तिनको समाधानमा तत्काल कदम चाल्न चाहन्छु । मेरो फरक क्षमतामा व्यवसायीको आवाजलाई प्राथमिकता दिनसक्ने सामथ्र्य र पारदर्शिता ल्याउने प्रतिबद्धता समावेश छ । संघका अग्रजहरुसँगको परामर्श, सरसल्लाहले संघको गतिबिधिलाई अगाडि बढाउन सकिन्छ ।

सम्बाददाताः अब तपाईंको टिमबारे कुरा गरौं । तपाईंले आफ्नो टिम पनि सार्वजनिक गर्नुभएको छ । यो टीमको सामूहिक बल र योगदान के हो ?
रानाभाटः मेरो टिम व्यवसायका विभिन्न क्षेत्रबाट आएका योग्य र अनुभवी सदस्यको संयोजन हो । कोषाध्यक्ष, महासचिव, उपाध्यक्षजस्ता हरेक सदस्यको भूमिका स्पष्ट छ । हाम्रा सदस्यको अनुभव र उत्साहले हामीलाई संघको लक्ष्य प्राप्त गर्न बलियो बनाउनेछ । विशेष गरी, महिलाको सहभागिता र युवा सदस्यको उत्साह हाम्रो टिमको प्रमुख बल हो ।

सम्बाददाताः तपाईंको टीमले महिलाको सहभागितालाई प्राथमिकता दिएको देखिन्छ । महिलाको भूमिकालाई संघमा कसरी सशक्त बनाउने योजना छ ?
रानाभाटः ब्यापारब्यवसायमा महिलाहरु निकै सक्षम छन् । बिगतमा महिला घरभित्र मात्रै सीमित हुनुपर्छ भन्ने सोचाई भएका मानिमा पनि हिजोआज परिवर्तन आएको छ महिला व्यवसायीको सीपविकास र उनीहरुको पहिचानलाई बलियो बनाउन ‘महिला उद्यमशीलता कोष’ स्थापना गर्ने योजना छ । यसबाट महिलालाई वित्तीय सहयोग, तालिम र बजार पहुँच दिलाउनेछौं । साथै, महिलाको समस्या सुनाउने ‘महिला समन्वय समिति’ पनि बनाउनेछौं ।

सम्बाददाताः अन्त्यमा, मकवानपुरका व्यवसायीसमक्ष तपाईंको केही सन्देश राख्नु पर्नेछ ?
रानाभाटः मकवानपुरलाई आर्थिकरुपमा बलियो बनाउनु हाम्रो सबैको साझा लक्ष्य हो । म, मेरो टिम र मेरो योजनाले व्यवसायिक विकासका लागि प्रतिबद्ध छु । यो संघ व्यवसायीको मात्र होइन, सम्पूर्ण मकवानपुरको भविष्य हो । त्यसैले, मलाई र मेरो टिमलाई मतदान गरेर हाम्रो योजनालाई कार्यान्वयन गर्ने मौका दिनुहोस् । म तपाईंहरुको विश्वासलाई कहिल्यै तोड्ने छैन । ब्यवसायी मतदाताले बिबेक प्रयोग गर्नुहुनेछ भन्ने कुरामा म र सि· टिम आशाबादी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*