थाहा नगरबाटै करसम्बन्धी आधारभूत सेवा सुरु

साझाकुरा
२०८३ असार ५, शुक्रबार १२:१८

हेटौंडा-थाहा नगरका नागरिक तथा व्यवसायीले करसम्बन्धी आधारभूत सेवा लिनका लागि हेटौंडासम्म धाउनुपर्ने बाध्यता हटेको छ । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका विभिन्न करसम्बन्धी सेवा बिहीबारदेखि थाहा नगरपालिकाबाटै औपचारिक रुपमा सञ्चालनमा आएका छन् । ‘आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुने करसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाट प्रवाह गर्ने सम्बन्धी कार्यविधि, २०८२’ बमोजिम थाहा नगरले सेवा शुभारम्भ गरेको हो । नगरपालिकामा आयोजित एक कार्यक्रमबीच सेवाग्राहीलाई प्यान प्रमाणपत्र वितरण गर्दै सेवाको औपचारिक उद्घाटन गरिएको थियो ।

सेवा सञ्चालनसँगै अब व्यक्तिगत तथा व्यावसायिक प्यान नम्बर जारी, बायोमेट्रिक दर्ता, राजस्व भुक्तानी, कर चुक्ता प्रमाणपत्र लगायत आधारभूत करसम्बन्धी सेवा थाहा नगरपालिकाबाटै प्राप्त गर्न सकिने भएको छ । यसबाट नगरवासीले समय, श्रम तथा अतिरिक्त खर्चको बचत गर्नसक्ने अपेक्षा गरिएको छ । सेवा शुभारम्भ कार्यक्रममा आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रमुख करअधिकृत युक्तप्रसाद सुवेदी, थाहा नगरपालिका प्रमुख विष्णुबहादुर विष्ट, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा थाहा नगरपालिका–३ निवासी राधिका रायमाझीलाई व्यक्तिगत स्थायी लेखानम्बर (प्यान) कार्ड प्रदान गरिएको थियो भने बीएम एकीकृत कृषि तथा पशुपन्छी फार्म र फुर्सोमाटा कृषि तथा पशुपन्छी फार्मलाई व्यावसायिक प्यान नम्बर वितरण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख विष्टले स्थानीय तहबाटै करसम्बन्धी सेवा उपलब्ध हुनु संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनको उदाहरण भएको बताए । उनले नगरवासीलाई सहज, छिटो र गुणस्तरीय सेवा प्रदान गर्नु नगरपालिकाको प्रमुख दायित्व रहेको उल्लेख गर्दै करसम्बन्धी सेवा स्थानीयस्तरमै उपलब्ध हुँदा नागरिकको सरकारी सेवाप्रतिको पहुँच थप सहज बन्ने विश्वास व्यक्त गरे ।

आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रमुख करअधिकृत सुवेदीले कर प्रशासनलाई नागरिकको घरदैलोमै पु¥याउने उद्देश्यअनुसार स्थानीय तहसँग सहकार्य गरी सेवा विस्तार गरिएको बताए । सामान्य सेवाका लागि करदाताले पटकपटक कार्यालय पुग्नुपर्ने अवस्थाको अन्त्य गर्न यो व्यवस्था प्रभावकारी हुने उनको भनाइ थियो । स्थानीय तहबाट सेवा प्रवाह हुँदा करदाताको सहभागिता बढ्नुका साथै कर प्रणालीप्रतिको विश्वास र पहुँचसमेत विस्तार हुने उनले बताए । थाहा नगरले सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी पूरा गरिसकेको जनाएको छ । स्थानीय स्तरमै करसम्बन्धी सेवा उपलब्ध हुन थालेपछि थाहा नगर तथा आसपासकाका नागरिक, उद्यमी र व्यवसायी प्रत्यक्षरुपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*