अग्रसर मल्टिप्रपोजद्वारा हेटौंडा–३ मा १० दिने बुके बनाउने तालिम सम्पन्न
हेटौंडा–मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ३ मा सञ्चालित १० दिने बुके बनाउने तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
अग्रसर मल्टिप्रपोज प्रा.लि.को आयोजना तथा हेटौंडा उपमहानगरपालिका वडा नं. ३ को आर्थिक सहयोगमा जेठ २७ गतेदेखि असार ५ गतेसम्म सञ्चालन गरिएको तालिममा वडाका ३५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।
तालिम समापन कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष ढलकबहादुर थापा प्रमुख अतिथि रहनुभएको थियो भने कार्यक्रमको सभाध्यक्षता अग्रसर मल्टिप्रपोज प्रा।लि।का प्रबन्ध निर्देशक भोजराज संजेलले गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्यहरू, वडा सचिव, प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
तालिमका प्रशिक्षक सुजिता सुवेदीले सहभागीहरूलाई १० दिनसम्म बुके निर्माणसम्बन्धी व्यावहारिक तथा व्यवसायिक ज्ञान प्रदान गर्नुभएको थियो । तालिममा विभिन्न प्रकारका आकर्षक बुके निर्माण, सजावट तथा व्यवसायिक रूपमा बुके उत्पादन र बिक्रीसम्बन्धी सीप सिकाइएको आयोजकले जनाएको छ ।
समापन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष थापाले स्थानीय नागरिकलाई सीप, ज्ञान र रोजगारीसँग जोड्ने उद्देश्यले आगामी दिनमा थप प्रभावकारी सीपमूलक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । उहाँले विभिन्न प्रकारका तालिममार्फत वडा बासीलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन वडा कार्यालय निरन्तर सक्रिय रहेको उल्लेख गर्नुभयो ।
त्यसैगरी सभाध्यक्ष तथा अग्रसर मल्टिप्रपोज प्रा.लि.का प्रबन्ध निर्देशक संजेलले सीपमूलक तालिमले व्यक्तिको क्षमता विकाससँगै आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार तथा उद्यमशीलताको क्षेत्रमा अघि बढ्न सहभागीहरूलाई आग्रह गर्नुभयो । साथै समुदायको आवश्यकता अनुसार आगामी दिनमा यस्ता सीपमूलक तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो ।
कार्यक्रमको समापनसँगै सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । सहभागीहरूले तालिमलाई अत्यन्त उपयोगी, व्यवहारिक तथा आयआर्जनका दृष्टिले महत्वपूर्ण रहेको प्रतिक्रिया दिएका थिए ।
अग्रसर मल्टिप्रपोज प्रा.लि.ले स्थानीय सरकारसँग सहकार्य गर्दै समुदायको आवश्यकता अनुरूप विभिन्न सीप विकास तथा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ ।










