थाहा गोल्डकप : उपाधिको लागि चित्लाङ र चन्द्रागिरीबीच प्रतिस्पर्धा

साझाकुरा
२०८३ असार ६, शनिबार १५:३३

हेटौंडा- मकवानपुरको थाहा नगरपालिकामा जारी छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि चित्लाङ एफसी र कुर्दन एकेडेमी चन्द्रागिरीबीच प्रतिस्पर्धा हुने भएको छ ।थाहा नगरपालिका–३ स्थित इन्द्रायणीचौरमा शनिबार दिउँसो १२ बजेदेखि फाइनल खेल हुनेछ । शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा आआफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै दुवै टोली फाइनलमा पुगेका हुन् । पहिलो सेमिफाइनलमा चित्लाङ एफसीले आयोजक शिखर क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय ग¥यो । पहिलो हाफमा १–० को अग्रता लिएको शिखर क्लबले दोस्रो हाफमा लगातार दुई गोल खाँदा फाइनल पुग्ने अवसर गुमायो । चित्लाङको जितमा साइमन लामा र सन्देश गोम्बाले समान एक–एक गोल गरे भने शिखर क्लबका प्रशान्त रजकले एक गोल फर्काए । उत्कृष्ट प्रदर्शन गरेका सन्देश गोम्बा ‘म्यान अफ द म्याच’ घोषित भए ।

यस्तै दोस्रो सेमिफाइनलमा कुर्दन एकेडेमी चन्द्रागिरीले बतासे फुटबल क्लबलाई ३–० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो । कुर्दनका सुजित बुढाथोकी, दावानोर्वु शेर्पा र अविरल रिजालले एक–एक गोल गरे । खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुजित बुढाथोकी ‘म्यान अफ द म्याच’ घोषित भए । प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रुपैयाँ, मेडल तथा प्रमाणपत्र पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १२ हजार ५ सय रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई जनही ६ हजार २ सय ५० रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*