हेटौंडा फुटबल एकेडेमी सेमीफाइनलमा

साझाकुरा
२०८३ असार ४, बिहीबार १२:३८

हेटौंडा- मकवानपुरको हेटौंडा फुटबल एकेडेमी बारा जिल्लाको करैयामाई गाउँपालिकामा जारी तेस्रो संस्करणको करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमीफाइनल खेलमा आयोजक नवजनप्रगति युवा क्लब करैयामाईलाई २–१ गोलले हराउँदै मकवानपुरको हेटौंडा फुटबल एकेडेमी सेमीफाइनलमा प्रवेश
गरेको हो ।

पहिलो हाफको खेलमा १–० गोल अन्तरले पछि परेको हेटौंडा फुटबल एकेडेमीले उत्कृष्ट पुनरागमन गर्दै आयोजक करैयामाई गाउँपालिकालाई पराजित गरेको हो । आयोजकको तर्फबाट पहिलो हाफको ४ मिनेटमा गोल गर्दै सुधन चौधरीले सुरुवात अग्रता दिलाएका थिए ।

पहिलो हाफको खेलसम्म १–० गोलले पछि परेर दवावमा रहेको हेटौंडा फुटबल एकेडेमीले भने सहजै दोस्रो हाफमा पुनरागमन गरेको हो । दोस्रो हाफमा हेटौंडा फुटबल एकेडेमीका लागि शक्तिमान थिङले दुई गोल गर्दै जीत सुनिश्चित गरेका थिए । खेलको म्यान अफ द म्याच शक्तिमान थिङनै घोषित भएका छन् ।

ग्रामीण क्षेत्रमा रहेको स्थानमा फुटबल प्रतियोगितामा खेलकुदको विकास गर्न, युवालाई फुटबलमा आर्कषितसँगै र एकअर्काबीच भातृत्व कायम गर्न प्रतियोगिताको आयोजना गरिएको बताइएको छ । अब हेटौंडा फुटबल एकेडेमीले शुक्रबार फाइनल प्रवेशका लागि सेमीफाइनल चरणको खेलमा वकुलिया क्लबसँग प्रतिस्पर्धा गर्नुपर्ने प्रशिक्षक भीम लामाले बताएका छन् ।

प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले ७५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । फाइनल खेल असार ७ गते हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*