थाहा गोल्डकप : सेमिफाइनल समीकरण पूरा

साझाकुरा
२०८३ असार ५, शुक्रबार १२:२१

हेटौंडा- मकवानपुरको थाहा नगरपालिकामा जारी छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ ।इन्द्रायणीचौरमा बिहिबार भएको क्वाटरफाइनल खेलमा चित्लाङ एफसी र कुर्दन एकेडेमी चन्द्रागिरी बिजयी भएसँगै अन्तिम ४ मा पुग्ने टोलीको टुंगो लागेको हो । पहिलो क्वाटरफाइनल खेलमा चित्लाङ एफसीले थाहा सक्रिय युवा क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । चित्लाङको शानदार जितमा शुभराज गोलेले १ गोल, शन्देश गोम्बाले २ गोल तथा कृष मालीले १ गोल गरे ।

उत्कृष्ट प्रदर्शन गरेका चित्लाङका शुभराज गोले खेलको म्यान अफ द म्याच घोषित भए । त्यसैगरी बिहिबार नै सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा पारिजात स्मृति चित्लाङलाई २–० गोलले पराजित गर्दै कुर्दन एकेडेमी चन्द्रागिरीले सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । कुर्दनको जितमा सुजित बुढाथोकी र अविरल रिजालले समान १–१ गोल गरे । खेलमा प्रभावशाली प्रदर्शन गरेका सुजित बुढाथोकी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताको सेमिफाइनलका खेल शुक्रबारबाट सुरु हुनेछ । पहिलो सेमिफाइनल खेल पाखुरे युवा क्लब र कुर्दन एकेडेमी चन्द्रागिरीबीच हुँदा दोस्रो सेमिफाइनल खेलमा चित्लाङ एफसीले शिखर क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद १ लाख रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै व्यक्तिगत पुरस्कारतर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १२ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर तथा सर्वाधिक गोलकर्तालाई जनही ६ हजार २५० रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*