थाहा गोल्डकपमा पाखुरे युवा क्लबको बिजयी सुरुवात

साझाकुरा
२०८३ असार ४, बिहीबार १२:४०

हेटौंडा- मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणीचौरमा बुधबारदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । स्थानीयस्तरमा फुटबल खेलको विकास तथा युवा खेलाडीको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको उद्घाटन थाहा नगरप्रमुख विष्णु बिष्टले रेफ्रीलाई बल हस्तान्तरण गरी गरेका हुन् ।

सात टोली सहभागी प्रतियोगिताको उद्घाटन खेलमा पाखुरे युवा क्लब, थाहा–७ र थाहा नगरपालिका टोलीबीच प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल गोलरहित बराबरीमा टुंगिएको थियो । त्यसपछि नतिजाका लागि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टी सुटआउटमा पाखुरे युवा क्लबले थाहा नगरपालिका टोलीलाई ५–४ गोलअन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ । पाखुरेको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरेका गोलकिपर सुजन तामाङ खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए ।

आयोजककाअनुसार प्रतियोगिता असार ६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताअन्तर्गत बिहीबार बिहान समूह ‘बी’ को पहिलो खेलमा सक्रिय युवा क्लब थाहा–४ र चित्लाङ एफसीबीच प्रतिस्पर्धा हुनेछ । आयोजक शिखर क्लबले भने पहिलो चरणमा बाइ पाएको छ । प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई १२ हजार ५०० रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई जनही ६ हजार २५० रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । खेलाडीको सुरक्षालाई प्राथमिकतामा राख्दै प्रतियोगितामा सहभागी सबै खेलाडीको बीमा व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको अफिसियल मिडिया पार्टनर हेटौंडाको टिम टेलिभिजन रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*