मार्गप्रशस्त गर्न मुख्यमन्त्रीलाई एमाले र नेकपाको आग्रह

पहिला सरकार गठनको लागि बहुमत जुटाउनु : मुख्यमन्त्री
साझाकुरा
२०८३ श्रावण १९, मंगलवार १३:२२

हेटौंडा- बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्न नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा एमालेले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई आग्रह गरेका छन् ।प्रदेशमा देखिएको राजनीतिक अन्योल अन्त्य गर्न मुख्यमन्त्री बानियाँको पहलमा सोमबार ललितपुरस्थित प्रदेश सुशासन केन्द्रमा बसेको सर्वदलीय बैठकमा बाम गठबन्धनका नेताले वर्तमान सरकार अल्पमतमा परिसकेको भन्दै सत्ता हस्तान्तरण सहज बनाउन आग्रह गरेका हुन् । बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलकाप्रतिनिधिको सहभागिता रहेको थियो । बाम गठबन्धनका तर्फबाट नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेल र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले वर्तमान सरकारलाई लामो समय अल्पमतकै अवस्थामा राख्नु उपयुक्त नहुने धारणा राखेका थिए ।

उनीहरुले संविधानको भावना र संसदीय अभ्यासअनुसार नयाँ सत्ता समीकरणलाई सरकार गठनका लागि सहज वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए । नेकपा संसदीय दलका नेता जम्कट्टेलले सरकार गठनको विषयमा संवादको वातावरण तयार गरेकोमा मुख्यमन्त्रीलाई धन्यवाद दिँदै राजनीतिक निकास संवैधानिक प्रक्रियाबाटै खोजिनुपर्ने बताए । उनले वर्तमान सरकारले विश्वासको मतलिने प्रक्रियामा जानुपर्ने सुझाव दिँदै नेकपा र एमालेबीच नयाँ सरकार गठनका लागि छलफल जारी रहेको जानकारी गराए । आवश्यक गृहकार्य पूरा भएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने विश्वास उनले व्यक्त गरे ।

त्यसैगरी एमाले संसदीय दलका नेता थपलियाले सरकारमा सहभागी दलले समर्थन फिर्ता गरिसकेको अवस्थामा अल्पमतको सरकारको आयु अनावश्यकरुपमा लम्ब्याउनु उचित नहुने बताए । उनले नयाँ गठबन्धनलाई सरकार गठनको अवसर दिन मुख्यमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने धारणा राखे । संवैधानिक व्यवस्था र संसदीय परम्पराअनुसार बहुमत प्राप्त पक्षलाई सरकार गठन गर्न सहज वातावरण उपलब्ध गराउनु नै उचित हुने उनको भनाइ थियो । नेकपा बागमती प्रदेश संसदीय दलका सचेतक रत्नप्रसाद ढकालकाअनुसार मुख्यमन्त्री बानियाँले राजनीतिक निकासका लागि आफू सहमतिका साथ अघि बढ्न तयार रहेको धारणा बैठकमा व्यक्त गरेका थिए ।

उनले दलबीच सहमति बनेमा त्यसअनुसार अगाडि बढ्न आफू तयार रहेको संकेत दिएका थिए । जवाफमा मुख्यमन्त्री बानियाँले वर्तमान सरकार अल्पमतमा रहेको अवस्था स्वीकार गरेपनि सरकारबाट बाहिरिने आधार स्पष्ट हुनुपर्ने धारणा राखे । उनले नयाँ सत्ता समीकरणसँग सरकार गठनका लागि आवश्यक स्पष्ट बहुमत रहेको प्रमाण प्रस्तुत गर्न आग्रह गरे । मुख्यमन्त्री बानियाँले नयाँ गठबन्धनले आवश्यक संख्या सुनिश्चित गरेर सरकार गठनको दाबी प्रस्तुत गर्नुपर्ने बताए ।

उनले दलहरुलाई नयाँ गठबन्धनले स्पष्ट बहुमत जुटाएर सरकार गठनको प्रक्रिया अघि बढाउने र वर्तमान सरकारलाई विश्वासको मत दिएर बजेट कार्यान्वयन तथा प्रशासनिक कामलाई निरन्तरता दिने वातावरण बनाउने २ वटा विकल्पको प्रस्ताव गरे । प्रदेशको विकास, बजेट कार्यान्वयन र जनसेवाका काम प्रभावित नहुने गरी राजनीतिक निकास खोज्नुपर्नेमा उनले जोड दिए । सर्वदलीय बैठकमा सहभागी अन्य राजनीतिक दलका नेताले पनि प्रदेशलाई लामो समय राजनीतिक अनिर्णयमा राख्न नहुने धारणा राखेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता उद्धव थापाले आफ्नो पार्टी राजनीतिक अन्योलको बन्दी नबन्ने र छिट्टै निकास दिन सकारात्मक भूमिका खेल्ने बताए । यद्यपि सरकारमा सहभागी हुने वा नहुने विषयमा राप्रपाले अझै अन्तिम निर्णय गरिनसकेको उनले स्पष्ट पारे । नेपाल मजदुर किसान पार्टीका नेता सुरेन्द्र गोसाईंले आफ्नो पार्टी सरकार गठनको दौडमा नरहेको बताउँदै संसद्मा हुने मतदान प्रक्रियाका आधारमा उपयुक्त निर्णय लिने धारणा राखे । हाम्रो नेपाली पार्टीका नेता शैलेन्द्र बज्राचार्यले ठूला राजनीतिक दलहरुबीचको आन्तरिक विवादका कारण प्रदेश सरकार सञ्चालन प्रभावित भएको टिप्पणी गरे । उनले प्रदेशलाई लामो समय अन्योलमा राख्नु जनहितविपरीत हुने बताए ।

यसैबीच बागमती प्रदेशमा एमाले नेतृत्वको नयाँ सरकार गठन हुने लगभग निश्चित भएको छ । साउन ९ गते एमाले र नेकपाबीच भएको राजनीतिक सहमतिअनुसार प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने समझदारी बनेको हो । त्यसयता मुख्यमन्त्रीको विषयमा एमालेभित्र विभिन्न नाम चर्चामा रहेपनि अन्ततः संसदीय दलका नेता थपलियालाई नै नेतृत्वमा अघि सार्ने निर्णय भएको छ ।

मुख्यमन्त्रीका आकांक्षीकारुपमा एमाले संसदीय दलका नेता थपलिया, पूर्वस्वास्थ्य मन्त्री किरण थापा र केशवप्रसाद पोखरेलको नाम चर्चामा रहेपनि पार्टी नेतृत्वले थपलियालाई नै निरन्तरता दिने निष्कर्ष निकालेको हो । एमाले अध्यक्ष केपी शर्माओलीसँग भएको छलफलपछि संसदीय दलको नेता परिवर्तन नगर्ने र वर्तमान नेता थपलियाकै नेतृत्वमा सरकार गठनको प्रक्रिया अघि बढाउने सहमति बनेको थियो । नयाँ सत्ता समीकरणका दलहरुले आवश्यक बहुमत जुटाउने तयारी तीव्र बनाइरहेका बेला बागमती प्रदेशको सरकार गठन प्रक्रिया अब निर्णायकचरणमा पुगेको छ । कुल १०४ सदस्य कायम रहेको बागमती प्रदेशसभामा नयाँ सरकार गठनका लागि स्पष्ट बहुमत अर्थात् कम्तीमा ५३ जना सांसदको समर्थन अनिवार्य हुन्छ ।

हाल प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेपाली कम्युनिस्ट पार्टीका २६, नेकपा (एमाले) का २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, नेपाल मजदुर किसान
पार्टी (नेमकिपा) का तीन र हाम्रो नेपाली पार्टीका दुईजना सांसद रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*