माइती नेपाल मकवानपुरमा घरेलुहिंसाका ७९ मुद्दा दर्ता

साझाकुरा
२०८३ श्रावण २८, बिहीबार ११:२०

हेटौंडा- माइती नेपाल चेलीबेटी बेचबिखन रोकथाम गृह मकवानपुरमा आर्थिक वर्ष २०८२÷८३ मा घरेलुहिंसाका ७९ वटा मुद्दादर्ता भएका छन् ।दर्ता भएका मुद्दामध्ये ४६ वटा मिलापत्रमार्फत् टुंग्याइएको र बाँकी मुद्दा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको माइती नेपाल मकवानपुरले जनाएको छ । संस्थाले सञ्चालन गरेको मानवबेचबिखनविरुद्ध एकीकृत कार्य परियोजनाको सामाजिक परीक्षणका क्रममा यो तथ्यांक सार्वजनिक गरिएको हो । माइती नेपाल मकवानपुर प्रमुख माया लामाकाअनुसार परियोजनाअन्तर्गत् होटल तथा बार अनुगमन, घरदैलो अभियान, मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सचेतना, जीवनोपयोगी सीप तालिम र व्यवसाय सञ्चालनमा सहयोग लगायतका कार्यक्रम सञ्चालन गरिएको थियो ।

भारत हुँदै घरेलु कामदारका रुपमा विदेश पुगेका दुई महिलालाई कुवेतबाट उद्दार गरी पारिवारिक पुनर्मिलन गराइएको संस्थाले जनाएको छ । यस्तै, आन्तरिक बेचबिखनको जोखिममा रहेका २७ नाबालिका र एक किशोरीलाई प्रहरी तथा सामुदायिक प्रहरीको समन्वयमा उद्दार गरी परिवारमा पुनर्मिलन गराइएको छ । विभिन्न हिंसामा परेका ३८ नाबालिका र १४ बालिकालाई संरक्षणमा राखेर पारिवारिक पुनर्मिलन गराइएको छ । खोजतलासका लागि १८ नाबालिका र आठ बालिकासम्बन्धी निवेदन दर्ता भएकोमा १० नाबालिका र तीन बालिका फेला परेका छन् ।

जबर्जस्ती करणीका मुद्दामा २० नाबालिका र नौ बालिकालाई न्यायिक प्रक्रियामा सहयोग गरिएको माइती नेपालले जनाएको छ । परियोजनाअन्तर्गत् एक हजार ८० जनालाई मानवबेचबिखन तथा ओसार पसार र सुरक्षित आप्रवासनसम्बन्धी जानकारी दिइएको छ । ६ हजार ५७० जनासम्म मानवबेचबिखन विरुद्ध सूचना प्रवाह गरिएको र दुई सय घरधुरीमा घरदैलो कार्यक्रमगरिएको संस्थाले जनाएको छ । त्यस्तै १२३ जनाले मनोसामाजिक परामर्श, २९ जनाले कानुनी परामर्श र दुईजनाले स्वास्थ्य परीक्षण सेवा पाएका छन् । ६० जनाले आधारभूत सिलाइ तथा आठ जनाले ब्युटिपार्लर तालिम लिएका छन् । उन्नत सिलाइ तालिम लिएका नौ जनाले व्यवसाय सञ्चालन गरिरहेको संस्थाको भनाइ छ ।

माइती नेपालकाअनुसार विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि मानव बेचबिखन तथा हिंसाका चुनौती घटेका छैनन् । भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा जाने क्रम बढ्नु, आफन्त तथा चिनजानकै व्यक्तिबाट हुने हिंसा र शोषण, बालविवाह तथा सामाजिक सञ्जालको दुरुपयोगले जोखिम थपिएको लामाले बताइन् । विशेषगरी सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत हुने सम्पर्क र प्रलोभनका कारण बालबालिका तथा किशोरीबेचबिखन तथा शोषणको जोखिममा पर्न सक्ने अवस्था रहेको उनको भनाइ छ । सामाजिक परीक्षण कार्यक्रममा हेटौंडा उपमहानगरप्रमुख मीना लामा, वडा नं. ४ की कार्यवाहक अध्यक्ष गीता त्रिपाठी, मानवअधिकार संरक्षण तथा मानवबेचबिखन विरुद्धको जिल्ला सञ्जालकी अध्यक्ष आरती पाठक, गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटालगायतले भनाइ राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*